हरेक मानिस रहरको साङ्लोले बाँधिन्छ। यो जगत् रहरको एक बजार हो अनि त्यहाँको एक कच्चा व्यापारी म!
सानो हुँदादेखि नै सरकारी जागिर बन्ने रहर थियो। पछि समयसँगै रहर परिवर्तन हुँदै गए। अधिकृत बन्ने रहर यौवनमा बिस्तारै सुबिन भट्टराईको किताबसँगै प्रेमको रहरले मेटिँदै गए।
पछि उमेरसँग रहरहरू पनि बढ्दै गए। जागिरको रहर, पैसा कमाउने रहर, इज्जत, मान, प्रतिष्ठाको रहर। त्योभन्दा बढी मायालुसँग जिन्दगी बिताउने रहर निकै प्यारो हुन थाल्यो।
‘ओहो! क्या दामी यार तिम्रो लाइफ त’ सोसल मिडियामा आफ्नो चर्चा सुन्नलाई अनेक अनेक ठाउँ घुम्न गएर फोटो हाल्ने रहर।
एक बक्सा जहाँ मेरा हजारौँ रहरहरूको मूल्यांकन हुन्छ र अन्त्यमा ताला लगाई राखिन्छ। तर कुनै रहर यसरी आए मानौँ रहरलाई पनि बहुत रहर लागेको हुँदो हो मेरो बाकसबाट निस्किन।
फागुनको महिना, वसन्त ऋतुको दोस्रो महिना। बिहानी समय अझै सुन्दर देखिने।
गेटमा पुग्दा सम्झिएँ, हिँड्ने बेला परिवारको नाम राखेस् है छोरी भन्दै टीका लाइदिएको। आमाले ‘मेरो छोरी धेरै पढ्नु है’ भन्दै पिलपिल आँसु झार्दै अङ्गालो हालेको, भाइले मायालु नजरले मलाई दसैँमा आइज है भनेको अनि कल्पिएँ आफू सरकारी जागिरे भएर निस्केको।
गेट खोलेको आवाजसँगै म झस्किएँ।
आफ्नो कक्षमा गएँ। नचिनेको मान्छेसँग परिचय गर्ने मेरो बानी थिएन। अङ्ग्रेजी भाषामा म एक ‘इन्ट्रोभर्ट’ थिएँ। एक जना केटा मेरो सिटमा बस्न आयो। सामान्य परिचय भयो। केटो उही निजामती सेवाको ससुराली गुल्मीको रहेछ।
केही समय बोलेपछि मलाई फेसबुकमा साथी बन्न आग्रह गर्यो। खासै बोल्ने बानी नभए पनि गुल्मी भनेपछि आत्मीयता बढाउन मन लाग्यो। किनकि मेरो नजरमा ऊ भविष्यको शाखा अधिकृत भइसकेको थियो, बस् नियुक्ति पत्र लिन बाँकी थियो।
पढाइको निहुँ पारेर हामी घन्टौँ च्याटमा कुरा गर्न थाल्यौँ।
कुरा गरेको चार महिनापछि एक दिन उसले मलाई भन्यो- ‘तिमी मलाई बहुतै मन पर्छ, तिमीसँग बस्दा समय बितेको पत्तै हुँदैन। म तिमीलाई धेरै प्रेम गर्छु। के तिमी मेरो प्रेमिका बन्छौ?’
२/४ दिन मैले भाउ खाएपछि र गोरु बेचेको साइनो लाउँदा पनि कतैबाट दाजुभाइ नपर्ने भएपछि उसलाई हुन्छ भनेँ। त्यसपछि हामी साथीबाट आधिकारिक रूपमा प्रेमी र प्रेमिका बन्यौँ।
हाम्रो प्रेम प्रशान्त महासागरको पानीभन्दा धेरै, मृतसागरभन्दा गहिरो र सगरमाथाको उचाइभन्दा उच्च भइसकेको थियो। पृथ्वीनारायण शाहले एकीकरण गरेर नेपाल बनाएको हामी एक हुन रहेछ झैँ लाग्थ्यो। काठमाडौँमा त्यस्तो कम नै ठाउँ थियो होला जहाँ हाम्रो पाइला नपुगेको होस्।
ऊसँग प्रेममा पर्दा मैले आफू यहाँ मात्र पढ्न आएको बिर्सिसकेको थिएँ। पढाइमा ध्यान बिस्तारै हट्दै गयो। विद्यार्थी बन्न भन्दा उसको मलाई प्रेमिका बन्न निकै आनन्द लागिरहेको थियो। टियुमा ऊ पढ्नभन्दा नि एक अर्कासँग समय बिताउन जान्थ्यौँ।
दुई वर्षसम्म हामी यति गहिरो प्रेममा पर्यौँ कि रोमियो जुलियट को आत्मा हामीमा चढेको छ।
म उसलाई नै आफ्नो संसार मान्थेँ। मलाई लग्थ्यो ऊ पनि मैले जसरी मलाई सर्वस्व सोच्छ, मसँग विवाहको सपना देख्छ, मलाई आफ्नो अर्धाङ्गिनी बनाउने सोच्छ।
