सहरको भिडभाडमा, जहाँ हरेक व्यक्ति आफूलाई व्यस्त राख्नमा लागेका छन्। त्यही भिडको बिचमा एउटा सानो झ्याल थियो। त्यहाँ उभिएको थियो प्रकाश। ध्यान योगी ध्यानमा मग्न भए जसरी प्रकाश सहरका ती भिडभाडमा ध्यान लगाइरहेको थियो।
ती गगन चुम्न सक्ने विशाल भवनहरूलाई हेरिरहेको थियो। प्रकाश आफूलाई हरेक समय एक्लो भए जस्तो महसुस गर्दथ्यो। ऊ हरेक समय केही कल्पना गर्दै सहरका ती भिडभाडलाई हेर्दै मनमा भएका भावनाहरू कोर्ने गर्थ्यो।
अफिसको झ्यालबाट सडकतर्फ नजर डुलाउँदै ऊ हरेक दिन आफैँलाई प्रश्न गर्थ्यो, ‘के यही सफलता हो जसको लागि म यहाँ आएको थिएँ?’
उज्यालो र आधुनिक सहरका भव्य भवनहरूले उसका मनका अँध्यारा कुना भर्न सकेका थिएनन्। उसको मन भने कुनै कल्पनाको दुनियाँमा हराइरहेको थियो, जहाँ ऊ बारम्बार एक अनुहार देख्थ्यो— बिपना।
छ वर्षअघि गाउँको एउटा सुनसान साँझमा उही अनुहारले आँसुका साथ प्रश्न गरेकी थिई, ‘के साँच्चै जानु पर्छ, प्रकाश?’
प्रकाशले गहिरो सास फेर्दै भनेको थियो, ‘बिपना, म जान्छु भनेको हाम्रो भविष्यका लागि हो। हाम्रो सपना पूरा गर्न म सहर जानै पर्छ।’
त्यो वाक्य जति सहज लाग्थ्यो, प्रकाशको लागि त्यसलाई भनिरहन त्यति नै कठिन थियो।
प्रकाश र बिपनाको पहिलो भेट सानो गाउँको पुरानो विद्यालयमा भएको थियो। गाउँका शिक्षकले पुस्तकहरूका पन्ना पल्टाउँदै प्रत्येक छात्रलाई ज्ञानको उज्यालो दिने प्रयास गर्थे। त्यही विद्यालयको एउटै कक्षामा, जहाँ एकअर्काको आँखामा भविष्यको आशा र उद्देश्य स्पष्ट देखिन्थ्यो।
बिपना सधैँ पुस्तकमा डुबुल्की मार्ने युवती थिइन्। जब अन्य साथीहरू खेल्न व्यस्त हुन्थे, उनी पुस्तकमै हराइरहन्थी। किताबहरूको संसारमा उसका विचार र भावनाहरू नाच्थे। तिनको अनुहारमा एक अनौठो शान्ति र दृढता थियो।
त्यसै कक्षामा एउटा युवक प्रकाश पनि विद्यार्थी थियो। प्रकाश पुस्तक र साहित्यप्रति अत्यधिक रुचि राख्ने युवक थियो। उसको मनमा किताबहरूको विशेष स्थान थियो र सोही कारणले गर्दा उसले जीवनका गहिरा अर्थहरू बुझ्नको लागि पुस्तकहरूको सहारा लिएको थियो।
पुस्तकहरू उसलाई केवल अध्ययनका साधन नभएर जीवनका गहिरा विचार र सन्देशहरूको खजाना जस्तै लाग्थे। उसको अध्ययन क्षेत्र साहित्य मात्र थियो; सस्तो रुमानी किताबहरू होइन तर इतिहास, दर्शन र कविता। उसको मनमा सधैँ एउटा कल्पना चलिरहन्थ्यो, जुन साहित्यले उसलाई दिएको थियो।
