जिजुबाजे भन्नुहुन्थ्यो—
चैतको जाडाले गोरु बेचेर सिरक किनेको कुरा
त्यो तपाईंले सुन्न पाउनु भो?
सुन्नु भएन होला।
‘बलियो बाङ्गो बाघलाई, लुते लाङ्ग्रे माघलाई’ त
हजुरआमा नै पटक-पटक दोहोर्याउनु हुन्थ्यो
त्यो त पक्कै सुन्नु भएको होला।
भीमनिधिको ‘काँप्यो लुगलुग त्यो...’
पढ्नु भयो कि पढ्नु भएन?
नभए खोजेर पढ्नु भए हुन्छ
त्यस कविताको प्रारम्भ नै
‘महिना माघ थियो’ बाट भएको छ
माघ धुनी बाल्ने महिना हो
माघ कौसीमा घाम ताप्ने महिना हो
तपाईंले सम्राट् उपाध्यायलाई
अन्तर्वार्तामा सुन्नु भएन र!
मौसम विभागले दैनिक तापक्रमको विवरणमा
जेसुकै भनोस्
हिँड्दा पसिना आउँछ भने आओस्
दिउँसो जतिसुकै चर्को घाम लागोस्
सिरक बाँध्ने हतार नगर्नुहोस्
ज्याकेट/स्विटर थन्क्याउने पनि समय भएको छैन
कृपया, हाफसर्ट/टिसर्ट लगाएर सडकमा ननिस्किनुहोस्—
माघको मानहानि हुन्छ
माघ प्रारम्भ भएको केही दिन भयो
माघ सकिएको छैन।