अधिकृतको परीक्षा नजिकै आउँदै थियो। उसले यो पल्ट जसरी नाम निकाल्ने अठोट गरेको थियो। नाम निस्किने बित्तिकै हामीले बिहेको कुरा घरमा कुरा गर्ने थियो। हामी पढ्न भनेर खासै बोल्दैन थियौँ। यो पटक मैले नि निकै मेहनत गरेको थिएँ।
परीक्षा सकियो। समग्रमा राम्रै गयो। मेरो पहिलो पत्र थोरै बिग्रेको थियो। उसको पहिलो पत्र र लिखित दुवै राम्रो गएको बतायो। हामी दुवै आशावादी थियौँ। म भने अब छिटै उसले घरमा मेरो बारेमा भन्छ सोचिरहेको थिएँ।
नतिजा आयो। उसको नाम आयो मेरो आएन। आफ्नो नाम ननिस्केको दुःखभन्दा उसको नाम निस्केकोमा खुसी थिएँ।
अन्तर्वार्ता सकिने बित्तिकै उसले आफ्नो घरमा कुरा राख्ने बतायो। अनि सिफारिस भएपछि बिहे गर्ने। नभन्दै संघीय राजस्व अधिकृत ८ नम्बरमा सिफारिस भयो, त्यो पनि गुल्मीमा। त्यो दिन मेरो फेसबुक उसको फोटोले भरिएको थियो। मैले नि पोस्ट गरेँ- बधाई छ अधिकृत ज्यु।
त्यसपछि हामी दुवै आफ्नो घर गयौँ। घर गएपछि हाम्रो खासै कुरा हुन छोडेको थियो। परिवारसँग समय बिताउन भनेर मैले पनि खासै वास्ता गरिनँ।
एक दिन उसले मलाई फोन गरेर घरमा हाम्रो बिहेको कुरा राखेको बतायो- ‘बाबाले तिम्रो चिना माग्नु भएको छ। तिमी पनि घरमा कुरा गर।’
मेरो खुसीको सीमा नै भएन। मैले पनि घरमा कुरा गरेँ। उसको घर गुल्मी, मेरो ताप्लेजुङ। त्यति टाढा छोरी दिन मन नगरे पनि केटो निजामती अधिकृत भएपछि नदिने कुरा नै आएन।
परिवारको मन्जुरीमा बिहे हुन पाउँदाको खुसी छुट्टै थियो। तर बिस्तारै समय बित्दै जाँदा ऊ परिवर्तन भएको भान मलाई भइरहेको थियो। हाम्रो फोन कल कम हुँदै गयो। लगातार एक हप्तासम्म हाम्रो कुरा नभएपछि उसलाई सोधेँ- ‘के भयो?’
उसको जवाफ थियो- ‘अब हामी एक हुन सक्दैनौँ। तिम्रो माङ्गलिक दोष रहेछ, त्यहीमाथि नाडी एउटै। मेरो बाबा आमाले मान्नु भएन।’
म छाँगाबाट खसे जस्तो भएँ। धर्ती भासिए जस्तो भयो। मुटु जोडले धड्किन थाल्यो। चारैतिर अन्धकार देख्न थालेँ। सूर्यको प्रकाश मसम्म आइपुगेन। तुरुन्तै उसलाई कल गरेँ, व्यस्त देखायो। फेसबुक हेरेँ ब्लक। म सबैतिर बाट ब्लक भएछु।
दुई दिनपछि उसको बहिनीलाई फोन गरेर रुँदै दादालाई फोन देऊ भनेँ। उताबाट जवाफ आयो- ‘अब दादालाई कल नगर्नु। वहाँको अन्तै बिहे फिक्स भइसक्यो। उसले बोली नसक्दै म ग्वा-ग्वा रुन थालेँ।
त्यो समय निकै कहाली लाग्दो थियो। कति पल्ट उससँग कुरा गर्न खोज्दा केही नलागेपछि अन्त्यमा मैले हार खाएँ।
उसको कुराअनुसार मैले सुरुमा नै आफ्नो चिना देखाउनु पर्थ्यो। आफ्नो नाम भन्न अगाडि आफू माङ्गलिक रहेको र नाडी भन्नुपर्थ्यो। जुन कुरा म आफैलाई थाहा थिएन।
मुना-मदन जसरी अमर प्रेम कहानी रच्ने कसम खाएको ऊ एउटा चिनाको रेखादेखि डरायो। नडराओस् पनि कसरी? केटी संघीय सुब्बा अनि म बेरोजगार!
५ महिनासम्म मन र दिमाग उसलाई भुल्ने र भुल्न नसक्ने विषयमा हमास र इजरायल झैँ लडिरहे। पढाइ त यसै चौपट नहुने कुरा भएन।
बिस्तारै आफ्नो बा-आमाको मुख हेरेर भए नि बोल्न थालेँ, हाँस्न थालेँ अनि आँट गरेँ फेरि सुरुबाट सुरु गर्ने। न कसको प्रेमिका न साथी, मात्र अधिकृत बन्ने कसम खाएर म राजधानी फर्किएँ।
यतिकैमा गाडीमा गीत बज्यो-
चिना रेखा केही देखाउन्न
म भाग्य फेराउँला।