प्रकाश साथीहरूका लागि प्रेम पत्र पनि लेखिदिने गर्थ्यो। ऊ साहित्यिक पुस्तकहरू पढ्ने भएकाले उसको बोलाइमा पनि मिठास थियो। मृदु बोली भएकाले हरेकले उसलाई मन पराउने गर्थे, विद्यालयमा पनि ऊ कसैसँग झगडा गर्दैन थियो।
प्रकाशले पुस्तकका पन्नाहरूमा हराउँदै जाने क्रममा बिपनालाई देख्न थाल्यो। उसले पछिल्लो केही समयदेखि बिपनालाई घुमफिर हेरेको महसुस गर्यो। उसको ध्यान उनकै आँखामा थियो—जहाँ जोस र ज्ञानको ज्वाला झल्किन्थ्यो। तर बिपना र प्रकाशका बिचमा केवल किताबका पन्ना थिए र तिनीहरूको संसार फरक थियो। प्रकाशलाई यो थाहा थियो कि उसको सन्देश लेख्नु पर्छ।
एक दिन जब विद्यालयको समयमा अन्य सबै विद्यार्थीहरू छुट्टी लिइरहेका थिए, प्रकाशले आफूलाई रोक्न सकेन। उसले सोच्यो, ‘आज म उसको मन बुझाउँछु, आज म उसलाई मेरो भावना बताउँछु।’
किताबको एक पृष्ठ पाटोमा लेखिएको सोचका शब्दहरू उसले एक पत्रमा परिणत गर्यो।
प्रिय बिपना,
म धेरै समयदेखि केही शब्दहरू मनभित्र बोकेर बसेको छु। प्रत्येक दिन तिमीलाई पुस्तकमा हराइरहेको देख्छु, तिमी अक्षरहरूमा डुब्दै, शब्दहरूसँग रमाउँदै, विचारहरू सँगाल्दै…। तिम्रो त्यो एकाग्रता, तिम्रो त्यो गम्भीरता, तिम्रो त्यो आँखा झिमिक्क नगरी पढ्ने बानी— यी सबै कुराले मलाई हरेक दिन झन् प्रभावित बनाउँछ।
म पनि किताबहरूलाई माया गर्छु। अक्षरहरूसँग संवाद गर्छु, कथाहरूको भावनामा हराउँछु, कविताका हरफहरूमा आफ्नै छाया भेट्छु। तर जबदेखि तिमीलाई देख्न थालेँ, मेरो विचारहरू फेरिन थाले। किताबहरूले मलाई जीवन सिकाए तर तिमीले ती सिकाइहरूलाई जीवन्त बनायौ।
तिमीलाई देख्दा लाग्छ, मानौँ म एउटा असाध्यै सुन्दर कविताको सामुन्ने उभिएको छु, जुन हृदयले मात्रै महसुस गर्न सक्छ। तिमी मेरा शब्दहरूको मौन कविता हौ, जसलाई पढ्न मेरा आँखाहरू मात्र होइन, मेरो मनै पर्याप्त छैन। तिमी मेरी प्रेरणा हौ— त्यो उज्यालो जुन मेरा अक्षरहरूमा जीवन दिन सक्छ।
म शब्दहरू लेख्न सक्छु, भावनाहरू व्यक्त गर्न सक्छु तर तिमीलाई देख्दा म आफैँ शब्दविहीन बन्छु। मलाई थाहा छैन, के तिमी पनि मेरो भावनामा बाँड्न इच्छुक छौ? मलाई थाहा छैन, के तिमीले पनि कहिल्यै यो महसुस गरेकी छौ? तर म चाहन्छु, यो पत्र तिमीले पढ र मेरा शब्दहरूबिच लुकेका भावनाहरू तिमीले बुझ।
सधैँ तिम्रो प्रेरित,
प्रकाश।
यो पत्र लेखिसकेपछि उनलाई दिनु र त्यसको उत्तर पाउनु प्रकाशको लागि चुनौती थियो। उसले सोच्यो, ‘के यदि बिपनाले यो चिठी अस्वीकार गरिन् भने?’
