प्रिय छोरा
मुटुभरिको माया अनि हृदयभरिको अनन्त आशीर्वाद तिमीलाई।
शिशिर यामको यो कठ्याङ्ग्रिने मौसममा भव्य सहरको महलभित्र बसेर तिमीले हिटर तापिरहँदा तिम्रो स्मृतिको प्रवाहमा हामी कति बग्छौँ, त्यो त थाहा छैन तर तिमी जन्मेको घरमा बसेर आगोको भुङ्ग्रोमा तिम्री बिरामी आमालाई तेल तताइरहँदा भने तिम्रो यादको रापमा म निकै जलिरहेछु छोरा, जसरी दाउरा कोइला बनेर जलिरहेछ।
म तिम्रो यादमा त्यसरी नै उडिरहेको छु, जसरी धुवाँ माथि-माथि अनन्तमा उडिरहेछ। पटपटी फुटेका अनि बुढ्यौलीले चाउरिएका हातहरू सेकाइरहँदा म बारबार तिम्रो यादको समुद्रमा डुबेको छु। अनायासै मभित्रको व्यथा अनुहारको मार्गमा तिम्रो यादको वर्षा बनेर खसिरहेछन् छोरा।
सन्तानको सुख, सुविधा र आनन्द नै हरेक आमा-बुवाको खुसी र आनन्दको मानक हो। त्यसैले यदि तिमी सुखमा छौ र आनन्दित जीवन व्यतीत गरिरहेका छौ भने हाम्रो खुसी र आनन्द त्यही हो बाबु।
हरेक आमा-बुवाहरू जस्तै हामी पनि आफ्ना सन्तानहरूको ओठमा सधैँ खुसी मुस्कुराएको देख्न चाहन्छौँ। हामी चाहन्छौ कि हाम्रो कारणले कुनै पनि सन्तानलाई समस्या, दुःख नपरोस्। हमेसा हाम्रा आँखाहरू सन्तानहरूका आँखामा खुसी र हाँसो देख्न व्यग्र हुन्छन्।
हामी दुई अर्थात् तिम्रो बुवा-आमाको विवाह एक संयोग थियो तर हामी दुईले राखेको सन्तान प्राप्तिको इच्छा तिम्रो जीवन यात्राको सुरुआत थियो। त्यो एउटा यस्तो समय थियो, जुन समयमा छोरी एघार/बाह्र वर्ष पूरा भएपछि उसको विवाहको कुरा चल्थ्यो। कुरा चल्दै जाँदा केटाको उमेर दश पन्ध्र वर्षदेखि बिस पच्चिस वर्ष जेठासम्मलाई केटीको लागि योग्य ठानिन्थ्यो।
तिम्रो बुवा-आमाको सवालमा पनि यही कुरा सत्य हो। तिम्री आमा मभन्दा करिब बाह्र वर्ष कान्छी छिन्। उनले कलिलै उमेरमा तिमीलाई पहिलो सन्तानको रूपमा जन्म दिइन्। भर्खरै किशोर अवस्थामा प्रवेश गरेकी सोह्र वर्षीय कलिली ठिटीले तिमीलाई जन्म दिने कुरा भन्न जति सजिलो छ, उनले भोग्नु परेको कष्टलाई बोक्न हजारौँ शब्दहरू पनि कम पर्छन्।
वर्षैपिच्छे जसो गरी ४ सन्तानलाई जन्म दिनु, हुर्काउनु, खुवाउनु, लुगा धुनु, घरपरिवारलाई रिझाउनु गाई वस्तु पाल्नु त्यति सजिलो थिएन बाबु। ती सबै जिम्मेवारीहरू तिमीले दिएका परीक्षाहरूभन्दा निकै कठिन परीक्षाहरू थिए। न पढाइ न घुमाइ न मनोरञ्जन न व्यक्तित्व विकास, घर परिवारको दिक्क लाग्दो अनुत्पादक र झन्झटिलो काममा जीवनको सर्वाधिक महत्त्वपूर्ण समय बिताउने कुरा जीवनको कठिन उकालो यात्रा थियो।
