लेजेन्ड फत्तेमानको फ्यान उनी इन्स्टाग्राम स्टोरीमा उनका कालजयी गीतहरू कभर गरिरहेकी थिइन्। ‘पर लैजाऊ फूलहरू’ को मिठो सुरमा उनको मनमोहक प्रस्तुति झन् झल्किरहेको थियो। बिहान मस्त निद्राबाट ब्युँझिएर ‘म उठेँ है’ लेख्न खोज्दै गर्दा उनको स्टोरीमा आँखा पुग्यो। म अडिएँ, हेरेँ अनि केही बेर हराएँ।
मन परेको मान्छेको हरेक क्रियाकलाप झन् आकर्षक लाग्ने, उनका हरेक कुराले हृदय छुने। उनले प्रस्तुत गरेको वियोगी गीतको पङ्क्तिमा मैले बिना रोकावट प्रेमिल ‘लभ स्टिकरहरू’ थिचिरहेँ, जसरी मनभित्र उनका यादहरूले ठाउँ बनाउँदै गएका थिए। म बाध्य भएँ लेख्न, ‘उठ्न त मनै छैन बेब।’
उनीप्रतिको मेरो निश्चल भावना शब्दहरूमा अड्किरहेको थियो तर मनले भने थप बोलिरहेकै थियो।
मैले बिहान घरका अनेक काम सकेँ र कामका लागि आवश्यक तयारी पूरा गरेँ। ‘काममा निस्केँ है’ भनेर मेसेज लेखेँ र बाटो लागेँ। सोचेँ, म आफ्नो दिनचर्यामा व्यस्त छु तर मेरो मन कतै उनी तिरै अल्झिरहेको छ।
काममा पुग्ने क्रममा अचानक थप जिम्मेवारी पर्यो। त्यसैले अर्को बाटो समात्नु पर्यो, जसले अफिस पुग्न केही समय ढिला गराउने भयो। मनमनै सोचिरहेँ, उनी आफ्नो काम सकेर घर फर्किँदै होलिन् म भने भर्खर अफिसतिर हिँडिरहेको छु। हाम्रो समयको यो बेमेलले जीवनका दुई अलग धारहरूलाई झल्काइरहेको थियो तर हरेक पल, ती धारहरू कतै न कतै एउटा बिन्दुमा जोडिनुजस्तै लाग्थ्यो।
हुन त ‘निस्केँ है’ लेख्नुअघि मैले लामो मेसेज टाइप गरेको थिएँ तर त्यो मेसेज पठाइनँ। बरु मेसेजमा लेखेको थिएँ।
‘वेलकम टु होम महारानी, आफ्टर टुवेल आवर। तातो पानी थर्मसमा छ, टेबलमाथि राखेको छु। साँझ खाने औषधि न्युजपेपरमा बेरेर र्याकमा राखेको छु। तरकारी पकाएँ, पास्ता बनाएर हजुरलाई हटकेसमा राखिदिएको छु, ओभनमाथि छ। म आफूलाई पनि लिएर कामतिर लागेँ। कपडा उठाउन गएको थिएँ तर सुकेको रहेनछ, बिहान म आफैँले धोएको हुँ। हजुरका मेकअपका सामान दराजको तल्लो तलामा राखेको छु। टेबलभरि सबै छरिएको थियो, मिलाएँ। निलो सारी ह्याङ्गरमा छ, ब्लाउजमा सेतो रङ लागेको देखेँ तर धुन पर्ने होइन। पिठो होला, अस्ति गालामा दल्दा लागेको।
चना भिजाएको छु, प्याज र खुर्सानी काटेर फ्रिजमा राखेको छु। बिहान चटपटे बनाएर खानुहोला, मलाई पनि राखिदिनु। आलु भने पकाएको छैन। तरकारी सकिन लागेको छ, म भोलि घर आउँदा लिएर आउँछु। मोबाइल चार्ज गर्न एक्सटेन्सन बेडमुनि पुछारतिर राखेको छु, भ्याक्युम गर्दा त्यता सारेको बिर्सेछु, खोज्दा नपाउनु होला। यत्ति भनेपछि गाली नखाइएला नि।
वलिभ ओइल सकिनै लागेको छ। हजुरको खुट्टा पोल्छ भने लगाएर सुत्नुहोला। बिदामा म आफैँ मालिस गरिदिउँला। अनि हजुरको पिरियडको डेट नजिकिँदै रहेछ, पाँच दिन बाँकी छ। क्यालेन्डरमा गोलो लगाइदिएको छु। बिदाको दिन हस्पिटल जानुपर्ने छ। हजुरका लागि प्याड सकिएको छ, ल्याउनु पर्ने होला। हजुर घर पुग्ने बित्तिकै मेसेज लेख्न नबिर्सिनु होला।’
मैले यो सबै टाइप गरेँ तर अन्तिममा त्यो पठाउन नसकीकन ‘काममा निस्केँ है’ भन्ने छोटो मेसेजमा सीमित भएँ। त्यो छोटो मेसेजले ती सबै भावना र ख्यालका कणहरू समेट्न सक्थ्यो र? मैले आफैँलाई प्रश्न गरेँ तर थाहा छ, कहिलेकाहीँ शब्दभन्दा बढी कामले सबै कुरा बताइरहेको हुन्छ। फेरि, ह्या किन डराउनु पठाइदिएँ एक क्लिक त हो।
