टोरोन्टोका नेपालीहरूले आयोजना गरेको एउटा कार्यक्रममा सुरवीर काकासँग भेट भयो। उहाँसँग मेरो भेट करिब चार पाँच वर्ष पहिले एउटा पिकनिकमा भएको थियो। उहाँलाई देख्नासाथ मैले चिनेँ र नमस्ते गरेँ।
उहाँले चिन्नु भयो भएन, तर नजिकै आएर सन्चो बिसन्चो सोध्नुभयो। गहुँगोरो अनुहार, पातलो र होचो शरीर, हेर्दा स्वास्थ्य नै देखिनुहुन्थ्यो।
'बुवाले यस्तो ठाउँमा अर्कोपल्ट त मरिजाम आउँदिनँ भन्नुभएको थियो। फेरि फर्केर आउनुभएछ', मैले हाँस्दै सोधे।
'बाबुले सम्झिनु भएको रहेछ। भनेको त हो बाबु तर नेपालमा पनि एक्लै परियो। त्यहाँ भएको अर्को छोरो पनि हिँड्यो। हामी बुढाबुढी एक्लै भयौं। आइयो यतै,' उहाँले भन्नुभयो।
'ठिकै गर्नुभयो। आखिर बुढेसकालमा चाहिने भनेकै आफ्नो सन्तान हो। छोराले बोलाउँदा किन नआउन पर्यो र? जहाँ बस्यो त्यहीँ रमाइलो, हैन त बुवा?,' मैले भनेँ।
'त्यही त भन्नुपर्यो। अरू उपाय नभएसी। पहाडतिरका दमालीहरू पनि सबै मधेसतिर झरे। त्यहाँ पनि ओडारझैं रित्ता घर कुरेर बसेका छन्। सबैका छोराछोरी विदेशतिर हानिए। राज्यले पनि के गरोस्', उहाँले निधार खुम्च्याउँदै भन्नुभयो।
'त्यही त भन्नुपर्यो। राजनीति पनि त्यस्तै खराब छ। मान्छेहरू पनि गाउँघरमा बसेर दु:ख गर्न चाहन्नन्। हामी आफै उछिट्टिएर यहाँसम्म आइसकेपछि अरूलाई दोष दिने कुरो नै भएन', मैले भनेँ।
'त्यसै त भन्नुपर्यो बाबु। जे गर्नु भयो ठिकै गर्नुभयो। अब त राजनीति सुध्रिन्छ कि, विकास फर्किन्छ कि भन्दाभन्दै हामी मर्ने बेला भैसक्यो। एउटा नेताले अर्कोलाई गाली गर्ने र एउटा पार्टीले अर्को पार्टीलाई देखिनसहने रवैयाले देश कहिले बन्ला र?'
'त्यै त ऐले त झन् युवाहरू सबै बाहिरतिर हिँडेका छन्। खै के भन्नु। देश बनाउँछौँ भनेर नयाँ नयाँ खोल ओडेर सत्तामा छिरेकाहरूको चर्तिकला पनि देखिहालियो।'
'त्यताको प्रभाव यता पनि देखेँ बाबु, मैले त। आखिर मान्छेहरू जहाँ पुगे पनि आफ्नो स्वभाव बिर्संदो रहेनछन्। ज्वाइँका साथीहरूले कुरा गरेको सुन्छु, 'कहिले यो संस्थाले पैसा माग्यो, कहिले त्यो संस्थाले पिकनिक राख्यो। हैन जाबो एउटा पोखरीको छेउमा मौरीको चाकाझैं गुजुमुजु भएर नेपालीहरू बसेको ठाउँमा किन चाहियो है यति धेरै संस्था? अचम्म छ!'
'मिलेर काम गर्न नसक्ने जन्मजात बानी हामी नेपालीहरूको जिनमै छ। तपाईंलाई कतिको थाहा छ कुन्नि यही टोरोन्टोमा मात्र करिब सत्तरीदेखि असीको हाराहारीमा नेपाली संस्थाहरू छन् रे।'
'हैन के पो गर्छन् यी संस्थाहरूले, बाबु?'
सुरवीर काकाको प्रश्नले म वाक्क न वक्क परेँ। म आफै टोरोन्टोमा बसेको करिब चार पाँच वर्ष हुन लागिसक्यो। क्यानडा पसेको त झन्डै १० वर्ष पो पुगिसकेछ। एकाध संस्थाहरूबाहेक अरूले के काम गरे भनेर मलाई समेत थाहा छैन। उहाँलाई झन् केको थाहा हुनु!
