बज्रयोगिनी मन्दिरबाट ओरालिएका छौं माधव नारायणको दर्शन गर्न। शालिनदीलाई नजिकबाट स्पर्श गर्नुछ। स्वस्थानी व्रतकथाका पात्रहरूलाई भेट्नुछ। लाग्दैछ कथामा वर्णित सम्पूर्ण भूगोल मैले घुमिसकेकी छु। बुझ्ने भएदेखि नै घरमा माघमाहात्म्यको पुस्तक देखेकी हुँ।
हरेक वर्ष घरमा स्वस्थानी व्रतकथा सुन्दै र पढ्दै आएकी छु। तर यो उमेरसम्म आइपुग्दा पनि भौतिक रूपमा म यो धरामा आएकी थिइनँ। साँखुको यो पावन भूमि चिरपरिचित लाग्दैछ। नहिँडेको बाटो पनि हिँडेको जस्तो लाग्दैछ। आफ्नै घरआँगनमा उभिए जस्तो लाग्दैछ। साहित्य कति सशक्त र मूल्यवान हुनेरहेछ भन्ने कुरालाई आज म प्रत्यक्ष अनुभूत गर्दैछु। नदेखेको समाज, नटेकोको भूगोलमा पनि विचरण गरेकी छु बारम्बार। साहित्यको संसार साँच्चै यतिबेला अति नै प्रिय लाग्दैछ। लाग्छ स्वस्थानीका कथा र व्यथाहरू मैले नजिकबाट छामेकी छु। देखेकी छु। यहाँका पात्रहरूसँगै म पनि थाहै नपाइ हुर्किएकी छु। अहो ! साहित्यका पात्रहरू अमर हुनेरहेछन्। आज पनि म ती पात्रहरूसँग संवाद गर्नसक्छु। साहित्य कहिले पुरानो नहुँदो रहेछ।
भनिन्छ यो संसारबाट भागे पनि मनबाट भाग्न मुस्किल छ। मनको संसार सदैव जवान रहँदो पो रहेछ। त्यसैले भनिएको होला मन नै देवता हो। मन नै ईश्वर हो। मनभन्दा ठूलो अरू केही छैन। मन नै दुःखको कारण हो। मन नै सुखको आधार हो। म मनभरि सुखको फूल फुलाउँछु। साहित्यको भूगोलमा मनले गरेको भ्रमण कति जीवन्त। म मानसिक रूपमा यो धरामा साँच्चै बारम्बार आएकी छु। डुबुल्की मारेकी छु शालिनदीमा। भाँचिएको पुल देखेकी छु। देखेकी छु वायु रूप लिएर हिमालयतिर उड्दै गरेका ती डोलेहरूलाई। शालिनदीमा झरेकी चन्द्रावतीलाई देखेर समाउन दौडिएकी छु। कपिल ब्राह्मणहरूलाई परबाट आउँदै गरेको देखेकी छु। चन्द्रावतीको भात ढुङ्गो हुँदै खरानी भएर उडेको देखेकी छु। यही कथाले हो मलाई सदैव उत्प्रेरणा दियो हातमुख धोएर खाना खाने। डर लाग्थ्यो कतै मुख नधोई खाना खायो भने खाना खरानी बनेर त उड्ने होइन...?
