किनकी म सरकारी जागिरे थिइनँ! भाग- २
हेला र श्रीमान्ले दिएको पीडा सहन नसकेर घर छाडेकी ऊ कसैको सम्पर्कमा आइन। अहिलेसम्म उसको अत्तोपत्तो छैन। सरकारी जागिरे ज्वाइँको भूतले न छोरी खुसी भई न बा खुसी हुन सके। छोरीको न श्वास भेटियो न लास। कहाँ होली मेरी प्यारी प्रकृति?
दिनहुँ मेरो मनमा यही कुरा खेल्यो, कहाँ होलिन् त मेरी प्यारी प्रकृति? आफ्नो जिन्दगीकै पहिलो प्रेम भएर होला कहिल्यै बिर्सन सकेको थिइनँ। हरेक दिन हरेक साँझ ऊसँग बिताएका पलले मलाई झस्काइरहन्थ्यो। दिनहुँ उसको फोटो हेरिरहन्थेँ।
मोबाइलको लक स्क्रिनदेखि होमस्क्रिन उसकै फोटाले सजिएका थिए। भनाइ नै छ नि- १२ वर्षमा खोलो फर्किन्छ। उसै गरी कुनै दिन प्रकृतिसँग पक्कै भेट हुन्छ भन्ने आसमा बितेको थियो समय। प्रकृतिलाई नसम्झेको कुनै पल थिएन।
प्रकृतिसँगको प्रेम असफलपछि भाव विह्वलमा प्रदेश हिँडेको पनि आज ठ्याक्कै तीन वर्ष पुगेछ। बिस्तारै घर जाने दिन आउँदै थियो तर आजसम्म प्रकृति कहाँ छे, के गर्दै छे, कुन हालतमा छे,, जिउँदै छे, कि छैन भन्ने कुनै ठेगान थिएन।
कुनै बेला लाग्थ्यो, मैले लोक सेवा नपढी किन व्यापार अँगालेको होला? यदि लोक सेवा पढेर सरकारी जागिरे भएको भए आज ५० डिग्रीको मरुभूमिमा नभई घुमाउने कुर्सीमा काम गर्दै प्रकृति र आफ्नो परिवारसँगै नेपालमा हुन्थेँ। यदि म सरकारी जागिरे भएको भए पक्कै हाम्रो बिहे हुन्थ्यो,
यस्तै यस्तै सोचले झस्काउँथ्यो।
‘जे भाग्यमा छ त्यो भागेर पनि आउँछ, जे भाग्यमा छैन त्यो आएर पनि भाग्छ’ यस्तै सोचेर चित्त बुझाउँथेँ। अनि फेरि सोच्थेँ, साँचो माया कहिल्यै मर्दैन, धर्ती गोलो छ एक दिन प्रकृतिसँग कसो भेट नहोला र?
यो तीन वर्षमा प्रकृतिको मात्र होइन उसको परिवारको पनि कुनै अत्तोपत्तो थिएन। म एउटा जिउँदो लास सरी विगत तीन वर्ष प्रदेशमा कटाएको थिएँ। यो ठाउँ बिरानो भए पनि मेरा लागि शान्त र एउटा औषधि थियो।
अब घर जाने दिन नजिकिएको थियो। एक मन बुवाआमासँग भेट हुन्छ भन्ने खुसी अनि अर्को मन प्रकृतिसँग हिँडेका ती गाऊँ, पाखा, खोलानाला देख्दा मन फेरि बिग्रने हो कि भन्ने चिन्ता मनमै थियो। तर पनि म बुवाआमाको एक्लो सहारा थिएँ। त्यसैले पनि म नेपाल फर्कनै पर्ने थियो।
बुढा बाआमाको मबाहेक अर्को सहारा नभएका कारण मैले बिहे गर्नुपर्ने बाध्यता थियो तर प्रकृतिबाहेक अरूसँग बिहेको कल्पना समेत गर्न सक्दिन थिएँ।
घर जाने दिन पनि आएछ। म तीन महिने छुट्टी लिएर नेपाल जाने तयारी गर्दै थिएँ। प्रकृतिले दिएका उपहार/कपडा जतन गरी राखेको थिएँ। तिनै ड्रेस लगाएर नेपाल फर्किएँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्दै गर्दा मेरो पर्खाइमा बुवाआमा बाहिर कुरेर बस्नुभएको रहेछ। बुवाआमासँगै प्रकृति पनि आएको भए कति खुसी हुन्थेँ होला! यो मनमा अझै उसकै याद मात्र आइरहने, उफ् मन न हो!