'कसैले वर्ष दिनको एकपल्ट पिकनिक आयोजना गर्छन्। बुवाले सुन्नुभएको होला नि बार्बेक्यु, कुखुराको खुट्टा पोलेर खाने। त्यो पनि सानोतिनो आफ्नै दु:खजेलो गरेर बसेकाहरूसँग पैसो मागेर गर्छन्। कसैले नेपालमा ओझेल पर्दै गएका कलाकारहरू बोलाएर कार्यक्रम राख्छन्। त्यो पनि तिनैसँग सहयोग मागेर।'
'कलाकार ल्याउँदा अरू मान्छेहरू पनि ल्याउँछन् रे त बाबु! अनि तिनै मान्छेहरूले वकिलसँग मिलेर शरणार्थीको लागि निवेदन दिन्छन् रे। नेपालमा माओवादीले उठिबास लाग्यो। मेरो बाउलाई मार्यो, कल्लाई बलात्कार गर्यो। मलाई नेपाल बस्न एकदम खतरा भयो भनेर झुटा कथा बुनेर यताको कागज बनाएर पो बस्छन रे त बाबु।'
'होला बुवा, मैले पनि सुनेको कुरा हो। यहाँ मान्छेहरू अरूको चियोचर्चो गर्न निकै सिपालु छन्। आज फलानो यस्तो र उस्तो भनेर कुरा काट्छन्। भोलिपल्ट उसैकोमा गएर भात हसुर्छन्। अब क्यानडा आउन चाहने मान्छेहरूको लर्को छ नेपालमा। लिगल बाटोबाट नसक्नेहरू यिनै बाटाहरू खोजेर आउने त हुन्। उनीहरू जति भन्यो, त्यति पैसा तिर्न राजी छन्। यहाँ वकिलहरूले झुटा कथा लेखेरै भए पनि उनीहरूको सपना पूरा गर्छन् भने हाम्ले किन टाउको दुखाउनु फोकटमा।'
'टाउको दुखाएको हैन बाबु। मान्छेहरूसँग नैतिकता भन्ने कुरा हराएछ भन्ने मात्र लागेको हो। कतै घर बेच्ने मान्छेले धोका दियो भन्छन्। कतै इन्सुरेन्स हो कि के जाति बेच्ने मान्छेहरूले ठगे भन्छन्। अस्ति भर्खर आएका विद्यार्थी बाबुहरूलाई आफ्नै मान्छेले ताकेता गरेको गरै गरेर खोइ के जाति इन्सुरेन्सको सदस्य बनाए रे। मैले यति कमाएँ, फलानाले यति कमायो' भन्दै बाइस सत्ताइस कुरा गरेर फसाएछन्। केको कमाइ हुन्थो बिचरा। ऊ घरभाडा तिर्ने पैसो समेत नेपालबाट ल्याउने स्थितिमा छ। भर्खर आएका विद्यार्थीहरूको धेरै मान्छेहरूसँग सम्पर्क पनि भइसकेको हुँदैन। त्यस्तालाई जबर्जस्ती इन्सुरेन्समा भिडाएर कसरी हुन्छ र भन्या। दुई पैसाको लोभमा उनीहरूलाई झुटो आश्वासन किन दिने भन्ने मेरो कुरा हो बाबु। अरू मलाई कसैसँग केही लेनदेन छैन।'
हाम्रो कुरा हुँदाहुँदै एक जना मित्र लुसुक्क घुसे। उसलाई देखेपछि हामीले कुराकानी बीचमै रोक्यौ। उनी रहेछन् सुरवीर काकाकै भतिजो पर्ने, फक्कडसिङ्ग। दाइने आँखा अलि सानो र नाकको डाँडी अलिकति बाङ्गो। कपालका रौं फुलेर तुसारो परेको खर्यान झैं भएको टाउको। अजेक्सतिर बस्दा रहेछन्। काकालाई नमस्ते ठोके। मसँग पनि हात मिलाए। हामीले परिचय गर्यौं। पहिले कतै भेट भएको रहेनछ हाम्रो। त्यहाँ उनले धाराप्रवाह आफ्ना प्रगतिका कथा सुनाउन थाले। कुरैकुरामा दुई चारवटा घर जोडेको, संस्थाहरूलाई सहयोग गरेको कुरा समेत गर्न भ्याए। सुरवीर काकाले खासै चासो दिएर सुनेजस्तो पनि लागेन।