आज पनि एकैचोटि देख्छु गोमाको दरबार र झुपडीलाई। गौरवान्वित भएकी हुन्छु गोमा र चन्द्रावतीको हिम्मत र संघर्षमा। कुष्ठरोगले मुडो भएर लडिरहेकी चन्द्रावतीको आत्मविश्वासलाई नमन गर्छु। गर्भवती गोमाको एक्लो संघर्षमा साहस भर्छु। देदिप्तिमान देदीप्यमान मुहार लिएर कायाकल्प गरेकी पुण्यवतीको क्षमतामा हर्षित हुन्छु। देखेकी छु लावण्य देशका राजा र जनतालाई। नवराजको त्यो सुन्दर बाललीलामा म पनि सँगसँगै हिँडेकी छु। हात्तीले जुरूक्क बोकेर नवराजलाई माला लगाएको त्यो सुन्दर पलमा म पनि मधुरिएकी छु। शालिनदीको क्षमता र महत्त्व सम्झिएर उमङ्गित भएकी छु। यही शालिनदीमा भेट्छु नाग, नागिनदेखि देवीदेवता र स्वर्गबाट आएका अप्सराहरूलाई।
‘ओई, अनिता ! निदाएकी ... उठ् आयो मन्दिर झर ...’ । निता दिदीले उठाउँदा पो म झसङ्ग भएँ। म निदाएकी त थिइनँ तर हराएकी थिएँ स्वस्थानी व्रतकथाका पात्रहरूसँग। प्रेमपूर्ण भ्रमण गरेको ठाउँ आजीवन स्मृतिमा जवान नै हुनेरहेछ। अहिले साँखुको भूगोलमा उभिएकी छु। मनमा अनौठो ऊर्जा संप्रेशित हुँदैछ। सम्पूर्ण शरीर रोमाञ्चित हुँदैछ। लाग्छ आज ती तमाम पात्रहरूसँग मेरो साक्षात्कार पक्कै हुने छ। माघ महिनाभरि मेला लाग्छ शालिनदीमा तर पनि जुरेन साइत यो भन्दा अघि। विश्वास अझ चुलियो ‘समयभन्दा अघि र भाग्यभन्दा बढी कसैलाई केही प्राप्त हुँदैन’। यतिका वर्षपछि जुरेको साइतलाई पूर्ण रूपमा उपयोग गर्ने कोसिस गर्छु। मेरा दृष्टि परपरसम्म फालकुदेकाछन्। आँखै अगाडि आउँछ माधवनाराणको भव्य मन्दिर। केहीबेर आँखा बन्द गरेर शिरनत हुन्छु सनातन आस्थाप्रति। परिक्रमा लगाउँछु माधवनारायण मन्दिरमा ... निर्वाण षट्कमको जप गर्दै।
अहं निर्विकल्पो निराकार रूपो !
विभुत्वाच्च सर्वत्र सर्वेन्द्रियाणम् ...!
सदा मे समत्व न मुक्तिर्न बन्धः
चिदानन्द रूपः शिवो हं ! शिवो हं !!
मन्त्र जप गर्दै उँधो झर्छु स्वस्थानीका पात्रहरूलाई भेट्न। महाज्ञानको अज्ञेय रहस्यहरूलाई बुझ्न कति गाह्रो। झलक्क सम्झिन्छु क्रोधले राता राता आँखा पार्दै दक्षसभामा गर्जिएका नन्दीलाई। ब्राह्मणले वेदको वास्तविक अर्थ बुझ्न नसकून् मात्र आशीर्वादको भरमा बाँचिरहून् भन्ने डरलाग्दो श्राप स्मरण हुन्छ। स्वस्थानीमै बारम्बार भनिएको छ ‘म प्रत्येक जीवआत्माको हृदयमा आत्मा रूप भएर बसेको छु।’ तर पनि हामी बुझ्न सक्दैनौँ आफैभित्रको ईश्वरलाई। खोज्छौं पहाडका टाकुरामा। समुद्रको गहिराइमा। यज्ञमा, तीर्थमा, जपमा, ध्यानमा, कैलाशमा, मक्का मदिनामा, कर्मकाण्डमा, पूजामा, होममा, मन्त्रमा साँच्चै ईश्वर त विश्वासमा हुन्छ।