तिम्रो आमाका पनि त रहर थिए होलान् जसरी अरू मानिसहरूका हुन्छन्। तर आफ्ना इच्छा, आकांक्षा रहरहरूलाई मारेर तिनै रहरका चिहानमाथि उभिएर आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य निभाउन उनी निरन्तर लागिरहिन्। अरूलाई खुसी बनाउँदा बनाउँदै आफू खुसी हुनै बिर्सेकी तिम्री आमाले कति बेला आफ्नो जीवनमा बैँस चढ्यो, कति बेला बैँस झर्यो पत्तै पाइनन्।
अवसर पाएका उनकै उमेरका साथीहरू जवानीको इन्द्रेणीमा मस्त रमाइरहेको बेला उनी भने काखभरि बच्चा अनि मस्तिष्कभरि जिम्मेवारीको भारी बोकिरहेकी थिइन्। तिमीले पढेका थुप्रै पुस्तकहरूको भारीभन्दा जिम्मेवारीको भारी निकै वजनदार र गह्रुङ्गो थियो बाबु।
बाबा बन्न पनि सजिलो त कहाँ छ र? पहाडी जनजीवन, बाटोघाटोको पहुँच नभएको समय। कुनै पेसा, जागिर, शिक्षा नभएको तिम्रो बुवालाई छोराछोरी पढाउन, लेखाउन पैसाको जोहो गर्ने कुरा पनि उत्तिकै चुनौतीपूर्ण थियो। मबाट धेरै कुराहरू नियतिले खोसे पनि छोराछोरीलाई राम्रो शिक्षा र राम्रो वातावरण दिनुपर्छ भन्ने चेतना ममा थियो। त्यही चेतनाले गर्दा त तिमीलाई एसएलसी पछि ऋण, धन गरेर काठमाडौँ पठाएँ।
देशको सबैभन्दा सुविधा सम्पन्न ठाउँ राजधानीमै पठाएर छोरो पढाउने मेरो रहर र सपना पूरा गर्न मैले आफ्ना थुप्रै रहर, चाहना र सपना बेच्नु पर्यो। मैले आफ्नो सपना किन्न कहिले ५० डिग्रीको गर्मीमा खाडी मुलुकमा गएर भेडा चराएँ, फर्केर आएपछि बाख्रा पालन गरेँ। त्यतिले मात्र पुगेन। कहिले किराना व्यवसाय, कहिले ऋण गर्दै तिमीलाई भाडामा बस्न, खान, पढ्न पैसाको जोहो गरिरहेँ।
तिमीले पनि निकै मिहिनेत गर्यौ। हामीले गरेको दुःख र मिहिनेतलाई तिमीले खेर जान दिएनौ। पढाइमा अब्बल बन्दै गयौँ। पढ्नु पर्ने जति सबै तहको शिक्षा पूरा गर्यौ। थुप्रै पुस्तकहरू पढ्यौँ, थुप्रै पुस्तकहरू लेख्यौँ। चाङका चाङ सर्टिफिकेट जम्मा पार्यौँ। विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययन पूरा गर्दा तिमीले थुप्रै मेडलहरू पनि जित्यौ। गर्नु पर्ने जति सबै गर्यौ बाबु। तिम्रो प्रगति देखेर हामीले आफ्ना सारा दुःखहरू बिर्स्यौँ। खुसीले गद्गद् भयौँ। हाम्रो शिर गर्वले अग्लो भयो, छाती चौडा भयो।
सबै कुरा सुन्दर तरिकाले चलिरहेको तिमीहरूको जीवनमा जब हामी प्रवेश गर्यौँ, त्यसपछि भने हामीले तिमीबाट थुप्रै कुराहरू सिक्ने मौका पायौँ। सन्तानको लागि आफूलाई सम्पूर्ण रूपमा सुम्पिनु हुँदैन, हरेक व्यक्तिलाई शंकासँगै विश्वास गर्नुपर्छ भन्ने कुरा सिक्यौँ। आफू सधैँ आर्थिक रूपमा बलियो बनेर बस्नुपर्छ भन्ने कुरा सिक्यौँ।
छोरा मात्र सम्पूर्ण हुन्, हाम्रा बुढेसकालका सहारा छोराहरू मात्र हुन् भनेर छोरीलाई अधिकारविहीन बनाउने कुरा एकदमै गलत थियो भन्ने कुरा हामीले महसुस गर्यौँ। मिठो-मिठो खानेकुराहरू तिमीलाई लुकाई लुकाई दिने कुराले मिठो खाने हक मेरो मात्र हो भन्ने कुरा तिमीले बुझ्यौ।