'तपाईंहरू कुरा गर्दै गर्नुस् म हिँडेँ,' भनेर म निस्केँ।
भोलिपल्ट तिनै काकासँग पार्कमा भेट भयो। एकैछिन चौरमा बस्यौं। मैले अघिल्लो दिन भेट भएको मान्छेको बारेमा के कसो भनेर सोधेँ।
'त्यो मान्छेको कुरा नगर्नुस् बाबु। नाताले भतिजो परे पनि मान्छेको भाँडो हैन। नेपालमा परिवार बिचल्लीमा पारेको छ। दुइटा दुइटा छोराछोरी भएको मान्छेले यहाँ आएर अर्कै केटीसँग सल्केछ। आफूमात्रै आयो। उनीहरूलाई बोलाउँछु बोलाउँछु भन्दाभन्दै त्यतिकै बितरा पार्यो। कुन इन्डियन दलालसँग मिलेर मान्छे ल्याउँछ रे। अनि त्यसका फुटानी। त्यो मु* पनि मान्छेको भाँडो हो। नैतिकता बिनाको पैसाले बिनाशमात्र निम्त्याउँछ बाबु। मेरो कुरा सम्झिराख्नुहोला,' उहाँले भन्नुभयो।
'बुवाको कुरा सही हो,' मैले भनेँ।
'घरजग्गाको कारोबार पनि गर्छु भन्छ। घरको कारोबार गर्दा पनि के के जालझेल गर्छ रे। सबैले त्यसै गर्छन् त बाबु?, हजुरलाई थाहा होला धेरै कुरा,' उहाँले सोध्नुभयो।
'सबै त्यस्ता हुँदैनन् बुवा। सबैको फरक फरक अनुभव हुन सक्छ। बचाउनेले किन्ने खराब देख्छन्, किन्नेले बेच्नेलाई। खासमा कुरो के हो भने अधिकांश नेपालीहरू सामान्य जागिरे छन्। त्यो जागिरको आम्दानीले घरको लोन पास हुँदैन। घरको मूल्य निकै चर्को छ यहाँ। त्यसपछि घर किनबेच गराउने एजेन्टहरूले मोर्गेज अर्थात् घरको लोन मिलाउने एजेन्टहरूसँग मिलेर झुटा कागजात बनाएरै भए पनि बैंकबाट लोन पास गराउँछन्। यसो गर्दा जागिर गरेर घर किन्न नसकेकाहरूले पनि राम्रै घरमा बस्न पाउँछन्। अब के भनौं? घरको ऋण जाबो त तीस वर्षसम्म तिरिरहने हो। अहिले त धेरैले ब्याजमात्र तिरेर बसेका छन्। यसलाई जालझेल भन्नू कि, के भन्नू। यति नगर्ने हो भने यहाँ यति धेरै नेपालीहरू घर किन्नै सक्दैनथे।'
'कमाएको जति पैसाले ब्याज मात्रै तिरेर त घरको ऋण कहिले कहिले चुक्ता गर्छन्? जहिले काम काम भनेर कुदेको कुदै छन्। हप्तामा एक दुई बिदा हुँदा कहिले कहाँ गएर उफ्रेका छन्, कहिले कहाँ। घरमा परिवारसँग कहिले समय बिताउने। कहिले घुम्न निस्कने। नेपाल जाने त कुरै छोड्नुस् बाबु। मेरै ज्वाइँ नेपाल नगएको सात आठ वर्ष जति भयो,' भन्दाभन्दै उहाँलाई खोकी लाग्यो।
'घाँटी पो मस्मसायो बाबु , भाँ अरूका कुरा काटेको भएर हो,' उहाँले ख्याक्क थुक्दै भन्नुभयो।
'यहाँ त थुक्क नि डर लाग्छ बाबु। देख्यो भने त टिकट पो दिन्छ रे त?'