ज्ञानीजन भन्छन्- निमेषभरको खोजीमा भेटिन्छ ईश्वर, आफ्नै श्वासमा। झट्ट सम्झिन्छु मेरी माइली आमालाई, भन्नुहुन्थ्यो, ‘नानी ! स्वस्थानी भनेको राम्रोसँग श्वासलाई तान्नु र छोड्नु हो। आफ्नै श्वासमा छिन् स्वस्थानी। संस्कारलाई जीवित नै राखेर श्वासमा निहित स्वस्थानीलाई जान्नुपर्छ। उबेला पनि गोमाले आफ्नै श्वास तानेकी थिइन्। सबै सामान मुखुन्ज्याल राखेर गोमाले कुनै कथा भट्भट्याएकी होइनन्, उनले त श्वासको क्रिया गरेकी थिइन्, अरू केही होइन। साधना गर्थिन् श्वासको। गोठाला केटाकेटीले उनलाई देखेर पागल पनि भने। श्वासको गति एकोहोरो भएर गोमाको कुट्टीमा अनौठो आवाज आएको थियो। कहाँ हुनु गोमाको हातमा यो किताब...।’ माइली आमाको विश्लेषण गर्ने क्षमता सम्झिएर आज पनि नतमस्तक हुँदै श्रद्धान्जली अर्पण गर्दछु।
आज माइली आमाको कुरा बल्ल बुझ्दैछु। माइलो बुबा स्वर्गीय हुँदा पनि माइलीआमा श्वासको मालामा हराउनुभएको थियो रे। सासू र नन्दले खुब कुरा काटेका थिए उबेला। लोग्ने मर्दा पनि आँखा चिम्म गरेर बस्ने आइमाई कस्ती हो ... ? कस्तो लोग्नेको पनि माया नभएकी। कस्ती जन्ड आइमाई, कति निठुरी। के के हो के के माइलीआमाले सुन्नुपरेको हप्की। हुन पनि हो हाम्रो संस्कारमा टोलै थेर्किने गरी रुनु पर्थ्यो मृत्युमा। माइली आमालाई नचाहिँदो भन्दा मेरो मन रुन्थ्यो। मलाई लाग्थ्यो के माया देखाउने भावना मात्र हो? असामयिक घटना घट्दा अविचलित भएर माइली आमाले श्वासलाई तानिरहनु के गल्ती गर्नुभयो? स्वस्थानीको पूजा गर्ने समाजले श्वासको माला जप्न जानेन। आत्म रूप भएर बसेकी स्वस्थानी मातालाई मेरी माइली आमाले चिन्नुभएको थियो तर पाती, अक्षता र फूलमा मात्र रमाउनेहरूले उहाँलाई बुझ्न सकेनन्। ईश्वर देखाउने वस्तु मात्र हुँदैछ आजको समाजमा। मलाई लाग्छ ईश्वर देखिने वस्तु कदाचित होइन। यो त अनुभूतिको अपार विज्ञान हो तर ... ?
मनभरि स्वस्थानी कथालाई स्मरण गर्दैछु।
सबै पात्रहरू म नजिक नजिक आउँदैछन्। कति उत्साह र उमङ्गका साथ माघ महिनाभरि स्वस्थानीव्रत कथाको उत्सव हुन्थ्यो हाम्रो गाउँमा। भक्तिमय बन्थ्यो सम्पूर्ण गाउँ। अहिले लाग्छ साहित्यको रस यही स्वस्थानी व्रतकथाले मेरो बाल मस्तिष्कमा बिजारोपण गरेको रहेछ। स्वस्थानीको कथा पढ्दै आउँदा यो उमेरसम्म पनि मनभरि प्रश्नहरूको पहाड नउठेको होइन। तर्कहरूको मदानी नघुमेको होइन। वाद विवादको मञ्च नबनेको होइन। सानोमा बडो रहस्यमयी लाग्थे स्वस्थानीका कथाहरू।
म छक्क पर्थेँ ‘ दक्षप्रजापतिको काटिएको धडमा बोकाको टाउको कसरी जोडियो होला... ? हतार हतार पुस्तकमा भएका चित्रहरू नियाल्थेँ। म दक्षप्रजापति बोकाको टाउको लिएर हिँडेको देख्थेँ। जिरिङ्ग गर्थ्यो सम्पूर्ण शरीर। त्यो डरलाग्दो स्वरूपको कल्पनामा। सोच्थेँ राम ! राम !! बोकाको टाउको त्यो पनि पछिल्लतिर मुख फर्किएको। कसरी दक्षप्रजापतिले पत्नीसँग संवाद गर्थे होलान्। कति पश्चाताप भयो होला आफ्नो कर्मप्रति ... कि केही पनि भएन होला ... ? कसरी लिए होलान् सतीदेवीको मृत्युलाई ? कसरी जीवन निर्वाह गर्थे होलान् ती दम्पतीले ? दक्षप्रजापतिको यज्ञ ध्वस्त भएपछि कस्तो वातावरण सिर्जना भएको थियो होला... ?
