ऊ त्यहाँ
मेरो सानो छोरा
स्कुलको गृहकार्य गर्दै छ
'फेमिली ट्री' शीर्षकमा
उसले कोर्दै छ भविष्यको रेखा
अनि खोतल्दै छ मेरो इतिहास
ऊ माग्दै छ
परिवारका सबै जनाको फोटो
अनि ऊ माग्दै छ
प्रिन्ट गर्नै नमिल्ने एक दर्दनाक स्मृतिको फोटो।
ऊ भन्छ-
हजुरबुवाको फोटो खोइ?
म अनायासै टोलाउँछु अनि म दिन्छु
मामाघरको हजुरबुवाको फोटो
एकटकसँग नियाल्छ ऊ
अनि भन्छ-
यो त म्याटरनल ग्र्यान्डफादरको हो
यो टाँस्ने ठाउँ त छुट्टै छ
अनि कोट्याउँछ
हेर्नुस् त,
मलाई यहाँ टाँस्ने प्याटरनल ग्र्यान्डफादर चाहियो।
उ बुझ्दैन बिचरा
मेरो स्मृतिका रिलहरू धुलाउन मिल्दैन भनेर
ब्रह्मनालमा क्यामेराहरूको कुम्भमेला देख्ने जमानाको ऊ
अनि कल्पना नै गर्दैन
फोटो नै नहुने पनि मान्छे हुन्छ र?
ऊ कसरी बुझोस् बिचरा
स्मृतिहरू प्रिन्टेवल भर्जनमा हुँदैनन् भनेर
म कसरी बुझाऊँ?
उसले चाहेको रङ्गिन तस्बिर
मेरो आँसुले पखालिएको छ भनेर
छोरा मलाई झस्काउँछ
'बाबा फोटो खोइ?'
अनि म एकोहोरिन्छु
ए! साँच्ची फोटो खोइ?
जो बिना
मेरो जीवन अधुरो छ आज
उहीँ बिना
छोराको फेमिली ट्रीको गृहकार्य अपूरो छ
जसरी मेरो जीवनमा
अभावले कालो घेरा बनाएको छ
उसै गरी छोराको फेमिली ट्रीमा
एउटा कालो रङले बोर्डर बनाएको छ
र त छोरा पटक-पटक सोध्छ-
'हजुरबुवाको फोटो खोइ?
अनि
म 'कन्ट्रोल पि' कमान्ड दिन खोज्छु
मेरो प्रिन्टरमा घाउको खाटोले रोलर जाम भएको छ
स्मृतिको चोटले कार्टेजको ड्रम फुटेको छ
त्यसैले माफ गर छोरा
म फोटो प्रिन्ट गर्न सकिनँ
तिम्रो फेमिली ट्रीको गृहकार्य अधुरै भयो।