काममा ढिलो पुग्छु भन्ने मनमा पहिले नै थियो। त्यसैले ‘आज किन नउठाएको, मिस कल गरेर?’ भनेर उनलाई दोष दिएर आफू ढिलो भएको कारण कुनै बहानामा छोप्ने योजना पनि बनाएको थिएँ तर जति दोषारोपणको कल्पना गरे पनि कामको काममा थप कामले समय झन् खायो। म समयमै पुग्ने प्रयासमा अलमलिइरहेँ तर ढिलो हुने त पक्का भइसकेको थियो।
जब अफिस आइपुगेँ, मैले फोन हेर्दा देखेँ, इन्स्टामा थुप्रिएका दर्जनौँ मेसेज, ह्वाट्सएपका मिस्ड कलहरू। ती सबै देखेपछि मनमा थोरै हल्का भयो, उनले पनि मप्रति सोचिरहेकी रहिछन् भन्ने कुराले तर त्यो हल्कापनलाई उनीबाट आएको रिप्लाईले झट्काइदियो।
मेरो त्यति काम र भावनाले भरिएको मेसेजको जवाफमा उनले केवल ‘हाहा गुड लाइन’ लेखेकी रहिछन्। म केही र उनीको जवाफ हेरेर स्तब्ध भएँ। यो कस्तो जवाफ? हाँसो आयो, खुसीको कि निराशाको, थाहा छैन तर यो भने हो कि उनको एक एक शब्द नै काव्य हुन्। एक कडा नजर नै सजाय हो।
तनहुँका एक जना दाइ भन्थे- ‘मेरो बुढीलाई तँ सम्बोधन गर्नु भनेको ठुलो झगडा पर्नु त त्यो सबैभन्दा ठुलो गाली हो।’
मैले केही लेख्न खोज्दै थिएँ तर मिटिङका लागि मेनेजरले बोलाए। जवाफ लेख्न नपाउँदै उठेँ र हतारिँदै मेनेजरको रुमतिर लागेँ। ढोकामा पुग्नै लाग्दा फेरि फोनमा झन् अर्को मेसेज आयो। त्यस बेलासम्म मेरो मन उत्सुकताको तरङ्गले भरियो, के लेखेकी रहिछिन्?
तर मेसेज हेर्नुको साटो मैले आफ्नो फोन साइलेन्टमा राखेँ र रुमभित्र छिरेँ। उनीसँगको संवाद उसैका मेसेजहरूमा रोकिनुको अर्थ, मेरो दिनभरि मनभित्रको कुराकानी अझै चलिरहने भयो।
‘अब १० दिन बिजी भइन्छ, म कसैसँग बोल्दिनँ, दश दिनपछि म आफै मेसेज गर्छु, डिस्टर्ब नगर्ने है भन्दिया छु नि फेरि’ उनको मेसेज यस्तो थियो जसले उनका प्राथमिकता र दृढता झल्काउँथ्यो।
परीक्षा छ, पास हुनु छ वा उनी आफैँलाई पूर्णतया केन्द्रित राख्न चाहन्छिन्। कुरा मलाई थाहा थियो, मैले पनि मेनेजरको कोठाको ढोका अगाडि उभिएर छिटो-छिटो टाइप गर्दै लेखेँ- ‘हवस्। परीक्षाको राम्रो तयारी गर्नु। बेस्ट विसेस तर २४ जनवरी पर्सि हो, लट्री परे यो बिचमा म क्यानडा जान सक्छु। भनेसि उतैबाट मेसेज रिसिभ गरुँला। आफ्नो ख्याल राख्नोस्।’
यो मेरो हल्का मजाक र उनको गम्भीरता बिचको सन्तुलन थियो। मेरो मेसेजले उनको अनुहारमा हाँसो ल्यायो कि ल्याएन थाहा छैन तर मैले भने आफ्नै शब्दहरू एकपल्ट पढेर मुस्काएँ।
पाँच दिनपछि पिरियड, चार दिन पिरियडको समय अर्को दिन मेसेज। यस्तै अनुमान लगाउँदै मेसेज पठाएर म मिटिङका लागि मेनेजरको कोठामा पसेँ। कोठाभित्रको वातावरण, रिपोर्टहरू, योजना अनि प्रश्नहरूको शृङ्खलाबिच मेरो ध्यान भने अलि-अलि भङ्ग भइरह्यो। बैठक सकिएपछि जब म कोठाबाट बाहिरिएँ, लाग्यो कि मैले कुनै तुक नभएको बहसमा समय व्यर्थै खर्चेको छु।
अफिसको गल्लीभरि उनलाई देख्दै फिस्स हाँस्दै आएँ। कोठामा पसेर झोला टेबलमा राख्दै आफैँसँग बडबड गरेँ, ‘जति गरे पनि गरेको नदेख्ने मेनेजर!’
