केही यस्ता पात्रहरू
जसलाई सधैँ सबै सत्ताले शत्रुको रूपमा लिन्छन्
किनकि
ती पात्रहरू सत्य बोल्दछन्
आफ्नो ब्रह्मले देखेको गलतलाई गलत भन्दछन्
उनले कालोलाई सेतो भन्न जानेका हुँदैनन्
उनले न्याय र सत्य बाहेक केही कसैलाई आफ्नो मानेको हुँदैनन्
अनि केही यस्ता पात्रहरू
जो सधैँ सबै सत्ताका प्रिय हुन्छन्
किनकि
ती पात्रहरू चिल्लो घस्न जान्दछन्
पाउ मोल्न जान्दछन्
त्वं शरणम गर्न जान्दछन्
तपाईं भगवान् हो भन्ने भ्रम
सत्ताधारीलाई विश्वास दिलाउन सक्दछन्
अनि
सत्ताको लागि पहिलो थरी शत्रु र दोस्रो थरी प्रिय हुने कारण के भने
सत्ताको एउटा चरित्र हुन्छ
जुन बडो अचम्मको र विचित्र हुन्छ
त्यो के भने
सत्तामा बस्ने जोसुकै होस
ती चाहे सम्भ्रान्त वर्गका हुन या भुइँमान्छे माझबाट उठेका हुन्
उनले आलोचना सहन सक्दैन
सत्यलाई उनले देख्न सक्दैन
सत्तामा बसे नि हामी मान्छे हो
मान्छेले काम गर्दा गल्ती हुन्छ
यो शाश्वत सत्यलाई उनले स्विकार्न सक्दैनन्।
त्यसो भए के पहिलो थरिका पात्रहरू चाहिँदैन त?
चाहिन्छ
समाज र देशका लागि चाहिन्छ
किनकि
यिनै पात्रहरू हुन् जो
परिवर्तनका बाहक हुन्
सत्यका संवाहक हुन्
बाहिर हेर्दा विध्वंसक देखिए पनि
तिनीहरू नै न्यायपूर्ण समाजका रचनाकार हुन्
तिनीहरू नै जनचेतनाका आकार हुन्
दोस्रो थरीले त मात्र
आफ्नो दुनो सोझ्याउँछन्
सत्तालाई सत्यबाट अलग्याउँछन्
देश र समाजको दुर्गति निम्त्याउँछन्।