तिहार सकिएपछि भर्खर विद्यालय सुचारु भएको थियो। तिहारको रोटी सकिन लागेको थियो। पहाडी वातावरण बिहान र बेलुका चिसो भए पनि दिउँसो पारिलो घाम लाग्थ्यो।
१ बजेको खाजा छुट्टीमा ऊ र म पर्खालमा बसी पार तापिरहेका थियौँ। तिहारको भैलो कार्यक्रम समीक्षा हुँदै थियो। यतिकैमा उसले भनी, ‘तिमी मलाई साँच्ची माया गर्छौ?‘
म हाउडे ‘उम गर्छु, छाती चिरी देखाइदिऊँ?,’ ठाडो प्रश्न गरेँ।
‘माया गर्छौ भने प्रस्ताव किन न गरेको?’ ऊ शान्त अनि गम्भीर थिई।
‘ए ल उसो भए आइ लभ यु’ भनिदिएँ।
‘यसरी नि हुन्छ त? अलि राम्रोसँग भन न,’ ऊ मुस्कुराई।
‘उसो भए तिमी भनिदेऊ म सुनिदिउँला,’ उसको प्रश्न उसैतिर फर्काइदिएँ।
अब ऊ सुरु भई र भन्न थाली, ‘माया एक सम्बन्ध मात्र हैन साथ हो, दुखेसो पोख्ने ठाउँ हो, जिन्दगी सही दिशामा डोर्याउने माध्यम हो, मनको बह पोख्ने ठाउँ हो.. तिमी त्यो बन्छौ...’ यस्तै भन्दै थिई, म उसैको आँखामा डुबिरहेँ।
यसरी सुरु भयो औपचारिक प्रेम जीवन।
बिस्तारै दिन बित्यो, महिना बित्यो। अन्तिम परीक्षाको मिति नजिकियो र बढी ध्यान परीक्षा तिरै गयो। त्यसपछि उच्च शिक्षाका लागि समय परिस्थितिले छुटिन पुग्यौँ। अब बाल प्रेम ‘लङ डिस्टेन्स’ प्रेम भइसकेछ।
बिहान बेलुका निरन्तर प्रेमका कुरा, झगडा यस्तै यस्तै जुन हरेक प्रेम जोडीमा हुन्छ।
बिहान नेमको पढाइ, दिउँसो अँध्यारो कोठाको पढाइको थकान, प्रेसर साँझ ऊसँगको एक घण्टाले सबै बिर्साउँथ्यो। सर्लक्कै हराएर जान्थे ती दुःख र निद्रा लाग्थ्यो मजाले। अर्को दिन उहीँ नित्य कर्म।
बेलाबेला हरेस खान्थे, लाग्थ्यो छोड्छु यो क्षेत्र। तर ऊ सम्झाउँथी, बुझाउँथी र भरोसा दिलाउँथी। ममाथि उसले यति विश्वास गर्थी जति म आफैले गर्दिन थिएँ। ऊ ढुक्क थिई, यसले सक्छ गर्छ भन्ने।
दिन बित्दै जाँदा सहायक तहको लिखित परीक्षा उत्तीर्ण गरेँ। एउटा नम्बरबाट घर र उसलाई एकै पटक कल गरी सुनाएँ, म लिखित उत्तीर्ण भएको कुरा। माहौल खुसीमय बनेको थियो। पछि अन्तिम नतिजा आयो र उत्तीर्ण पनि भएँ।
निलो पाइन्ट सेतो सर्टमा देख्ने मेरो, परिवारको र उसको सबैको सपना पूरा भयो।
मान्छे न हो, भएको कुरामा के खुसी हुन्छ र? अब अधिकृत हुन मन लाग्यो र तयारी गर्न लागेँ।
उता उसको घरमा माग्न आएछन्। उसको बाबा पनि आएको सम्बन्धसँग मन्जुर जस्तै हुनु भयो। उसलाई सोध्नु भयो, ‘चिनेकै मान्छे हो, बानी व्यवहार राम्रै छ इन्डियन आर्मी हो। के गर्छौ नानी?’
