नर्कलोक,
यमराज्य।
यमराज बिहान छ बजे उठ्छ। शुभ स्नानपछि आरतीको धूप जलाउँछ। अनि निस्कन्छ नर्कलोकमा ल्याइएका मनुष्यहरूको निगरानीमा। एकदम मोर्डनाइज तरिकामा राखिएको छ, सबै नर्कलोक नसिब भएकाहरूलाई। उनीहरूलाई नर्कलोकमा ल्याउनुको कारणअनुसार राखिएको छ। जस्तो-
भ्रष्टाचार गर्नेहरूको समूह
मारकाट गर्नेहरूको समूह
ठगहरूको समूह
चोरहरूको समूह
आदि इत्यादि।
सबैलाई नम्बरिङ गरिएको छ।
स्टालिन राखिएको टुकडी नम्बर ५०५०,
मुगाबे राखिएको स्टल नं ९१९२।
॰॰॰
पूरा नर्कलोकभरि स्टल नं ८०८ बडा चाखलाग्दो स्टल छ। यस स्टलमा अल्छीहरू मात्र राखिएको छ। प्रेमिल अल्छीहरू। बहुत अल्छी हुनुले नै नर्कलोकको बाटो तय गराइदिएको। अनि प्रेमिल हुनुले स्टल नं ८०८ को बास।
यमराजले केही बन्धनहरू बनाएको थियो नर्क-अवतारीहरूलाई अनुशासन र शासनको दायरामा राख्नलाई। स्टल नं ८०८ का मुर्दाहरूले बिहान ६ बजे उठेर चिसो मौसममा चिसो पानीले नुहाएर, गर्मी मौसममा तातो पानीले नुहाएर स्टलभन्दा पौने १ किलो मिटर परको पाटीमा बिना हलचल एक घण्टा ध्यान गर्नु पर्थ्यो, हर शुभ ७:५० पुगेर ८ बजेबाट सुरु। १० बजे खाना। ११ बजेबाट प्याकिङ फ्याक्ट्रीमा मसला गनी गनी प्याकिङ गर्ने। एक तल-माथि भए ८ कोर्रा पर कार्टुन सजाय।
मिति: २०७८ वैशाख ८ गते
समय: बिहानको ८ बजे
स्थान: यम व्यायामशाला, खुलाचौर।
ठ्याक्कै बिहानको ८ बजे यमराज ध्यान पाटीमा हाजिर। हाजिर फाइल समातेर रोल कलको आह्वान। हाजिर लिस्टमा दुई हप्ता अगाडि नेपालबाट आएको फकिर गयल।
यमराजले रखवालालाई सोध्यो, ‘खै त्यो नेपालबाट उठाइएको फकिर? नर्कलोकको नियम विनियम सम्झाएनौ त्यसलाई?’
रखवाला बोल्दा भया, ‘मालिक सम्झाएको। आएको पछिल्लो दिनदेखि कोर्रा हानेरै सम्झाएको। हिजो मात्र भोलिदेखि भनेकै समयमा हाजिर हुने कबुल गरेर कोर्रा हान्न रोकेको। फेरि सम्झेन उसले। महाराज यस्तो लाग्छ कि ऊ उसको पृथ्वीलोकको आदतले मजबुर छ। त्यसैले त्यो आदत अझै पनि गएको छैन। या कि ऊ त्यो आदतसँग प्यारमा छ जसलाई ऊ छोड्न चाहन्न।’
यमराज: इन्ट्रेस्टिङ! मजबुर ओर प्यार।’
अनि ठाडो आदेश दिन्छ, ‘जाओ ओर उठाके लेके आओ उस नेपालीको।’
रखवाला आदेशको शिरोधार्य गरी लुखुरलुखुर नेपाली फकिरतिर गयो।
स्टल नं ८०८ को कोठा नं ८०८ भित्र नेपाली फकिर भित्ताको घडीको सुइँहरूमा आँखा झुन्डाएर एकोहोरो हेरिरहेको थियो, घडीको ८:०८ को बजाइलाई।
रखवाला अचम्मित भयो, निद्राले नउठेको नभई उठेर पनि नडराई घडी हेरिरहेको देखेर। उसले सिधा सिधा सोध्यो, ‘फकिर, तेरो यो ८:०८ बजेसँगको साइनो के हो?’