बुवाआमालाई ढोग गरी ट्याक्सीमा उहाँहरू बसेको नयाँ बसपार्कको होटेलमा पुग्छौँ। त्यो दिन त्यही बसेर भोलिपल्ट भैरहवाको बसमा चढ्छौँ। भुइँमा छुँदा पनि धुलो नलाग्ने चिल्ला सडकमा हिँडेको बानी नेपालका सडक देख्दा यो देश कहिले बन्ला भन्ने चिन्ता एकातिर तर जेजस्तो भए पनि आफ्नो जन्मभूमिभन्दा सुन्दर र प्यारो त्यो चिल्लो सडक अनि गगनचुम्बी भवन भएको प्रदेश थिएन।
नागढुङ्गाबाट बस ओरालो लागेपछि बुवाआमासँग पुनः भलाकुसारी हुँदै हामी अगाडि बढ्यौँ। साँझ ५ बजे घर पुग्दा छुट्टै आनन्द आयो अनि उनको याद अझ बढी। बाटोमा आउँदै गर्दा मैले प्रकृतिको बाबाको मृत्यु भएको खबर पनि थाहा पाएँ।
मेरा लागि उहाँले नराम्रो सोचे पनि मैले मेरो बुवा समान मानेको हुँदा उहाँको मृत्युको खबरले मलाई निकै गाह्रो भयो। त्यसपछि उनकी आमा र भाइको अवस्था पनि निकै कमजोर हुँदै गएछ, भाइलाई पढ्नसमेत आर्थिक अवस्थाले गाह्रो भएको कुरा मेरी आमाले गर्नुभएको थियो।
घर आएको पनि तीन हप्ता भइसकेछ। घर गइसकेपछि ठुलोबुवा-ठुलीआमा, काका-काकी, मावली सबैतिर भेटघाट गर्न जानुपर्ने। म कहिले कसकोमा कहिले कसकोमा भेटघाटका लागि निस्कन्थेँ। यही क्रममा धेरै जस्तो सोधिने प्रश्न थियो- ‘बाबु, कतिको छुट्टी आयौ? अब त यही छुट्टीमा बिहे गर्ने होला नि।’ मै
ले नम्र हुँदै उत्तर दिन्थेँ, ‘जुरेको रहेछ भने गरौँला नि।’
तर प्रकृतिबाहेक यो जुनीमा कसैसँग मेरो बिहे नजुरोस् भनेर मैले भगवान्सँग प्रार्थना गरिरहेको थिएँ।
अब त बाहिर जाँदा मात्र होइन घरमा पनि बुवाआमाले ‘अब बिहे गर्नपर्छ बाबु’ भन्दै कुरा उठाउन थाल्नुभयो। मेरो मनमा बिहे गर्ने सोच र रहर नै थिएन। मैले हुँदैन अहिले गर्दिनँ भन्थेँ।
बुवा भन्नुहुन्थ्यो- ‘हामीलाई थाहा छ तँ अझै प्रकृति नै सम्झिन्छस् तर ऊ हराएको पनि यतिका वर्ष भइसक्यो। जिउँदै भएको भए त आमा भेट्न नि आउनु पर्ने हो। खै अत्तोपत्तो छैन। कति उसैलाई सम्झिन्छस् बाबु?’