तर त्यसको बाबजुद, उसले पत्र बिपनासम्म पुर्यायो।
केही दिनपछि बिपनाले पत्रको उत्तर लेख्न थालिन्। उसले चिठीमा लेख्दै भनिन्-
‘प्रिय प्रकाश,
तिमीले लेखेको पत्र मैले पढेँ। मलाई थाहा छैन कि म कहिले यत्रा सोच्न सक्षम थिएँ तर तिमीले जे लेख्यौ, त्यसले मेरो हृदयलाई छोयो। मलाई विश्वास छ, तिमीलाई म चिन्न चाहन्छु। तिमी मेरो लागि प्रेरणा मात्र होइन, मेरो साथी पनि हौ। म तिमीलाई विश्वास गर्छु।’
बिपनाको उत्तरले प्रकाशको जीवन नै बदलियो। त्यस पत्रले उनलाई नयाँ आशा र ऊर्जा दिइरह्यो। त्यसपछि उनीहरूको मित्रता र प्रेमको यात्रा सुरु भयो।
समय बित्दै जाँदा बिपना र प्रकाशको सम्बन्ध अझ गहिरो र प्रगाढ हुँदै गयो। उनीहरूले एकअर्काको विचार र भावनालाई सम्मान गर्दै ज्ञान र प्रेमको एक अनुपम संसार निर्माण गरे।
प्रकाशले सिकेको थियो कि प्रेम साँचो विश्वासमा आधारित हुन्छ र बिपनाले बुझेकी थिइन् कि जीवनको सही मार्ग भनेको केवल पुस्तकहरू होइन, तर विश्वास र एक अर्कामा सहकार्य गर्ने सामर्थ्य हो।
त्यसपछिका दिनहरूमा उनीहरू गाउँका पहाड र खोल्साहरूमा घुम्थे, एकअर्कासँग सपना बाँड्थे। बिपनाले सधैँ भन्थी, ‘प्रकाश, हाम्रो प्रेम मुना-मदन जस्तै कहिल्यै नटुट्ने होस्।’
तर जीवनका मोडहरूले कहिलेकाहीँ सपनाहरूलाई पनि टुटाउन सक्छ भन्ने कुरा उनीहरूले अनुमान गरेका थिएनन्।
सहरले प्रकाशलाई स्विकार्न निकै समय लगायो। संघर्षका दिनहरूमा ऊ सधैँ बिपनाको सम्झनामा बाँचेको थियो। भोकभोकै रातहरू, चिसो ओछ्यान र दिनभरको थकान— यी सबै कुरामा पनि ऊ बिपनाको मुस्कान सम्झेर आफैँलाई सान्त्वना दिन्थ्यो।
उसले आफ्नो एउटा डायरी निकाल्यो र आफूले लेखेका पुराना एक्लोपनाले भरिएका लेखहरू पढ्न थाल्यो-
‘निःशब्द समयका घडीहरूमा मनले शब्दहरू खोज्न थाल्छ।
त्यो मौनताले नै आवाज दिन्छ—
एउटा चित्र जसले हिजोका दिनहरू कोरिरहेको छ,
एउटा रंग जसले आजको अधुरोपन देखाइरहेको छ।’
‘एउटा कलाकार… क्यानभासअघि मौन…
रङहरूको भिडमा हराएको ऊ—
कहाँबाट सुरु गरूँ? कुन रङ सही होला?
बनिसकेको चित्रमा अझै केही छुटेको अनुभूति…
जस्तै जीवनमा अधुरो रहिरहने सपना।’
‘त्यो हरियो डाँडो, सेतो बादल, रातो सूर्यास्त—
सबै त थिए, तर…
उसको अनुहारको रेखाचित्र सधैँ अधुरो रह्यो।
मालिएको रङहरू नमिलेझैँ,
सम्झनाहरू पनि कहिल्यै पूरै स्पष्ट भएनन्।’
उसले डायरीमा लेखेका केही एक्लोपनाले भरिएका लेखहरू फेरि पढ्यो र छ वर्षपछि, जब बिपनाको पत्र फेरि उसले पढ्यो, उसको मनमा आशाको झिल्को चम्कियो।
‘तिमीले आफैँलाई चिन्न सकेपछि मात्र फर्किनू’ यस वाक्यले उसलाई गहिरो प्रभाव पार्यो।
एक दिन क्याफेको झ्यालबाट प्रकाशले देख्यो— बिपना।
एकछिन उसले आफ्नै आँखामा विश्वास गर्न सकेन। यो कुनै सपना त थिएन? तर सपनाजस्तो सुन्दर पनि थिएन।
बिपनाको आँखा उस्तै थियो— कालो गाजल लगाएकी, सागर जस्तो गहिरो नेत्र, कहिलेकाहीँ सपनाले भरिएको। तर आज त्यहाँ केही गाढा थियो— एक विवशता, एक शून्यता।
प्रकाश उठ्यो। उसका पाइला अनियन्त्रित थिए, जसरी उसको मुटुको धड्कन उसले नियन्त्रण गर्न सकेन।
बिपनासम्म पुग्दा उसले देख्यो— सिउँदोमा सिन्दूर। र, त्यो सिन्दूरले हजार सपना जलाइसकेको थियो।
बिपनाको सिउँदोमा सिन्दूर देखिसकेपछि प्रकाशको शरीरबाट प्राण निस्किन मात्र सकेको थिएन, अरू सम्पूर्ण पीडा उसले महसुस गरिसकेको थियो।
‘तिमी… यहाँ?’ बिपनाको स्वर हल्का थियो। तर त्यस हलकापनभित्र गहिराइ थियो।
समय एउटा क्यानभास हो। त्यसमा दुई जनाले मिलेर चित्र बनाएका थिए। रङ भर्ने काम सुरु भएको थियो— तर कसैले त्यो चित्र अधुरै च्यातेछ।
‘प्रकाश… बाबाले कर गर्नुभयो। विवाह गरेँ।’
त्यस एक वाक्यले प्रकाशका भित्ताहरू भत्कायो। सपनाहरू बिलाए। शरीरभित्र लहरिरहेका सहरका बत्तीहरू निभे।
‘तिमी खुसी छ्यौ?’ प्रकाशको प्रश्न यति सरल थियो। तर त्यसमा समेटिएका कथा अनगिन्ती। प्रकाशले यति प्रश्न गर्न सक्ला जस्तो ब्रह्माण्डलाई पनि लागेको थिएन होला।
बिपनाले मुख खोलिन् तर शब्द आउन सकेन।
के खुसी बन्नु बाध्यता हो?