फकिर मुस्कुरायो र बोल्यो, ‘यमलोक पुगेदेखि अहिलेसम्म मलाई सबैभन्दा मन परेको सवाल, थ्याङ्क्स माई ब्वाई थ्याङ्क्स। आई वान्टेड टु गिभ यु सम रिवार्ड्स फर दिस म्याजिकल कोइसन। बट मेरे पास तो कुच हेई नही। नाओ लिसन माई स्टोरी बिहाइन्ड जर्नी टुवार्ड्स दिस नर्कलोक, लिसन।’
फकिर आफ्नो कहानी सुनाउनतिर लाग्यो।
॰॰॰
‘दिस इज प्याराडाइज एन्ड इट्स आवर वार जोन; मोबाइलमा जेएन मलिकको गीत रिङटोनमा बज्छ।
बिहानको ८:०८, भित्ते घडीमा।
घामले ओछ्यानमै आलिङ्गन हालेको दुई घण्टा बढी भइसकेको।
बल्ल फकिर चलमलाउँछ। निद्राबाट निस्कने चेष्टा गर्छ, रिङटोनको एक जोड फुसफुसाहटपछि। एक वर्ष भयो उसको दैनिकी एउटा फोन कलको रिङटोनले सुरु गरेको।
कहिलेकाहीँ अगाडि नै बिउँझन्छ। भित्ते घडीमा हेर्छ, ८:0८ को बेला नभइसकेको अवस्था। मोबाइल नजिक ल्याउँछ अनि हेरेर बस्छ, कुरेर बस्छ ८:०८ को र मोबाइलमा आउने त्यही रिङटोनको।
मानिस जन्मेपछि जिन्दगी सुरु गर्छ अनि मरेपछि जिन्दगीदेखि बिदाबारी लिन्छ।
खासमा के हो जिन्दगी? खासमा के होइन जिन्दगी? के परिभाषा गर्न लायक छ जिन्दगी?
अर्बौँ मानिसहरूको जिन्दगी बिचको मिलन सेतु के हो?
के कसीले मनुष्यको जिन्दगी सार्थक बन्छ?
या सार्थक जिन्दगी कसको जिन्दगीलाई भन्ने?
सार्थक भनिएका या भनौँ मानिएका सो कल्ड जिन्दगीहरूको चौघेरा भित्र यो मेरो ८:०८ को रिङटोनवाला जिन्दगी पर्छ कि पर्दैन?
अरू कसैले बनाइदिएका फूलबुट्टा भित्र मेरो जिन्दगीको अस्तु खोज्नु जायज कति डिग्रीले हो?
यी र यस्तै यस्तै, मोबाइलमा रिङटोन बज्नु अगावैका कहिलेकाहीँका चिन्तनहरू हुन् फकिरका। अनि ओछ्यानमा लम्पसार आफूलाई हेर्छ। मोबाइल बज्नुको पर्खाई कुन जिन्दगीको कति नम्बर दफाअनुसार वैधानिक छ?
हाँस्छ। आफूलाई हेर्छ सिरानमा भएको ऐनाभित्र। मनमनै भन्छ- आजको एकाबिहानैको सोचाइ कति गहिरो भयो! मलाई डुबाउन लायक छ कि छैन?
आँखा जुधाउँछ ऐना भित्रको मलाई। हैट! सैतान दिमागमा यति सोच्न लायक निउरोनहरू पनि रहेछन्।
एक टुकडी सलाम टक्र्याउँछ फौजी निउरोनहरूलाई। मोबाइलमा मलिक कुर्लन्छ।
जसै कानको जालीमा मलिक पुग्छ, मोबाइल हातमा पुग्छ। फोन कल उठाउनका लागि हुन्। तर उसको ८:०८ को फोन कल उठाउन हैन, बरु आफू उठ्नका लागि हो। यही नेर सांसारिक नियमको उलङ्घनमा पर्छ उसको जिन्दगी। त्यसैले त उसले अघि सोचेको अरूले बनाएको जिन्दगीको नियम; ‘रिङटोन फोन उठाउनका लागि तर उसको चाहिँ आफू उठ्नका लागि’ सार्थक कि बेर्थक?