एउटी आमाले छोरी सतीदेवीलाई मृत अवस्थामा कसरी हेरिरहन सकिन्? एकातिर छोरी अग्निकुण्डमा आत्मदाह गरेकी छ अर्कोतिर पति छागमुख (बोकाको )भएको छ। फेरि सोच्थेँ ती दक्षकी पत्नी विरणीले किन सती देवीको प्राणको भिख मागिनन् ? कतै सतीदेवी छोरी भएकाले उनलाई जीवित गर्न उचित ठानिनन् ती माताले ? म भएको भए के गर्थेँ होला ? कसको प्राणको भिख माग्थेँ होला ? अनि नयाँ नयाँ कथा मस्तिष्कमा कत्थन थाल्थेँ।
फेरि अचम्भित हुन्थेँ पार्वतीले आफ्नै जिउको मयलबाट जिउँदो जाग्दो गणेशको निर्माण कसरी गरिन् होला? गोमाको होस् या कार्तिकेय यिनीहरूको जन्म कथाले मलाई त्यो कलिलो उमेरमा पनि चिन्तनशील बनाउँथ्यो। प्रायः भटमास रुँग्न जाँदा आलीमा गड्यौलाले मसाइलो माटो निकालेको हुन्थ्यो। त्यो माटोबाट म पनि भाँडाकुँडा बनाउथेँ। ती भाँडाकुटी प्रयोग गरेर म पनि तसलाले छोपेर नयाँ नयाँ सिर्जना गर्न खोज्थेँ गोमा जस्तै। तर मैले गरेको कर्म उसै खेर जान्थ्यो। अनि अचम्म अचम्मका मान्छे बनाउन खोज्थेँ तर नबोल्ने मान्छे पनि राम्रोसँग नबन्दा म महादेव र पार्वतीलाई सदा स्मरण गर्थेँ।
प्रायः स्वस्थानीको कथा पढ्दै गर्दा पात्रहरूसँग हराउँथेँ, उनीहरूसँग गफ गर्थेँ। अचम्मको चलचित्र चालु हुन्थ्यो मेरो मगजभरि। भिन्नभिन्न भूगोल निर्माण हुन्थ्यो कथा पढ्दै गर्दा। म देख्थेँ हिमालतिरको सुन्दर दृश्य। सतीदेवीले झारेको माकुराको जालोयुक्त छाप्रो। महादेवको त्यो गैर जिम्मेवारपूर्ण व्यवहार देखेर छक्क लाग्थ्यो। किन भगवानले पनि मान्छेले जस्तै व्यवहार गरेका होलान्?
सात दिन सात रातसम्म भाङ खाएर लम्पसार परेका शिवजीको गोडामुनि बसिरहेकी भोकी प्यासी सतीदेवीको खुब माया लाग्थ्यो। सतीको सहशीलताको परीक्षा लिएका रे! महादेवले, छक्क लाग्थ्यो त्रिकालदर्शीलाई किन चाहियो यो सब लीला। यो कथा कुन समयको लागि रचिएको कथा होला ... ? सोचमग्न हुन्थेँ।
पुनः दङ्गिन्थेँ महादेवले लात्ताले हानेर भत्काएको झुपडीबाट देखिएको झलझलाकार कैलाश पर्वत देखेर। सतीदेवीले प्राण त्याग गरेको त्यो यज्ञकुण्ड नजिकै गएर बुझ्न खोज्थेँ कथाको अन्तर्य। सतीदेवी जस्ती उच्च चेतनाले किन अग्निकुण्डमा फालहालिन्? कुन सन्देश दिँदैछ कथाले। स्वस्थानीको कथा साँच्चै गहिरो छ। बुझेर बुझ्न सक्दिनँ। लाक्षणिक लाग्छन् कथाहरू। बौलाहा भएर सतीदेवीको मृत शरीर लिएर हिँडेका महादेवको त्यो प्रेमिल यात्रा अब टुङ्गिने त होइन? को हिँड्ला अब महादेव जसरी ? फेरि छक्क पर्थेँ पार्वती पो महादेवभन्दा शक्तिशाली रहिछिन्। किराँतको रूप धारण गरेर वन विहार गरेका शिव कति कामान्ध। किराँत युवती पार्वतीलाई शिवले नचिन्नु कस्तो आवेग? यो कस्तो शिक्षा हो हाम्रो युगलाई ...?
