सम्झनका लागि
धेरै चिज छन् मसँग यति बेला
कैयौँ दिनदेखि पानी नपाएर
काकाकुल उदास फूलहरू
हेर्न नभ्याएको एक टुक्रा आकाश
र,
कोर्न नपाएका बादलझैँ चित्रहरू छन् जीवनका!
देख्नै नपाई उदाइसकेको टुहुरो घाम
बिदाइको हातबिनै अस्ताइरहेका वृद्ध सूर्य
जिस्किन नपाएर रिसाउँदै फर्किसकेका
झुन्ड-झुन्ड छन् सम्झना चराहरू!
जिन्दगीको प्रतीक्षालयमा
आउन नसकेका पाहुना खुसी
जान नमानिरहेका पीडाका सिरेटा
गलामै अड्किएका छन् ती सबै
शिशिरले सुसेल्न नसकेको चिसो गीत जसरी!
सम्झनका लागि
अरू पनि कैयौँ चिज छन्
ज्वरोले सिकिस्त भएर कामिरहेका हातहरू
पोलिरहेका निर्दोष एक जोडी आँखा
दुखिरहेको आफ्नै छाती पनि त छ मसँग!
बिर्सिएर
भुल्नै नहुने ती सबलाई
सम्झिरहेको छु, नसम्झे हुने कुराहरू
सम्झनै नपर्ने तिमीलाई पनि
किन सम्झिरहेको छु, यति बेला!