उसको निउरोनहरूको सचिवालयको गम्भीर सैद्धान्तिक संश्लेषण कहिल्यै नउठाउने त्यो तिस सेकेन्डको रिङटोनले एकैछिनमा कता विलय हुन्छ कता। उसको खप्परको फङ्सनिङ कारखाना बन्द हुन्छ अनि खप्परभन्दा तलको कारखाना, मुटुको कारखानाको इन्जिन सुरु हुन्छ अब, भुर-भुर भटटट।
एकदम हर्षित मुद्रामा ऊ ओछ्यानबाट उठ्छ। खासमा फकिरको जिन्दगीमा त्यो ८:०८ को फोनकल एक अमृतको रूपमा आइदिन्छ। सबै हर्ष उन्माद खुसी उमङ्ग ८:०८ को रिङटोनसँगै फकिरसम्म आइपुग्छन्, फकिरको उठाइसँगै सामूहिक विचरण गर्ने प्रण गर्छन्।
फकिरको दिनचर्या मोबाइलबाट सुरु भएर मोबाइलमा नै अन्त्य हुन्छ। बिहानको नित्यकर्मपश्चात् मोबाइलको स्क्रिन खोल्छ, त्यसपछि स्क्रिन भित्रको मुहार पुस्तिका। मुहार पुस्तिकाभित्र कुनै आलङ्कारिक मानवको मुहार हेर्छ। अभिभूत, अतुलनीय, अलौकिक मुहारको दर्शनपछि बाँकी काममा उसको जाँगरले जाँगर देखाउँछ। खासमा त्यो मालिकवाला फोनकल उसको प्रेमिकाको हुन्छ।
कोरोना कहर सुरु हुनु अगावै उसको एक युवतीसँग प्रेम हुन्छ। देशभरिका कार्यालयहरू बन्द हुनुअलावै उसको कलेज बन्द हुन्छ। क्याम्पस पढ्ने निहुँ गरेर राजधानीमा बसेको फकिरको अर्को निहुँ भेटिँदैन राजधानीमा बसिराख्नलाई। मन नलागी नलागी ऊ प्रेमिकासँग बिदा मागेर आफ्नो घर तराई बतासिन्छ, रात्रि बसमा।
भरखर भरखर जोडी बनेको, भरखर भरखर प्रेमीका बनाएको फकिरको तराईको गर्मीमा मन लाग्दैन। देशमा कोरोना कहर विषम बन्दै जान्छ। अब राजधानी छिट्टै फर्किने आस पनि मर्दै जान्छ। त्यसपछि सुरु हुन्छ बिहान ८:०८ बजे प्रेमिकाले फोन गरेपछि मात्र उठ्ने फकिरको दिनचर्या जसले नरकलोकमा पनि पछ्याइरहन्छ र आज पनि त्यही प्रेमिल समय ८:०८ लाई हेर्दा हेर्दै फकिर यम व्यायामशालामा ओझेल परेर यमराजको नजरमा परेको।
॰॰॰
रखवालाले एक शब्द नबढाई, एक शब्द नघटाई फकिरको कहानी यमराजलाई सुनायो। यमराज सुनेको सुनै हुन्छ। कहानीमा डुबेर कहानी सकिएको भेउ पाउँदैन। हडबडाउँदै यमराजले सोध्छ, ‘बडा रोमान्टिक कहानी रहेछ त फकिर बाबु? तर तिमीले गल्ती गर्यौ, तिमीले आफ्नो रोमान्टिसिजमलाई नेपालमै छोडेर आउनु पर्ने। यहाँ त प्रेम गर्न पाइँदैन त गाँठे। अनि यस्तो प्रेमिल कहानी भएको मान्छे कसरी यहाँ आइपुगेको त?’
फकिर बोल्छ, ‘म नर्कलोक प्रस्थान गर्नुभन्दा दश दिन अगाडि मलाई कोरोना लाग्यो। १० औँ दिन धेरै गाह्रो हुँदै गयो। मलाई अस्पताल लग्न भनेर सबै जम्मा भए। मैले ८:०८ नबजी कहीँ नजाने अड्डी कसेँ। मलाई रिङटोन जो सुन्नु थियो। तर तपाईंले मलाई ८:०७ मा नै नर्कलोक बोलाइहाल्नु भयो।’
अनलक्की फेलो!