गोमाको त्यो कलिलो उमेर। अक्षता केलाउँदै गरेकी सुन्दर बालिका। जोगीको रूपमा आएका क्रोधी महादेवलाई देखेर मेरो सात्तो उड्थ्यो। मलाई महादेवसँग निकै रोष प्रकट हुन्थ्यो। किन त्यो सुन्दर परिवारलाई तहसनहस पारेका होलान् देवताहरू मिलेर ? लाग्थ्यो देउता पनि शक्तिशालीकै हातमा हुने रहेछन्। आखिर शिवभट्टले कुन अपराध गरेका थिए र ? राम्रो काम गर्दा पनि उनलाई किन सजाय दिइयो? महादेवकै छोराको आशीर्वादले सजिएको परिवारमाथि किन अभिशापको डमरू बजाए शिवले ...? अलि बुझ्ने भएपछि लाग्यो कतै अहंकार, शक्ति र सत्ताको कथा त होइन ?
शिवजीलाई पनि आफ्नै छोरासँग डाहा त भएन ? पक्कै महादेवलाई लाग्यो होला शिव भट्टले मेरो पो पूजा गर्नुपर्थ्यो ? मलाई छोडेर किन गणेशको भक्ति गर्यो ? कतै बाउ छोराबीचको सत्ताकोयुद्ध त होइन?
आँखै अगाडि आउँथ्यो कुहिरो आँखा भएका शिवशर्माको त्यो घिनलाग्दो रूप। अनि सती ब्राह्मणीले भनेझैँ भन्न थाल्थेँ ‘मर्न देऊ तिनलाई जो कसैकी बालख छोरी नपाएर मर्न खोज्छ भने। यस्ता शिवशर्माहरूलाई किन आफ्नो फूलजस्ती छोरीहरू सुम्पन्छौ ? किमार्थ गोमालाई कन्यादान नगर ती आँखीभुइँ पनि सेतै भएर पाकेका, हेर्दै घिन लाग्दा, र्याल चुहाउने, कचेरा लिएर हिँड्ने त्यो बूढोलाई,त्यो परम सुन्दरी छोरी कुनै हालतमा नदेऊ ।’ कथाले गोमा कन्यादान दिएपछि म त क्वाँक्वाँ रोएकी थिएँ। अझ गोमाका बाआमा रूखबाट लडेर मर्दा त म भक्कानिएकी थिएँ। कति दिन तरङ्गित भएकी थिएँ। गोमाको जीवनमा आएको संघर्ष पढ्दा धैरैपल्ट महादेवलाई सरापेकी थिएँ।
कठै! धर्म गर्नु पनि पाप हुने यो कुन समयको कथा होला...? कस्ता होलान् ती देवता जो आफ्नो पद गुम्ला कि भनेर,एक सुन्दर परिवारलाई तहसनहस पार्न पछि परेनन्। एउटा भक्तको भक्ति र तपस्यादेखि डगमगाउने कस्तो आसनमा आरूढ थिए ती ईन्द्रहरू... ? कतै ती इन्द्रहरू अझ जीवित नै त छैनन् ...? मलाई यी कथाले आफ्नै समाजको रूप देखाए जस्तो लाग्छ। कति कमजोर सिंहासनमा पो बस्दा रहेछन् देवताहरू।