मेरो यो क्षणिक रिस र निराशाको भावलाई छेउ राखेर म आफ्नो मेसेजमा फर्किएँ। स्काइपमा लगातार बजिरहेको कल टोनले मेरो ध्यान तान्यो। हेरेँ, उनी नै रहेछिन्। सात वटा मिसकल! मन थोरै खसखस भयो, के कारण होला? तर सानो रिपोर्ट मेनेजरलाई इमेल गर्नुपर्ने थियो। त्यसैले दश मिनटको ढिलाइ भयो।
काम सकेर जब उनलाई कल गरेँ, उनले रिसिभ गरिनन्। बरु तुरुन्त मेसेज आयो- ‘एक बज्न लाग्यो नाटकी।’
मैले पनि कल गर्नु साटो मेसेज नै लेखेँ स्काइपमा, ‘हजुर यति अबेरसम्म किन बसेको? सुत्नुस्। आफूभन्दा ठुलो मान्छेले भनेको मान्नु पर्छ।’
‘पितृसत्तावादी।’
यो एक शब्दबाहेक म उनका अरू प्रेमिल शब्दहरूको जवाफ पर्खिरहेको थिएँ। फोन त मैले पहिले नै गरिसकेको थिएँ तर तत्काल उनलाई कल नगर्नुको अर्को कारण पनि थियो। मेनेजरको इमेल रिप्लाई या फोन आउन सक्छ भन्ने डर।
त्यसै बेला फ्याट्ट उनको मेसेज आयो- ‘आई एम बोस अफ माई किङडम, म सुतेँ।’
यो मेसेजले मेरो गम्भीरतामा एकछिन हलचल ल्यायो। उनी जति जिद्दी र हाँस्यात्मक छिन् त्यति नै चञ्चल र स्वतन्त्र पनि।
मैले तुरुन्तै जवाफ लेखेँ, ‘यसरी त विवाहित नै सही हाम्रो सम्बन्ध अगाडि बढ्दैन जस्तो छ। हिजो भोलि कल गर्छु भनेको मान्छे आज एक्कासि सुत्छु रे।’
यो एउटा हल्का कटाक्ष थियो तर यसको पछाडि उनीप्रतिको मेरो ख्याल र चासो र प्रेम पनि लुकेको नै थियो।
उनी विन्दास छिन्। म हजुर त क्या विन्दास लाग्छ भन्छु। हर कुरामा मस्त रमाउँछिन्।
‘आज रात पर्यो भोलि कल गर्छु’ भनेर हिजो मेरो समय हुँदा भनेकी हुन्। आज मेरो समय मिलेन। जुन दिन समय मिल्ला उही दिन रमाउँला। सँगै भएर पनि सँगै हुन नपाउनुको स्वदेशी पीडा यस्तो छ। बिहेपछि विदेशका लागि बिछोडिनेहरूका कति पीडा होलान्! सिफ्टको सेपेरेसनमा पनि हाम्रो प्रेम त गाढा नै छ।
सम्बन्धहरूको वास्तविक गहिराइमा दूरी र समयको अवरोध, सँगै भएर पनि सँगै हुन नपाउनुको पीडा वा फरक समय र जिम्मेवारीले खिचिएको दूरी, सम्बन्धको संवेदनशीलता र धैर्यको परीक्षा हो। जीवनको विन्दास स्वभावमा रमाउने प्रयास, साना झिना मसिना संवादहरूमा खुसी खोज्ने कला र भोलिका सम्भावनाहरूमा आशा राख्ने शक्ति नै सम्बन्धको विशेष आधार हो।
जसरी स्वदेशी टाढापनले अस्थायी पीडा दिन्छ, त्यस्तै अस्थायी चुनौतीहरूपछि सम्बन्ध गाढा हुँदै जान्छ। दूरी र समयको यो खेलले सम्बन्ध टुटाउँदैन बरु अझ बलियो बनाउँछ, जहाँ एउटा अर्काको जीवनको अभिन्न हिस्सा बनी नै रहिन्छ।