भगवान् खोज्न सहर छिरेको मान्छे
मुर्दाहरू भेटेर गाउँ फर्कन्छ
भिडभित्र भिडन्त देख्छ
अत्यास देख्छ
अत्याचार देख्छ
अनावश्यक देख्छ
अँध्यारो देख्छ
हतार देख्छ
व्यापार देख्छ
व्यापारी देख्छ
ग्राहक देख्छ
उल्झन देख्छ
अल्झिएको देख्छ
देखिरहन्छ
देख्दिनँ भन्दा पनि उसले फेरि
चोक देख्छ
भोक देख्छ
शोक देख्छ
रोग देख्छ
देख्न नहुने कुरा के के छन् यहाँ?
सबथोक देख्छ
‘आऊ बतास उडाइजाऊ
यो सहरबाहिर पनि सहर लैजाऊ’
उसले यहाँ मूल्यवान् देख्छ
मूल्यहीन देख्छ
चित्र देख्छ, चरित्र देख्छ
इज्जत देख्छ
बेइज्जत देख्छ
उत्रिएको देख्छ
सिलाइएको देख्छ
आँखा बन्द गरेर ऊ हिँड्न सक्दैन
आँखा खोलेर ऊ टिक्न सक्दैन
यस्तै यस्तै भिडले बनेको छ यो सहर
गाउँ समेत यहाँ यो सहरसँग शरण लिन आएको छ
रित्याएर आएको छ
पटुकीमा लुकाएर राख्ने कोसेलीका कन्तुरहरू
के-के छन् यहाँ सब हेर्न आएको
के-के छैनन् यहाँ ऊ थप्न आएको
आउँदा ऊ भरिएर आएको थियो
जाँदा ऊ रित्तिएर जान्छ
मिसिएर जान्छ
मिचिएर जान्छ
धुलोसँगै जान्छ
धुवाँसँगै जान्छ
एक्ला एक्लै जान्छ
ऊ एक्लै जान्छ
फेरि एक्लै जान्छ।