अनि महादेवले किन इन्द्रको कुरा सुनेर त्यो बालख गोमालाई श्राप दिएका होलान्। कानून साँच्चै आँखामा पट्टी बाँधेर बसेको हुनेरहेछ। म मन मनै उपकथाहरू मस्तिष्कमै कोर्थेँ। स्वस्थानी कथाको प्रभावले नै होला ममा किताब पढ्ने, सुन्ने र कथा कत्थने बानी बसेको।
म झसंग हुन्छु, ‘अनिता ! ओई अनिता !! के भयो ... ? तँलाई त गाडी लागेको कस्तो छ। आँखा पनि रातो रातो छ। यो त यहाँ आएदेखि टोली भएकी छ। हिँड् शालिनदीको छेउ। उः त्यो स्तम्भतिर जाऊँ। के तँलाई भोक लाग्यो ... ?’ निता दिदी नजिकै आएर मलाई जागृत गराउँछे।
म हिँड्दैछु समूहमा तर पनि म हराएकी छु स्वस्थानी कथामा।
बुझ्ने भएपछि सुन्न थालेकी छु ‘स्वस्थानी कथा समय सापेक्ष हुन सकेन। मलाई त विश्वास पनि लाग्दैन यसमा वर्णन गरिएको कथाहरू। गोमाकै कथा छ स्वस्थानीमा अनि गोमाले त्यो बेला स्वस्थानीको कथा पढिन् भनिएको छ। कुन कथा पढिन् त गोमाले ? त्यो खोज्नु परेन ? के आज पनि हाम्रा छोरीहरू नारी शोषणकै कथा पढून्। स्वस्थानी कथाभरि नारीलाई नै त शोषण गरिएको छ। सती, वृन्दा, गोमा र चन्द्रावती सबै पीडित नै त छन्। आज पनि बाआमाले आठ वर्षकी गोमालाई सत्तरी वर्षको बूढोसँग बिहे गरेर दिएको कथा पढाउने त छोरीहरूलाई? कि यसको पनि नबुझिने रहस्य छ? किन साहित्य यति क्लिष्ट रचे हाम्रा अग्रजले। जुन कथाले गलत अर्थ लाग्छ। कथा मात्र बुझ्दा त छोरीहरू आज्ञाकारी भएर बाआमाले भनेको मान्ने त ? नारीले जसरी पनि सहनुपर्छ भनेर सिकाउने ? नारी दोस्रो दर्जाको मान्छे हो भनेर भन्ने ? व्रत कष्ट जति नारीले मात्र लिनुपर्ने ? पुरूषहरू नै उच्च स्थानमा छन् भन्ने।
अझ स्वस्थानीको व्रत एक महिनासम्म नारीले नै गर्ने अनि प्रसाद चाहिँ कि त पति, कि त छोरा, छोरा नभए मित छोरा त्यो पनि नभए नदीमा लगेर बगाउने! के छोरीलाई दिनु हुँदैन त्यो प्रसाद ? यस्तो कथा घोक्ने अनि महिना दिनभरि पुज्ने!’ मनमा तर्कको भूमरी उठ्दै थियो। कानैमा आएर सामूहिक आवाज गुञ्जियो। म रातोपिरो भएकी छु। गम्छु‘ मलाई पनि विश्वास लाग्दैन नि जडतामा। कसले लेख्यो यो स्वस्थानीको कथा। यो कथाको मूल रूप अर्कै पो थियो कि ! गोमाले त्यो बेला पढेको कथा पक्कै यो त थिएन होला। आखिर के पढिन् त त्योबेला गोमाले ... ?’