मेरा बुवाआमा मेरा अभिभावक मात्रै होइन, उहाँहरू मेरो साथी जस्तै हुनुहुन्छ। बुवाको कुरामा हो मा हो थप्दै आमाले पनि सम्झाउनु हुन्थ्यो।
‘हामी पनि दुवै जना रोगी छौँ, बिरामी हुँदा पानी तताएर खान दिने मान्छे पनि छैन, अब तैँले बिहे गर्नै पर्छ बाबु,’ आमाले पनि यति भनिसकेपछि उहाँहरूको खुसीका लागि पनि मैले बिहे गर्नुपर्ने थियो।
मेरो बिहेका लागि धेरै तिरबाट कन्याका कुरा आइरहेका थिए। यही क्रममा एक दिन बुवाको जिद्दीमा केटी हेर्न जाने कुरा भयो। हामी घरबाट दुई घण्टा टाढा बुटवल नयाँ गाउँ पुग्यौँ।
तीन भाइकी एक्ली बहिनी, पारिवारिक खानदान निकै राम्रो। भर्खरै ब्याचलर सकेकी। झट्ट हेर्दा उसको अनुहारमा प्रकृति देखिन्थी तर ऊ अरू नै थिई। निकै सम्पन्न परिवार रहेछ। दाइजोमा लाखौँ नगदसहित घडेरी दिने कुरा हुँदै थियो तर मलाई प्रकृतिभन्दा माथि कुनै चिज मूल्यवान् थिएन।
बिहे हुने लगभग पक्कापक्की भइसकेको थियो। केटाकेटीलाई एकान्तमा गफ गर्न पठाउने तयारी भयो। हामी बैठक कोठाबाट भर्याङ चढी माथिल्लो तलाको कोठातिर लाग्यौँ। मैले मेरो विगत सबै सुनाएँ, म अझै पनि प्रकृतिबाहेक अरूसँग जिन्दगी बिताउन नसक्ने कुरा सुनाएँ। उनी पनि निकै भावुक बन्दै आफ्ना कुरा बताइन्।
चार वर्षको प्रेम सम्बन्धलाई परिवारले स्वीकार नगरेर मसँग बिहे गराइदिने तयारी गरेका रहेछन्। उनको कुरा सुन्नासाथ उनीहरूको प्रेम छुटाउन हुँदैन भन्ने सोचेर नै मैले उनलाई साथ दिने बाचा गरेँ। मेरो प्रेम असफल भए पनि उनको प्रेम असफल हुन दिने थिइनँ। उनलाई म बिरामी र मलाई उनी बिरामी रहिछे भन्ने झूटो कुरा गरेर दुवै जनाको सल्लाहले हामीले बिहे रोक्यौँ। हाम्रो बिहे नहुने पक्का भयो अनि मेरो मन चंगा भयो।
अब घरमा अन्त केटी हेर्न जाने कुरा हुँदै थियो तर मलाई बिहे गर्ने मन पटक्कै थिएन। बुवाआमालाई सम्झाउँदै भनेँ, ‘हजुरहरू पिर नलिनोस्, म हजुरहरूलाई छाडेर विदेश जान्नँ। म यहीँ केही गर्छु, भर्खर २७ पुगेको छु, अब २/३ वर्षपछि मात्र बिहे गर्छु।’
यति भनेपछि छोरो साथमै हुने भयो भनेर बुवाआमा खुसी हुनुभयो। उहाँहरूलाई दिएको वचनअनुसार मैले पुरानै व्यवसाय सुरु गर्ने निर्णय गरेँ।
आफूसँगको सिप र आइडिया दुवै भएकाले पुनः मोबाइल पसल सञ्चालन गर्ने निर्णय गरेँ र पहिलाभन्दा अझ मुख्य व्यापारिक ठाउँ हेरेर राम्रै लगानीमा पसल सुरु गरेँ। व्यापार पहिलाको भन्दा यो पालि राम्रो हुँदै गएको थियो।
एक्लैले व्यवसाय सम्हाल्न गाह्रो भएकाले एक जना स्टाफ राख्नुपर्ने थियो। उता गाउँमा प्रकृतिको भाइ पनि भर्खरै १२ को परीक्षा दिएर फाल्तु बसेको थियो। अब योभन्दा माथि अध्ययन गर्न उसको पारिवारिक आर्थिक अवस्थाले सक्ने थिएन। त्यही कारण अरू राख्नभन्दा मैले उसैलाई काम पनि सिकाउने र उसको पढाइलाई पनि निरन्तरता दिने निर्णयले उसका आमासँग सल्लाह गरी भाइ प्रतिकलाई बुटवल झारेँ।
बिहान कलेज जान्थ्यो, दिउँसो मसँगै पसलमा सहयोग गर्थ्यो। यसै गरी हामीले दुई वर्ष खुब मेहनतले पसल सञ्चालन गर्यौँ। खुद्रा पसललाई होलसेल पुर्यायौँ। लाखको लगानी करोडमा पुग्यो। अब प्रतिक आफै साहु जस्तो बनेको थियो। उसको जिम्मामा मैले हप्तौँ पसल छाडेर हिँड्न सक्ने भइसकेको थिएँ।
उसलाई मोबाइल मर्मतदेखि व्यापार गर्ने सबै आइडिया मेराभन्दा बढी भइसकेको थियो। पसलमा दुई जना स्टाफ पनि थपिएका थिए। थप अर्को ठाउँमा पसलको शाखा विस्तार गरी दुईतर्फी सेवा सुरु गरेँ। प्रतिक यति जिम्मेवारी र लगनशील भएको देख्दा आफूलाई गर्व लाग्थ्यो।
यससँगै व्यवसाय सुरु गरेको पनि चार वर्ष पुगेछ। प्रतिकको स्नातक तह पनि सकिँदै थियो। व्यवसायसँगै म सामाजिक कार्यमा पनि सक्रिय थिएँ। विभिन्न क्लबमा आबद्ध भएर गरिब दुःखीका लागि सहयोग गर्दै आएको थिएँ।
क्लबको सदस्यदेखि अध्यक्षसम्मको कार्यभार सम्हाल्ने जिम्मा पाइसकेको थिएँ। बाबुआमालाई बिहे गर्छु भनेर दिएको समय पनि दोब्बर भइसकेको थियो। अब त उहाँहरूलाई अझ समय दिनुस् भन्ने अवस्था नै थिएन।
प्रकृति हराएको झन्डै ८ वर्ष भएछ। ऊ भेटिने आस शून्य नै थियो तैपनि मनमा आशा चाहिँ १०० प्रतिशत थियो। मन नहुँदा नहुँदै पनि जन्मदिने बुवाआमाको आँसु देख्न नसकेर बिहे गर्ने अवस्थामा पुगेको थिएँ। क्लब अनि पसलको जिम्मेवारी थप उचाइमा थियो। दुईतिर व्यवस्थापन गर्न निकै गाह्रो तैपनि म लागि परिरहेकै थिएँ।
दसैँ तिहारको बिचमा पहाडी र हिमाली दुर्गम गाउँमा जाडोका कपडा र केही खाद्यान्न वितरणका लागि जाने तयारी थियो। सोहीअनुसार हामीले करिब १५ दिनका लागि बुटवल छाड्यौँ। यो ठुलो धनराशिको सहयोग थियो।
हामीले करिब २००० भन्दा बढी घरपरिवारलाई सहयोग गरेका थियौँ। यही कारण पनि होला मेरो नेतृत्वमा गएको हाम्रो क्लबले सहयोग गरेका कारण हरेक वर्ष सरकारबाट सम्मानित हुने दुई व्यक्ति एक महिला र एक पुरुष मध्येबाट पुरुष तर्फबाट मेरो नाम परेको रहेछ।
मलाई विश्वास नै लागिरहेको थिएन। यो कार्यक्रम तिहार लगत्तै काठमाडौँमा तय गरिएको रहेछ। तर पुरस्कार पाउने महिला को भनेर थाहा थिएन तर चिन्न म निकै आतुर थिएँ। एकदमै खुलदुली थियो, को होलिन् ती अब्बल र मनकारी महिला?
यो कुराले बाबुआमा निकै खुसी हुनुहुन्थ्यो। उहाँहरूका हर्षका आँसु बग्न थाले। यस्तो खुसीको पलमा कहाँ रुने हाँस्नुपर्छ भन्दै उहाँहरूलाई अरू कुराले हँसाउन थालेँ। राष्ट्रपतिबाट सम्मान पाइस् भने केटी त जति पनि पाइन्छन् भन्दै बुबाले जिस्काउनु हुन्थ्यो।
बिहान ७ बजे काठमाडौँ जान हामी बस चढ्यौँ। बाटो बनाउन सुरु गरेको छ वर्षसम्म पनि बुटवल नारायणगढको बाटाको अवस्था बिजोग थियो। उता मुग्लिङ काठमाडौँको पनि अवस्था उस्तै। यही कारण राति ९ बजे मात्रै थानकोट दिदीको घरमा पुग्यौँ।
भाइ यसरी सम्मानित हुँदै छ भन्ने थाहा पाएर स्वागतका लागि दिदीले पहिले नै खादा माला लिएर हामीलाई कुरिरहनु भएको थियो।
भोलिपल्ट बुवाआमा, दिदी-भिनाजुसहित पशुपति दर्शनका साथै अन्य ठाउँ घुमघामका लागि निस्क्यौँ। अर्को दिन सम्मानित हुने कार्यक्रम थियो, त्यसैले हामी छिटै घुमघाम सकेर दिदीकै घर फर्कियौँ।
पर्सिपल्ट बिहान सबेरै उठेर बुवाआमा नित्यकर्मतिर लाग्नुभयो। दुइटी दिदी भान्सामा, भिनाजु म नुहाई धुवाइतिर लाग्यौँ। हामीसँगै जाने भनेर भाइ र भान्जाहरू पनि खुसी हुँदै थिए।
खाना खाएर सबै जना कार्यक्रम स्थानतर्फ लाग्यौँ। त्यहाँ पुग्दा सबै तयारी सकिएको थियो। राष्ट्रपति, प्रधानमन्त्री विभिन्न मन्त्रीलगायत उच्चस्तरीय व्यक्तिहरूको बाक्लो उपस्थिति थियो।
गएको १० मिनेटपछि कार्यक्रम सुरु भयो। माहौल रमाइलो थियो। एकातिर आफू सम्मानित हुने कुराले मन हर्षित थियो, अर्कातिर मसँगै सम्मानित हुने महिलालाई देख्न मन आतुर थियो।
यत्तिकैमा मसँगै महिलालाई पनि मञ्चमा निमन्त्रणा हुन्छ। म गए लगत्तै उहाँ पनि मेरो पछाडि-पछाडि मञ्चमा आउनुहुन्छ। खै किन हो यत्रो सम्मानित कार्यक्रममा पनि उहाँ मास्क लगाएर आउनुभएको थियो। हामी दुवै जना एकै ठाउँमा उभिइरहेका थियौँ।
सम्मानित हुँदै गर्दा राष्ट्रपतिले ‘मास्क खोलेर यो ठुलो हृदय भएको मुहार सबैसामु देखाउन आग्रह गर्नुभयो। उहाँ को होला भनेर जान्ने मेरो अन्तिम प्रतीक्षाको घडी पूरा हुँदै थियो। जब अनुहारको मास्क हट्छ, केही सोच्नै सक्दिनँ म। संसार फनफनी घुमे झैँ, संसार उल्टिए झैँ लाग्छ।
ती महिला अरू कोही नभएर मेरी प्यारी प्रकृति थिइन्। ८ वर्षसम्म हराएकी मेरी प्रकृति। सपनामा पनि सोचेको थिइनँ, उनी यसरी भेटिएलिन्। उनी मेरा अगाडि हुँदा खुसीको आँसुले होला केही बोल्नै सकिनँ।
म कुनै मञ्चमा छु भन्ने पनि हेक्का भएनछ। म प्रकृतिलाई अंगालेर रुन थालेँ। कार्यक्रममा उपस्थित सबै जना दंग परे। कतिले त मेरो जीवन कथा पढेर अन्दाज लगाउनु भएको रहेछ। यत्तिकैमा आँसु पुछ्दै हामी कार्यक्रम अगाडि बढाउन आग्रह गर्दछौँ।
हाम्रो त्यो अचम्मको अवस्था देखेर हाम्रो केही कहानी सुनेर मात्र सम्मान गर्ने रहर राष्ट्रपतिले गरेपछि मैले केही मुख्य कहानी सुनाएँ। हामी दुवै जना सम्मानित भयौँ। प्रकृति र म मात्रै होइन हाम्रो कहानी सुनेर त्यहाँ नरुने कोही थिएन।
मरिसकेको आस पुनः जीवित हुँदा खुसी नहुने को होला र यो दुनियाँमा?
कार्यक्रम सकियो, प्रकृतिलाई पनि दिदीकोमै जाने प्रस्ताव गरेँ। उनी जान असहज महसुस गर्दै थिइन् तर सबैले कर गरेपछि हामी दिदीकै घर थानकोट गयौँ।
केही बेर प्रकृति र म छतमा गएर कुरा गर्यौँ। प्रकृतिले आफ्नो विगत सुनाउन लागिन्—
घरबाट मर्छु भनेर हिँडेकी उनी पेटमा सन्तान भएकै कारण बच्चाकै लागि भए पनि बाँच्नुपर्छ भन्ने अठोटका साथ पोखरा झरिछन्। केही समय होटेलमा भाँडा माझेर बसेकी ऊ पछि गर्भवती भएका कारण त्यहाँ कामबाट निकालेपछि आफूसँग भएको केही पैसाले काठमाडौँ छिरिछन्। काठमाडौँमा पनि त्यही दुःख, संघर्ष झन् बच्चा जन्मिने बेला भएपछि काम गर्न नसक्ने अवस्था भएर उनको सडक पेटी तथा प्रतीक्षालयमा बास हुन थालेछ।
‘पाप नगर्नेलाई भगवान्ले हात थाप्छन्’ भने झैँ उनी सडकपेटीमा प्रसव पीडाले छटपटिइरहेका बेला एक जना मानव सेवा आश्रममा कार्यरत दिदीले देखेर हस्पिटल लानुभएछ। नर्मल डेलिभरी भएपछि उनै दिदीको सहयोगमा आश्रममा बस्ने वातावरण मिलेपछि त्यही बस्न थालिछन्। त्यही आश्रममा काम गर्दै उनी स्थायी कर्मचारीमा नियुक्त भएर विभिन्न सामाजिक संस्थामा संलग्न भई सडक बालबालिकादेखि गरिब दुःखीका हकहितका लागि दिनरात नभनीकन सेवामा खटिन थालिछन्।
अहिले त उनी ठुलै विदेशी संस्थाको नेपाली शाखा प्रमुखका रूपमा काम गरिरहेकी रहिछन्।
उनले नाम परिवर्तन गरेकाले मैले चिन्न सकिनँ। उनको फोटोबिना नाम मात्रै राखेर समाचारहरू आउँथे। सम्मानित हुने लिस्टमा मेरो नाम देखेपछि उनले मेराबारेमा निकै सोधिखोजी गरेकी रहेछिन्।
यसरी ८ वर्षमा निकै संघर्ष गरेर उनी अहिले यो स्थानसम्म आइपुगेकी रहिछन्। उनलाई मेरो बिहे भइसकेको जस्तो लागेको थियो रे तर म उनकै प्रतीक्षामा बसेको कुरा सुनाएपछि उनका आँखाबाट बरर खुसीका आँसु बर्सन थाले।
लगत्तै उनी फेरि दुखी हुँदै भन्न थालिन्, ‘हामी अब एक हुन सकौँला र?’
उनको यो प्रश्नले निकै दुखी बनायो र उनलाई उत्तर नदिई पुनः प्रश्न सोधेँ, ‘किन तिमीलाई सम्भव लाग्दैन र?’
उनले भनिन्, ‘म विवाह भएर श्रीमान्सँग छुटिएकी नारी अनि सात वर्षकी छोरी जसलाई अविवाहित पुरुष अनि समाजले स्वीकार गर्ला त?’
