‘समय आफ्नै वेगमा लम्किरहेको छ। म यसलाई पछ्याउने प्रयास गरिरहेको छु। मेरो हरेक प्रयासहरू असफल भइरहेका छन्। मनमा अलमल छ। तनमा थकान छ। पृथ्वी भूकम्पको प्रकोपले भयावह अवस्थामा छ।
थाहा छैन मनका भावहरूले किन यसरी दुख दिइरहन्छन्। म न म छु, न म आफूलाई सम्झिन्छु। मैले आफूलाई भुलिसकेको छु। मैले आफू गुमाइसकेको छु। म मृत्युको बाटो हिँड्दै छु। मलाई डोराइरहेको छ एक मुट्ठी सासले, मृत्युतर्फ।
संसार विशाल छ। यहाँ के छैन? सबथोक छ। सबथोक हुँदाहुँदै पनि यहाँ केही अभावहरू छन्। तीनै अभाव त हुन् जसले हामीलाई दुष्कर्मतर्फ डोर्याउँछ। आज म हारिसकेको छु। आफैँबाट। आफ्ना भावनाहरूबाट। आफ्ना बेकाबु भएको सोचहरूबाट। यो हारले मलाई कहिल्यै जित भोग गर्न दिनेछैन।
म आज आफ्नो मनमा थुप्रिएर बसेको मसीमा कलम चोबेर यो लेख्दै छु। तर हैन, यो मैले लेखेकै हैन। कलम समाएर बस्दा यो त आफैँ लेखिएको हो। बोझिलो मनले चौतारी खोजिरहन्छ। यो कस्तो प्रलय हो मेरो मनमा। यहाँ बर्सात छ, यहाँ खडेरी छ, यहाँ पञ्चत्व छ, यहाँ सबथोक छ, एकै चोटिमा।
थाहा छैन म के सोचेर संसार निस्केको थिएँ, थाहा छैन म कस्तो संसार नियाल्दै छु, थाहा छैन मलाई यो संसारले कुन हदसम्म सफोकेट गराउँछ। म अज्ञात छु यी तमाम विषयहरूमा। मलाई बस् यति थाहा छ, म हारिसकेँ। म थाकिसकेँ सम्पूर्ण कुराहरूबाट। मलाई आफ्नै भावनाहरूले दुख दिए। म आफ्नै भावनाहरूले गर्दा थला परेँ।
प्रिय मेरा आफ्नाहरू,
मलाई माफ गरिदिनु है। मैले हजुरहरूले चाहे अनुरूप केही गर्न सकिनँ। मैले आफूलाई निखार्न सकिनँ। मैले आफूलाई सम्हाल्न सकिनँ। यतिसम्मको यात्रामा यहाँहरू सम्पूर्णको साथ र सहयोग पाएँ, मलाई यसभन्दा बढी के नै पो चाहिएको थियो र! म औधी कृतज्ञ छु, यहाँहरूको साथ पाएर। यहाँहरूको नजिकको मान्छे भएर। मैले यो ठुलो कदम चाल्न लागेको छु। थाहा छैन मेरो यो कदमले मलाई बरबादीतर्फ डोर्याउनेछ या उन्नतितर्फ। तर म अब आफूलाई रोक्न चाहन्नँ।
प्रिय तिमी,
सर्वप्रथम त तिमीसँग म माफी माग्न चाहन्छु। तिमीलाई मैले धेरै दुख दिएँ। सायद मैले दिए जत्तिको दुख तिमीले जीवनभर कहिल्यै पाएकी थिएनौ। तिम्रो प्रत्येक हारलाई आफ्नो हार अनि जीतलाई आफ्नो जीत मानेर सुखदुख अँगाल्न सक्ने मैले आज आफ्नो हारलाई अँगाल्न सकिनँ। तिमीसँगका अनगिन्ती यादहरू मसँग सदैव रहिरहने छ। त्यहाँ जहाँ अरू कसैले ठाउँ न त पाएका थिए, न त कहिल्यै पाउने नै छन्। म दुखी छु, मैले तिमीलाई दुखाएँ। म दुखी छु, मैले तिम्रो खुसी खोसेँ। तर प्रिय, तिमी मेरा यी दुखहरूलाई आफ्नो कहिल्यै नबनाउनु है। मेरा दुखहरूले धेरै दुख दिन्छन्। त्यति दुख जति पर्याप्त हुन्छ कसैलाई बरबाद बनाउन।
पहिलेमा भेट्दा तिमी कस्ती थियौ, आज कस्ती भइसकेकी छौ। तिमी विकसित हुने क्रममा छौ। यो क्रमलाई सधैँ जारी राखिरहनु है। मलाई सम्झेर नबस्नु। तिम्रो जीवनमा अवश्य त्यस्तो कोही आउनेछ जसले तिमीलाई सबैभन्दा बढी खुसी दिनेछ। त्यति मात्रामा दिनेछ जति मलाई भुलाउन पर्याप्त हुन्छ। या हुन सक्ला त्योभन्दा धेरै।
तिमी सदैव मेरो मनमा नै हुनेछौ चाहे म तिम्रोमा हौँ या नरहौँ, भविष्य कालसम्मै। टन्नै उन्नति प्रगति गरेस् है। धेरै प्रेम छ। तिमीलाई धेरै-धेरै धन्यवाद छ, यहाँसम्मको साथका लागि।’
म झसंग झस्किएँ। मेरो हातमा भएको पत्र भुइँमा खस्यो। मैले आफ्नो हात बिस्तारै आँखातर्फ लगेँ। आँखा भिजेका रहेछन्। खल्तीबाट रुमाल झिकेर आँखा सङ्लाएँ। भुइँमा खसेको पत्र टिपेर त्यही उपन्यासको किताबमा च्यापिदिएँ।