दुवै जना हाँस्यौ एकछिन।
'कसैको कुरा काटेको हैनौं। यथार्थ कुरा गरेको हो। हामीले सधैं नकारात्मक कुराहरू मात्र हेर्नु हुँदैन भन्ने लाग्छ। थुप्रै सकारात्मक पक्षहरू पनि छन्। कतिपय संस्थाहरूले यहाँ पैसा जम्मा गरेर नेपालमा विभिन्न खाले प्रकोपमा परेकाहरूलाई सहयोग गरेका छन्। कतिपयले यहाँ आफ्ना सदस्यहरूसँग पैसा जम्मा गरेर नेपालका स्कुलहरूमा छात्रवृत्ति दिँदै आइरहेका छन्। कुनै संस्थाले केटाकेटीहरूलाई फुटबल, भलिबल जस्ता खेलहरू खेलाएर उनीहरूको सामाजिक, मानसिक, शारीरिक विकासको लागि सहयोग गर्दै आइरहेका छन्। नेपाली कला संस्कृति झल्किने कार्यक्रमहरू गरेर नेपाललाई चिनाएका छन्। जे गरेका छन् ठिकै गरेका छन्। राम्रो कुरालाई राम्रो भन्न सक्नुपर्यो। दु:खको कुरा एउटा संस्थाले अर्को संस्थाले गरेको कामको प्रशंसा गर्दै गर्दैनन्।'
'कस्तो घतलाग्दो कुरा गर्नुभयो बाबुले,' उहाँले भन्नुभयो।
त्यसपछि उहाँलाई लामो खोकी लाग्यो।
'मलाई अलि गाह्रो बनायो। दमको औषधि खान बिर्सेछु बिहान। म त घरतिर लागे है बाबु' भनेर उहाँ छुट्टिनुभयो।
त्यसपछि धेरै दिनसम्म हाम्रो भेट भएन। करिब दुई महिना पछाडि उहाँ एक जना साथीलाई सोधेर मेरो घरमै आउनुभयो। उहाँको अनुहारमा हँसिलोपन थिएन। मैले उहाँलाई भित्र बोलाएँ। हामीले सँगै चिया खायौं। एकछिन घर पछाडिको गार्डेनमा डुल्यौं। सधैं हाँसेर आफै कुराको सुरूवात गर्ने मान्छे, चुप देखेर मलाई असजिलो महसुस भैरहेको थियो।
'बुवालाई सन्चो छैन कि क्याहो?,' मैले सोधेँ।
'के सन्चो छ भनौं, के छैन भनौं बाबु। एक हप्ता जति भयो राम्रोसँग निद्रा पनि परेको छैन। मनमा कुरा खेलेपछि निद्रा पनि किन लागोस् र' उहाँले भन्नुभयो।
'के भयो र त्यस्तो' मैले सोधेँ।
'एक महिना जति भयो बाबु खाली एउटै सपना मात्र देख्छु। डर लाग्ने सपना।'
'के देख्नु भयो भन्नुस् न?,' मैले सोधेँ।
'सुन्नुस् बाबु, सपनामा मैले आर्यघाट देखेँ। आर्यघाटमा लक्सरै चिताहरू राखेको। ती चिताहरूसँगै राष्ट्रिय झन्डा फहराइरहेको। तर सबै चिताहरू खाली। मान्छेहरू लास खोज्न यता र उता दौडिरहेका। कोही खोलामा डुबुल्की मारिरहेका। कोही रूखको टुप्पोबाट कराइरहेका। बाँदरहरूले आफ्ना साना साना बच्चाहरू बोकेर भाग्दै गरेका। पशुपतिको मन्दिरबाट एकोहोरो शंख बजिरहेको। अनि त्यही भिडबाट एक जना मान्छे चिच्याइरहेको, 'लासहरू भागे। यसरी भाग्न दिनुहुँदैन। तिनीहरूलाई विधिपूर्वक दाहसंकार गर्नुपर्छ। नत्र भने यिनीहरू भूत बनेर हामीलाई तर्साइरहने छन्। देशलाई तर्साइरहने छन्,' अनि एक्कासि एक जनाले मेरो घाँटीमा च्याप समातेर भन्छ,'हिँड, तेरो चिताले तँलाई कुरिरहेको छ। तँलाई लैजान आएका हौं हामी।' त्यतिबेला मलाई स्वास फेर्न पनि गाह्रो हुन्छ। अनि म बिउँझिन्छु।'
'सुन्दा पनि आङ्गै जिरिङ्ग बनायो। तपाईंले नेपाल मिस गरेजस्तो छ, बुवा। सायद नेपाल आमाले हजुरलाई बोलाएको हुन सक्छ। यदि फर्किने वातावरण बन्छ भने नेपालै फर्किनुस्,' मैले भनेँ।
'दुई जना छोराहरू बाहिरै भए। बुढेसकालमा एक्लै के बस्नु भनेर आइहालेँ। तर झन् एक्लो पो भैदोरहेछ। त्यहाँ त छोराहरू नभए पनि इष्टमित्र आफन्तहरू त छन्। नेपाली सबै आफ्नै दाजुभाइ त हुन्। म त फर्किन्छु, बाबु,' उहाँले भन्नुभयो। उहाँको आँखामा आँखा जुधाएर हेर्न सकिनँ मैले।
धेरै दिनपछि उहाँलाई मैले सपनामै देखेँ, 'आर्यघाटको चितामा सुरवीर काका। हँसिलो अनुहार र चौडा छातीमाथि नेपाल आमाको झन्डा फहराईहरेको। पण्डितहरू मन्त्र पढिरहेका।
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ||