म सहिद हुँ
मलाई बिर्सिनु भएछ 
यो देशको लागि भनेर 
बलीमा चढेको थिएँ
साँच्चिकै यति छिट्टै 
मलाई बिर्सिनु भएछ।
हुन त म नाथे 
मैले देश लुट्नु पर्थ्यो
गरिबको काँधमा चढेर सत्ता छोप्नु पर्थ्यो 
दश पुस्ता पुग्ने अचुक सम्पत्ति कमाउन सक्नु पर्थ्यो 
तर सकिनँ!
म मात्रै सहिद हुन सकेँ
फगत, यो देशको लागि सहिद हुन सकेँ।
मलाई बिर्सिनु भएछ 
म त्यही लखन थापा हुँ
जसलाई प्रथम सहिद भनेर नाम दिइएको छ 
हो, म त्यही सुब्बा कृष्णलाल हुँ
किताब लेखेकै कारणले 
म सहिद भएको थिएँ 
सहिद भएर मारिएको हैन
मलाई अपराधी बनाएर मारेका हुन्
तर म सहिद भएछु 
फगत सहिद दिवसको लागि।
अब म हैन, हामी भएका छौँ
९७ साल माघ महिनामा
कति ठुलै अपराध गरेको आरोपमा
हेर न
सहिद दशरथ चन्द बनाइयो
शुक्रराज शास्त्री भनेर नाम दिए
धर्मभक्त माथेमा, उता मलाई गंगालाल श्रेष्ठ 
भन्दै सहिद घोषित गरे।
म आज अलमल्ल छु 
यो देशको अवस्थाले 
मलाई सहिद भएर पनि बाँच्न दिएको छैन 
मिल्ने भए एक पटक फेरि 
सहिद हुने ध्येय बोकिरहेको छु 
तर सकिन्न थाहा छ 
म जन्मे पनि अब सहिद हुने छैन 
भ्रष्टाचारी, लुटतन्त्रकारी, मात्रै लाचारी हुने छु
यो देशको लागि हैन 
म आफ्नै लागि मर्ने छु सायद
मलाई सत्ता लिप्साले झन् 
निरङ्कुश र तानासाह बनाउने छ
म सहिद हुँ कसरी भनूँ 
मलाई बिर्सिनु भएछ।
मैले कहिले म भनिनँ
मेरो भनिनँ, हाम्रो भनेँ, यो देशको भनेँ
तर आज सबैले भाग लगाएछन् 
फेरि हामीले ऊ बेला हटाएका 
छोटे राजाहरूको मनोमानी 
एकातिर आकाश छुनै लागेको छ 
अर्को तिर दुखी जनता
फेरि म जस्तै, हामी जस्तै 
सहिद हुने पङ्क्तिमा उभिएका छन् 
म कसरी मलाई परिचय गराऊँ
दोधारामा परेको छु 
मात्रै सहिद दिवसमा सम्झिनेहरूलाई
कसरी भनूँ कि म सहिद हुँ भनेर।
अबको भावी पुस्ताले त 
पक्कै भुल्नेछन् 
आज भित्तामा सम्म रहेका हामीहरू
बिस्तारै विलीन हुनेछौँ 
जसरी कुनै दिन शरीरबाट
भएका थियौँ 
हाम्रो अस्तित्व सारा सकिनेछ 
माटो भएर, धुवाँ भएर, धमिलो पानी भएर
अब भन म कसरी भन्न सक्छु
एक सहिद हुँ भनेर।