के प्रेमबाट छुटिनु नियति हो?
एक समय थियो, जब साँझ परेपछि उनीहरू सँगै बस्न मन पराउँथे। चिया गफमा प्रेम मिसिन्थ्यो। असारे महिनाको सिमसिमे पानीमा चिया खाँदै प्रकाशले बिपनाको औँलामा हल्का समाउँदै सोध्थ्यो— ‘तिमी कहिल्यै टाढा जाँदिनौ, है?’
बिपनाले हल्का हाँसेर भन्थी— ‘टाढा गए पनि तिम्रो सम्झनाले मलाई छोड्ने छैन।’
तर सम्झनाले कति धान्न सक्छ र? समयको प्रहार बलियो थियो। उसले प्रेमलाई निल्यो, उसले सपना च्यात्यो। र आज त्यही प्रेम एक क्याफेमा अनौठो संयोग बनेर उभिएको थियो।
बिपनाले घडी हेरी। घडीको सुइँ घुमिरहेको थियो, जसरी समयले उनीहरूलाई फरक बाटोमा घुमाइदिएको थियो।
‘तिमीलाई म सम्झिरहनेछु, प्रकाश।’
त्यो एक वाक्य तर त्यसको पीडा हजारौँ किताबहरूमा लेख्न सकिन्थ्यो।
बिपना उठिन्। बिस्तारै ढोका बाहिर गइन्। क्याफेको झ्यालबाट प्रकाशले हेरिरह्यो। ऊ हेरिरह्यो… जबसम्म बिपना भिडमा हराइन। तर उनी वास्तवमै हराएकी थिइनन्। बिपना त हिजो पनि प्रकाशको मुटुमा थिइन्, आज पनि छिन् र सायद सधैँ रहनेछिन्।
त्यो रात— प्रकाशका लागि समयको अन्तिम साक्षी जस्तो थियो। सहरका बत्तीहरू उज्यालो देखिए पनि उसको मुटु एक गाढा रातमा विलीन भइसकेको थियो। एक प्रेम जसलाई उसले जीवन मानेको थियो, त्यही प्रेम उसको सामुन्ने पराई बनेर उभिएको थियो।
सम्बन्धहरू कहिलेकाहीँ तोड्नुपर्छ, तर बिपना… ऊ त केवल बाध्य थिई।
त्यस रात… प्रकाशले जिन्दगीसँग हारिसकेको थियो। तर मृत्यु पनि कुनै समाधान थिएन। ऊ केवल एक गुमनाम अस्तित्वमा परिणत भइरहेको थियो।
कुनै समय, बिपनाले उसलाई भनेकी थिई— ‘प्रकाश, जीवन हार्ने होइन, जित्ने हो। तिमीले केही गर्नुपर्छ, केही लेख्नुपर्छ। तिमी बाँच्ने भनेको तिम्रो कलम हो।’
त्यही सम्झनाले…
त्यही आवाजले…
त्यही अधुरोपनले…
ऊ फेरि कलमतिर फर्कियो। ऊ लेख्न थाल्यो। उसका कविताहरू आफैँ बन्न थाले।
पहिला आँसु खस्यो
अनि त्यो आँसु शब्द बन्यो
त्यो शब्दले कविता खोज्यो
र कविता समाजको चित्र बन्यो।
नदीले किनार छोडे पनि
किनारले नदीलाई सम्झन छोड्दैन
मेरो प्रेम नदी थियो
तिमी त्यसका किनार…
तर समयले तिमीलाई पर धकेल्यो
र म बगिरहेँ— अन्तहीन रूपमा।
कसैले प्रेम गर्छ
तर प्रेमले जीवन पाउँदैन
कसैले जबरजस्ती सम्बन्ध गर्छ
तर समाज त्यसैलाई स्विकार्छ
न्याय शब्दकोशमा मात्र बाँकी छ
अन्यायले दरबार बनाइसकेको छ।
प्रकाशले लेख्न थाल्यो प्रेमको बारेमा लेख्यो। समाजको यथार्थको बारेमा लेख्यो र आफ्नो बारेमा लेख्यो।
‘म लडेँ, उठेँ, फेरि लडेँ
तर कलम कहिल्यै मरेन
यो नै मेरो जीवन भयो
कलमको स्याहीले मेरो दुःख लेख्यो
तर समयले मलाई लेखक बनाइदियो।’
समय बित्दै गयो। प्रकाश अब प्रेमको होइन, समाजको सत्यताको लेखक बनिसकेको थियो। ऊ लेखिरह्यो। दुःख, पीडा, समाजका अन्धकार छायाहरू। ऊ प्रेममा जलिसकेको थियो तर अब ऊ यथार्थको आगो बाल्न थालेको थियो।
र अन्ततः ऊ बाँच्न सिक्यो— कलमको स्याहीमा, शब्दहरूको युद्धमा, र सत्यताको यात्रामा जहाँ प्रेम त थियो तर प्रेमभन्दा ठुलो जीवनको कथा थियो।
प्रकाशका लागि बिपनासँगको सम्बन्ध मात्र प्रेम थिएन, त्यो ऊभित्र गढिएको कथा थियो। एक यस्तो कथा, जसको उत्तर कहिल्यै पाइएन, जसको अन्त्य कहिल्यै लेखिएन। तर अन्त्य नभएको कथाहरू कहिलेकाहीँ सबैभन्दा ठुलो पुस्तक बन्दछन्।
ऊ लेख्न बस्यो। रातभरि अक्षरहरू जुर्न थाले। उसको आँसुहरू स्याही बने। बिपनासँग बितेका पलहरू, भोगेका वेदनाहरू, समाजले बनाएका अवरोधहरू— सबै ऊर्जाका रूपमा रूपान्तरित भए। र अन्ततः ‘अनुत्तरित प्रेम’ जन्मियो— एक उपन्यास जसले प्रेमको मात्र कथा नभएर, समाजका अनुत्तरित प्रश्नहरूको उत्तर खोज्थ्यो।
जब ‘अनुत्तरित प्रेम’ प्रकाशित भयो, त्यसले तत्कालै पाठकको मन जित्यो। मानिसहरू आफ्नो अधुरो प्रेमको कथा त्यसमा देख्न थाले। समाजका नियमहरू, प्रेमका बाधाहरू र प्रेमभित्रको पीडालाई सबैले महसुस गरे।
पुस्तक स्टोरहरूमा भिड लाग्न थाल्यो। बजारमा एक महिना बित्न नपाउँदै पुस्तक सबैभन्दा धेरै बिक्री हुने सूचीमा पुग्यो। यसले प्रेम मात्र बोलेन, समाजको कठोर सत्यता पनि खोलिदियो।
समयसँगै ‘अनुत्तरित प्रेम’ एउटा ऐतिहासिक पुस्तक बन्यो। यसले साहित्यका सबैभन्दा प्रतिष्ठित पुरस्कारहरू जित्यो— र केवल एक कथा नभएर एउटा आन्दोलन बन्यो।
पत्रकारहरूले सोधे— ‘तपाईंले प्रेम गुमाएपछि यो लेख्नुभयो। के आज खुसी हुनुहुन्छ?’
प्रकाशले मुस्कुरायो र केवल यति भन्यो— ‘माया गुमे पनि कलमले जीवन फिर्ता दियो।’
प्रकाश अब केवल एक प्रेमी थिएन। ऊ अब समाजका प्रश्नहरू उठाउने लेखक बनिसकेको थियो। ऊ अब त्यो व्यक्ति थियो, जो शब्दहरूमार्फत अमर भइसकेको थियो। जब ऊ कुनै एकान्त रातमा फेरि डायरी खोल्थ्यो, त्यसका हरफहरू भन्थे—
‘प्रेमले मलाई तोड्यो,
तर कलमले मलाई बनायो
अब म बाँचिरहन्छु—
अनुत्तरित प्रेमहरूका उत्तरहरू खोज्दै।’