यस्तै यस्तै लामो कुरापछि मैले बुवाआमालाई नै बोलाएर सबै कुरा सुनाएँ। मेरो कुरामा उहाँहरू खुसी भई सहर्ष स्विकार्नु भयो।
‘जिन्दगी बिताउने तिमीहरू दुई जनाले हो, समाजको पनि डर नमान। तिमीहरू खुसी छौ भने म धूमधामले बिहे गराइदिन्छु अनि प्रकृतिलाई बुहारी बनाएर भित्राउँछु।’
बुवाको यो कुराले प्रकृतिको निराश मुहारमा खुसीको किरण पैदा हुन्छ।
मेरो मन पनि ढुक्क भयो तर उता प्रकृतिको घरमा उनी भेटिएको थाहा थिएन। मैले पनि प्रतीकलाई यो कुरा सुनाएको थिइनँ। उसले समाचार हेर्न भ्याएनछ क्यारे हामी दुई सम्मानित भएको। प्रकृतिको कामको चाँजोपाँजो मिलाएर पर्सिपल्ट हामी घर फर्कने निर्णय गर्यौँ।
घर पुगेको भोलिपल्टै हामी प्रकृतिको घर गयौँ। विगत ८ वर्षदेखि हराएकी छोरी आँखाअगाडि देख्दा आमाले विश्वास नै गर्न सक्नुभएन। उहाँ छोरीलाई अँगालो हालेर रुन थाल्नुभयो। झन् नातिनी देख्दा आमाका खुसीका आँसु बर्सन थाले।
आमालाई सबै कुरा बतायौँ। एकातिर छोरी भेटिएको खुसी थियो त अर्कातिर छोरीले भोगेका पीडा सुन्दा आमा भक्कानिनु हुन्थ्यो। अब छिट्टै बिहे गर्ने कुरा सुनाएपछि आमा झन् खुसी हुनुभयो। तर समाजले के भन्ला बाबु भनेर पिर गर्नुभयो।
मैले भनेँ, ‘मैले समाज परिवर्तन गर्नुपर्छ आमा, समाजलाई देखाउनुपर्छ अनि अरूले पनि सिकुन्।’
बिहेका लागि आमा पनि राजी हुनुभयो।
मंसिरको दोस्रो हप्तालाई लगन निकालेर बिहेको तयारीमा जुट्यौँ। कुरा काट्नेको मुखमा मासुभातको बुझो लगाएर बुबाले भनेझैँ धूमधामले बिहे गर्यौँ। हाम्रो बिहेमा धेरै खुसी थिए। कोही थिए ‘जस्ती भन्यो त्यस्तै केटी पाउँथ्यो, छोरीसितकी आमा के बिहे गरेको होला’ भन्ने पनि। मैले कुनै कुराको प्रवाह गरिनँ।
हाम्रो धेरैले प्रशंसा पनि गरे। प्रकृति त झन् मेरो पहिलो प्रेम, म उनलाई सातै जन्म कुर्न सक्थेँ, यो ८ वर्ष त के हो र?
ऊ मेरी पहिलो प्रेमिका, ऊ बिना जिन्दगी अन्धकार थियो। त्यसैले पनि मैले उनको पहिलो बिहेको कुनै वास्ता गरिनँ। लाग्थ्यो, सायद हाम्रो मिलन अनि बिहे देखेर भगवान् पनि खुसी हुनुभएको होला।
यहाँ हाम्रो मायाको जित भयो, हामी एक भयौँ। हाम्रो ८ वर्षे अन्धकार जीवनमा बिहानको उदाउँदो सूर्यको किरण जस्तै उज्यालो सुरु भयो। समाजको लागि एक उदाहरणीय पात्र बनेको छु।
हामी खुसी छौँ, प्रकृति र म आआफ्नो जिम्मेवारीमा छौँ। फेरि छिट्टै दोस्रो पटक बाबुआमा बन्दै छौँ। त्यसैले अहिले हाम्रो परिवार समृद्ध परिवार सुखी परिवार छ।