सानो सानो काम लगाउँदा पनि तिमीलाई गाह्रो हुन्छ भनेर हामी आफै कुद्यौँ। त्यसबाट तिमीले बुझ्यौ कि अप्ठ्यारो काम गर्ने दायित्व आमा-बुवाको मात्र हो। तिम्रो खुसीको लागि आफूलाई मेटेर, आफूभित्रको आफूलाई मारेर हामी जसरी लाग्यौँ, त्यो सायद गलत थियो बाबु।
सबै मानिसको आत्मामा भगवान् हुन्छन्, सबैलाई प्रेम गर्नुपर्छ भन्ने कुरा सिकाउन हामी चुक्यौँ। पढाइको सफलता मात्र सबै कुरा होइन, असल संस्कार सिक्ने कुरा त्योभन्दा पनि महत्त्वपूर्ण हो भन्ने कुरा सिकाउन हामी चुक्यौँ।
अहङ्कारले आफूलाई मात्र राम्रो देख्छ र अरूलाई नजरअन्दाज गर्छ, त्यसैले अहङ्कार पाल्नु हुँदैन भन्ने कुरा सिकाउन हामीले सकेनौँ। मानिस जो जस्तो छ, जुन रूपमा छ, उसलाई त्यही रूपमा स्वीकार गर्नुपर्छ भन्ने कुरा हामीले बुझाउन सकेनौँ। आफूले कति पाएँ भन्दा पनि आफूले कसैलाई कति दिन सकेँ भनेर आफूलाई छाम्नुपर्छ भन्ने कुरा हामीले बुझाउन सकेनछौँ।
आफूले गर्न सक्ने सहयोग र माया सबैलाई गर्नुपर्छ, जीवनलाई जटिल बनाएर होइन, सरल बनाएर जिउनु पर्छ भन्ने कुरा सिकाउन सकेनौँ।
तसर्थ तिम्रो मात्र दोष छैन बाबु, तिम्रोभन्दा बढी दोष हाम्रो थियो सायद। सन्तानलाई आवश्यकताभन्दा बढी विश्वास गर्ने कुरा पनि हाम्रो दोष थियो। तर एउटा कुरामा भने मलाई अचम्म लागिरहेछ बाबु। हामी अशिक्षित बुवा आमाले सिकाउन नसकेका कुराहरू तिमीले पढेका हजारौँ पुस्तकहरूले पनि सिकाउन सकेनछन् भनेर हामीलाई खेद छ।
आफूलाई जन्म दिने बुवा-आमाहरू पनि निश्चित उमेरपश्चात् सन्तानका लागि बोझ हुन्छन् भन्ने कुरा जानेको भए ठुलो भइसक्दा समेत आफू रित्तिएर किन तिमीहरूलाई भर्थ्यौँ र बाबु? दोष तिमीहरूको मात्र थिएन, हाम्रो पनि थियो। तिमीहरूलाई सहज वातावरणमा मात्र राखिरहनु, दुःखको आभास हुन नदिनु हाम्रो दोष थियो। जसले दुःख चिन्छ, उसले मात्र सुख चिन्छ र सुखको महसुस गर्न सक्छ।
तिमीहरू जस्तो छौ, त्यसमा तिमीहरू मात्र हैन हामी पनि दोषी छौँ। त्यसैले तिमी र तिम्रा सन्तानहरूसँग अब कुनै गुनासो त छैन तर हामीलाई एउटा कुराको भने चिन्ता छ बाबु। तिमीहरूले जुन संस्कार बुवा आमालाई देखाएका छौ, त्यो संस्कार तिम्रो छोराछोरीले तिमीलाई देखाए भने तिमीहरू धेरै दुःखी हुनेछौ।
हामी बाँचेछौँ भने तिमीहरूले पाएको त्यो दुःखमा हामी झन् धेरै दुःखी हुनेछौँ तर तिमीहरू दुःखी भएको हेर्न त हामी सायद नहुन सक्छौँ बाबु। त्यति बेला हाम्रो पार्थिव शरीरसँगै तिम्रो अहङ्कार, तिमीभित्रको संस्कार अनि पश्चात्ताप सबै सबै जलाइदिनु ताकि तिम्रो सन्तानका कारण तिमीहरूलाई कुनै पनि खालको दुःख नहोस्।
उही तिम्रो सधैँ भलो चाहने
तिम्रो बुवा।