अनुपले दुई कप चिया लिएर आयो। हामी निकै बेर बसेर गफियौँ। निकै मिठा-मिठा गफहरू भए। मैले ठम्याउन सकिनँ त्यो पत्र कसले लेखेको हो। उसलाई सोध्न मन थियो। तर सोध्न उपयुक्त मानिनँ। उसले बेलाबेला मायालु भावले मतर्फ हेर्यो।
‘घुम्न जाने हो कतै?’ उसैले प्रश्न तेर्सायो।
‘जाऊँ। यहाँ बसेर पनि के नै काम छ र?’ मैले जवाफ दिएँ।
हामी नारायणी किनारतर्फ लाग्यौँ। त्यहीँको वातावरणमा आफूलाई अलमल्यायौँ। अलिअलि सुखदुखका कुराहरू भए। केही ठट्टाका कुराहरू भए। साँझ छिप्पियो। रातले ढाक्यो।
उसले खल्तीमा भएको चुरोट झिक्यो। सल्कायो। हामी दुवैले माघको जाडोमा बिजुलीको धुवाँ नारायणी किनारमा बसेर उडायौँ। हाम्रो रात त्यतै बित्यो। बिहान भएपछि मेसो पाएँ, हामी त्यहीँ निदाएछौँ। चिसोले म नराम्ररी काँपिरहेको थिएँ।
वरिपरि आँखा डुलाएँ। उसलाई देखिनँ। चिया पिउन गएको होला ठानेँ। फोन सम्पर्क प्रयास गरेँ। सम्पर्क भएन। हिजोको पत्र सम्झिएँ। कता-कता वातावरणको चिसो मनमा पनि पस्यो। जुरुक्कै उठेर वरपर खोजेँ। उसलाई कतै देखिनँ।
वरिपरि आँखा डुलाएँ। ऊ त्यहीँ निदाइरहेको थियो। उसलाई उठाउन मन लागेन। चियाको तलतल लाग्यो। चिया किन्न निस्किएँ। केही बेरमा फोन बज्यो। उसैको कल रहेछ। ऊ निकै आत्तिएको थियो। आइहालेँ म चिया लिएर भनी फोन राखेँ।
चिया लिएर ऊ भएको छेउमा बसेँ। एउटा कपको चिया आफूलाई राखी अर्को कपको चिया उसलाई दिएँ। खल्तीबाट चुरोट निकालेँ। चुरोटको धुवाँलाई हामी दुवैले चियाले ठेल्यौँ। हामी अगाडि नारायणी नाचिरहेको थियो। नारायणी नाचेको हेर्ने अरू पनि थिए।
यतिन्जेल म निक्कै आत्तिइसकेको थिएँ। मैले ढिला नगरी किनार त्यागेँ। बजारतर्फ लम्किएँ। उसलाई खोज्न। कतै देखिनँ। कतै भेटिनँ। घडी हेरेँ। एघार बज्न लागिसकेको रहेछ। कलेजको साथीहरूलाई सम्पर्क गरेर सबै कुरा विस्तृत रूपमा भनेँ। उनीहरू पनि बजार आउने भए। आधा एक घण्टामा उनीहरू आइपुगे। साथमा अनुज पनि थियो। म अचम्मित भएँ।
करिब एघार बजेपछि हामी दुवै जना त्यहाँबाट निस्कियौँ। बजारतर्फ लाग्यौँ। एउटा होटेलमा पसेर खानपिन गयौँ। कलेज होस्टेलतर्फ लाग्यौँ। दिन धुम्म नै थियो।
एक्कासि मेरा आँखा खुले। म नारायणी किनारमा नै रहेछु। वरिपरिबाट अपरिचित व्यक्तिहरूले मलाई घेरेका थिए। मेरो शिर अनुजको काखमा थियो।
‘सुन त’ कसैले बोलाएको भान भयो। आँखा घुमाएँ। समीप रहेछ।
मैले लेखेको कुरा उसले नदेखोस् भनेर हतार हतार गरेर आफ्नो हातमा भएको कापी बन्द गरेँ। केही बेर गफ गरेपछि ऊ फर्कियो। मैले पुनः कापी उघारेँ। लेखेको कागज च्यातेँ। पट्याएर खल्तीमा हालेँ। लागेँ अनुजको घरतर्फ।
उसको घर केवल घर थिएन। मलाई उसको घर पुस्तकालय जस्तै लाग्थ्यो। कारण उसको कोठामा उपन्यास, कथा, कवितालगायत साहित्यका विभिन्न विधाको पुस्तकहरू हुन्थ्यो। त्यो पनि एक लयमा मिलाएर राखेको। हामीलाई त्यही पुस्तकहरूले नै त जोडेको थियो। पुस्तकमा नै रुचि राख्ने हामी दुई जना एकअर्काको मिल्ने साथी भइसकेका थियौँ।
उसले त्यस दिन पनि मलाई आफ्नो कोठामा लग्यो। मलाई त्यहीँ बस्न अह्राएर चिया बनाउन ऊ भान्साकोठा गयो। मैले अघि आफ्नो खल्तीमा राखेको कागजको टुक्रा पुनः एक पटक खोलेँ। एक-एक शब्दहरू पढेँ।
म झसंग झस्किएँ। मेरो हातमा भएको पत्र भुइँमा खस्यो। मैले आफ्नो हात बिस्तारै आँखातर्फ लगेँ। आँखा भिजेका रहेछन्। खल्तीबाट रुमाल झिकेर आँखा सङ्लाएँ। भुइँमा खसेको पत्र टिपेर एउटा उपन्यासको किताबमा च्यापी छाडिदिएँ।