हामी माधवनारायणको मन्दिरबाट खोलातिर झर्दैछौँ। सफा छिन् गङ्गे। सिँढीहरू पनि सफा पार्दैछन्। शालिनदीको जलहातमा लिएर गम्दैछु , ‘जालन्धरलाई देख्छु कुटिल मुस्कान लिएर आउँदै गरेको। राक्षस र देउतामा केही अन्तर छैन। जालन्धर महादेवको रूप धरेर पार्वतीलाई छल्न आएको छ। अनि जालन्धरकै बुद्धि पैँचो लिएर हिँडेका छन् बिष्णु र महादेव। वृन्दालाई छक्याएर उसको सतित्व नष्ट गर्न देउता नै लागिपरेका छन्। मेरो मन चोइटिन्छ। देवताको पालामा पनि युद्धको साधन नारी नै किन ... ? वृन्दा होस् या गोमा कर, बल र छलले त्यो अवस्थामा पुर्याउने देवताहरू नै त थिए।
‘म त स्वस्थानी पढ्दिनँ यात्रा र मनोरञ्जनको लागि मात्र आएकी हुँ शालिनदी।’ एउटी साथी रोष प्रकट गर्दै बोलिन्।
उनको मनमा विद्रोहको राँको बल्दै थियो,‘नारीहरू कति पेलिएका, हेपिएका कति कमजोर देखिएका। कति सहेका स्वस्थानीभित्रका नारीहरूले। किन विद्रोह नगरेका तिनले। किन सतीले यज्ञकुण्डमा फाल हाल्नु परेको। के नारीले आवाज उठाउन सक्दिनन् ? पिता मूर्ख हुँदा सती जस्ती उच्च चेतना भएकी नारीले बोल्न सक्नुपर्थ्यो। पितालाई तर्कबाट परास्थ गर्नुपर्थ्यो न कि आत्महत्या।’ भारतीको आवाज उच्च हुँदैथियो।
मलाई एउटी अपरिचित महिलाले चोर औँलो तेर्स्याएर देखाइन्, ‘उः त्यो गोमाको कुटी हो जानुभयो?’
म सचेत हुन्छु।
शालिनदी बग्दै छिन् कलकल। म देख्छु बग्न नसकेको त्यो स्थिर पानी। चन्द्रावतीको त्यो मुढो भएको शरीर। मलाई पुल तरेर गोमाको कुटीतिर जान मन लाग्छ। मन्दिरहरूले शोभायमान देखिएको छ साँखुको यो भूमि। चारैतिर छन् मठ मन्दिरहरू। म फलामे पुल तरेर १०८ शिव लिङ्गको परिक्रमा लगाउँछु।
आँखा बन्द गरेर श्वासलाई म पनि तान्न थाल्छु ‘अनिता ! किन चिन्ता गरेकी मेरो। म शक्तिशाली छु। म सम्पन्न छु। म सामर्थ्यवान भएरै त हो नि सबै लीला रच्न सकेको। नारीको शक्ति नापिसकेका थिए पुरूषहरूले। हेर त नारीहरूको क्षमता। तिमीले स्वस्थानीमा नारीहरूको शोषण मात्र देख्यौ? म त नारीहरूमा शक्ति नै शक्ति देख्छु। किराँत युवतीलाई हेर। वृन्दालाई हेर। स्त्रीको तपमा जालन्धर शक्तिशाली भएको छ। सतीलाई हेर देह त्याग गरेर पनि उनले पुनः जन्म लिनसक्ने सामर्थ्य थियो। मूर्ख दक्ष प्रजापतिको छोरी भएर बाँच्नुभन्दा पुनः हिमालयको पुत्री भएर बाँच्न सतीले उचित ठानिन्। तपको प्रभावले नारीले जस्तसुकै कर्म गर्न सक्छन् भन्ने उदाहरण दिएकी हुन् चन्द्रावतीले। गोमालाई हेर त कति स्वावलम्बी छे। भिख माग्दिन गोमा। चोरी गर्दिन। देह बेच्दिन। कर्ममा विश्वास गर्छे। आफ्नै कर्मले छोरोलाई राजा बनाउँछे। यदि गोमाको देहान्त भएर शिवशर्माले एक्लो जीवन निर्वाह गर्ने हो भने गोमाले जसरी गृहस्थी चलाउँथे होलान् ... ?
नारीहरूको शक्ति, सम्भावना र सामर्थ्यको डरले यो सबै कथा उल्टोपाल्टो पारेका मात्र हुन् कथा लेख्नेहरूले ... ? ती वृद्धाले मलाई गोमाको कुटीसम्म लिएर गइन्। म बाहिरै बसेँ। ती भित्र पसिन्। म पर्खिरहेकी छु। ती वृद्धा बाहिर आउँदिनन्।
म पुनः सतर्क हुन्छु, ‘अनिता! जानेबेला भयो के यो कुटीमा आँखा चिम्लेर के बसेकी ... ? कि गोमालाई नै भेटिस् ...।’ निता दिदी ठिङ्ग अगाडि छे गोमाको कुटी खाली छ ...।