उसले ‘बाबा, म अहिले बिहे गर्दिनँ’ भनेर त्यो पटक बिहे नकारी।
फूल भएको घरमा भमरा आउनु स्वाभाविक हो। ऊ फूल थिई, भमरा आइरहन्थे तर उसको आफ्नो भमरा म थिएँ।
माग्न आउनेको सङ्ख्या दिनानुदिन बढ्न थाल्यो। अब त डर पनि लाग्न लाग्यो, कतै हाम्रो प्रेमको कोपिला फुल्न नपाउने पो हो कि? अब कुराको विषय यही हुन लाग्यो।
लामो छलफलपछि अब प्रेमको बारे उसको बुवालाई भन्ने निधो गर्यौँ। उसले आफ्नो बाबालाई ‘मेरो एक जना साथी छ, ऊसँग कुरा हुन्छ’ भनी।
कसको बाबाले आफ्नो छोरी जो पायो त्यहीलाई दिन सक्छ र?
सजिलै मान्नु भएन।
‘के गर्छ? को हुन्?’ प्रश्न गर्नु भएछ।
‘सँगै पढेको हो बाबा, त्यो पारि गाउँको। अहिले खरदार हो,’ मेरो परिचय दिई।
‘ए ठिक छ, यो महँगी समयमा खरिदारले तिमीलाई कसरी पाल्न सक्ला नानी? तिमी आफै बुझ्ने छौ, बुझकी छौ,’ बाबाले आफ्नो भूमिका निभाउनु भयो।
‘बाबा, ऊ सक्छ। ब्याचलर सकिँदै छ, अधिकृत बन्छ,’ उसले ढुक्कका साथ बाबालाई सुनाई।
‘भएन भने? के गर्ने तिमी फिर्ता आउँछौ?’ कस्तो अप्ठ्यारो प्रश्न गर्नुभएछ।
ऊ सके जति फकाउन खोजी तर बाबा न हो, सजिलै कसरी मान्ने?
‘के छ र त्यसमा? इन्डियन लाहुरे मानिनौ, अस्ट्रेलियन मानिनौ? जापान गएको पनि मानिनौ? राम्रोसँग सोच नानी जिन्दगी लामो छ।’
‘हैन बाबा, म विदेश जाने सोचमै छैन। नेपालमै बस्ने हो, सरकारी जागिरेसँगै बिहे गर्छु,’ उसले वचन अर्को उपाय लगाई।’
‘ल ठिक छ उसो भए तिम्रो सोच त्यै हो भने अब जो पहिला अधिकृत आउँछ उसैलाई दिन्छु, त्यति बेला केही भन्न पाउँदिनौ अरू जान्दिनँ,’ यति भनेपछि बाबा बाहिर जानुभयो।
साँझ ऊ अब मसँग रुन थाली। दिउँसोको कुरा सुनाउन थाली। म पनि भावुक भएँ।
ऊ भन्न थाली, ‘संगम,बाबा जिद्दी हुनुहुन्छ। उहाँ बोलेपछि बोल्नु भयो, अब के गर्ने म? म त अन्त बिहे गर्न सक्दिनँ।’
ऊ रुन कराउन थाली। म सम्झाउन लागेँ, ‘हैन पिर नगर, अब एक/दुई वर्षमा त कसो अधिकृत नबनुँला र! बाबाले नि बुझ्नुहुन्छ, म कुरा गर्छु।’
‘अरू केही थाहा छैन मलाई, मलाई तपाईं चाहियो,’ भनेर फोन काटी।
म एकछिन रोएँ अनि भगवानलाई पुकारेँ-
‘मलाई अधिकृत बन्नु छ अनि उसको बन्नु छ बिन्ती। उसलाई अरू कसैको नबनाइदिनुस्, बिन्ती।’