ट्रिङ ट्रिङ ट्रिङ...
फोनमा घण्टी बजेको आवाज सुनियो। नाम सेभ थिएन। कुनै अपरिचित व्यक्ति जस्तो लाग्यो।
'दाइ नमस्ते!' फोन उठाउनासाथ उताबाट आवाज आयो।
'नमस्ते!' मैले यताबाट जवाफ फर्काएँ।
'दाइ, म नरेश चिन्नुभयो?' उताबाट फेरि एक सुरमा आवाज आयो।
'उम्... आवाज चिने चिने जस्तो त लागिरहेको छ, ठ्याक्कै ठम्याउन गाह्रो भयो। मल्लाघरे काकाको छोरो हो?' मैले सोधेँ।
उताबाट हो भन्ने जवाफ आयो।
ऊ राम काकाको छोरो रहेछ। विदेशबाट फर्केर आएकै दिन फोन गर्न भ्याएछ। बोली पनि ठ्याक्कै नबद्लिएको, कुनै कन्तुरमा सेभ गरी राखेजस्तो काटिकुटी उस्तै।
त्यसपछि हामीबिच लामो संवाद भयो। पछि साँझ पाँच बजे माथि लामसारे डाँडामा भेट्ने भन्ने कुरा सँगसँगै संवादलाई टुङ्ग्यायौँ। पछिको भेटघाटका लागि घरको बाँकी काम सक्ने सुरमा लागेँ म।
साँझको पाँच बज्यो। माथि लामसारे डाँडातर्फ लागेँ म। एक चौतारो बिच ढाडमा आफू विश्राम गर्न भनी नरेशको पर्खाइमा बसेँ। तल आफ्नो गाउँ सिम्पुरतर्फ आँखा लाएँ। कसैले स्वर्गको एक टुक्रा चुँडी बिसाइदिए जस्तो लाग्यो मेरो गाउँ। जति हेरे उति हेरिरहन मन लाग्ने मेरो गाउँ साँच्चै गोलोक लाग्यो।
हेर्दाहेर्दै नरेश आएको पत्तै पाइनँ। मोटो, हँसिलो अनुहार, चट्ट मिलेको दाह्री चिन्नै गाह्रो भयो। एकछिन फेरि चियाएर हेरेँ, खुट्टाबाट माथि टाउकोसम्म कुनै एङ्गलबाट लागेन त्यो पहिलेको नरेश।
मैले हात मिलाउँदै बस्न अनुरोध गरेँ।
'तँ त कस्तो मोटाको यार मुकेश,' उसले हाँस्दै भन्यो।
म पहिलाझैँ पातलो देखेर उसले गिज्याउन खोज्यो। उसको ठट्टा गर्ने बानी अझै उस्तै कायमै थियो।
'तँ त विदेश गएर दुब्लाएको रहेछस् त यार,' ऊ पहिलाभन्दा झनै मोटाएको भएर मैले पनि ठटेउली पारामा उसलाई जवाफ दिएँ।
त्यसपछि हामीले घण्टौँ कुरा गर्यौँ। दुःखसुख साट्यौँ।
यस्तै बातचित गर्दागर्दै साढे सात बजिसकेको थियो। झिसमिसे उज्यालो थियो, यसै क्रममा तल गाउँको भट्टीमा बस्ने भन्ने निर्णय भयो। हामी तल भट्टीमा झर्यौँ। नरेशले टेबलमा दुई गिलास ठड्यायो र गफ मार्न थाल्यो। मैले पनि उसका कुरामा आफ्ना कुरा तेर्साएँ।
मैले दुई गिलास पुग नपुग हुँदै धारो बन्द गर्न लाएँ र त्यो रित्याएपछि नखाने निधो गरेँ। तर उसले एकपछि अर्को गर्दै सटासट बाह्र गिलास भर्न भ्याइसकेको थियो। टेबलमा चार बोतल ठिङ्ग उभिएर हामीलाई हेर्दै थिए। अन्तिम पूर्णविरामको रूपमा त्यही बाह्रौँ गिलासलाई रित्याई नरेशले हिँड्ने निर्णय गर्यो।
त्यति रक्सी पिएर पनि उसलाई मातले भने छोएको थिएन। म अचम्म परेँ! हामी गफ मार्दै हिँडिरहेका थ्यौँ, त्यो साँघुरो बाटोलाई समात्दै निस्फिक्री आफ्नै तालमा। भिर्निखोला भने आफ्नै सुरमा सुसाइरहेको थियो।
पर कहीँ अचानक च्याँ-च्याँ गरी बच्चो रोएको आवाज सुनियो, बायाँ तर्फको खोला किनार छेउमा। एकछिन लाग्यो भ्रम हो। नरेश भने आफ्नै सुरमा चलिरहेको थियो। फेरि त्यहीँ आवाज हावाभन्दा छिटो मेरो कानमा पस्यो। अब लाग्यो पक्कै कोही छ।
'नरेश तैँले बच्चो रोएको आवाज सुनिस्?' मैले आवाज कानमा परेको छिनमै भ्रमको पर्दा चिर्दै आफ्नो मुख खोलेँ। ऊ बोलेन, मात्र उम् आवाज आयो। पुनः उहीँ आवाज आयो। नरेश केही बोल्न खोज्दै थियो मैले उसको जवाफ सुन्नु पूर्व नै खोलाको किनार छेउतर्फ टर्च तेर्साएँ।
अब भने लाग्यो, केही छ कोही छ त्यहाँ। म हत्तपत्त गर्दै खोला किनार छेउ गएँ। मेरो पछि-पछि नरेश पनि आइपुग्यो। झाडीको बिचमा प्लास्टिकले बेरिएको रक्ताम्मे चाउचाउको पेटीभित्र एक बच्चा देखेँ। जुन देख्नासाथ मेरा ओठहरू काँप्न थाले, खुट्टा आफ्नै सुरमा ताण्डव गर्दै थिए।
नरेश पनि डराइरहेको अनुहारबाटै प्रस्ट देखिन्थ्यो। नरेशले हत्त न पत्त त्यो बालक समात्यो र खल्तीको रुमाल निकाल्दै बच्चोको शरीरको रगत पुछ्न थाल्यो। मैले पुनः एक पटक अचम्म मानेँ।
'कस्तो आँटिलो मान्छे यार नरेश तँ त,' मैले डराई डराई भनेँ।
'कस्ता पापी मान्छे थेगिरहेछ यो धर्तीले यो बेकसुर बच्चो दूध चुस्दै आफ्नी आमाको कोखको न्यानो भोग्न छोडेर यो खोलाको चिसो बतास खाइरहेछ। हे भगवान्! यो बच्चोको के कसुर छ?' नरेशले भावुक भई मतर्फ हेर्दै भन्यो।
शरीरको सबै रगत पुछी भ्याइसकेर नरेशले केटी रहेको भन्ने सुनायो।
'घरकी लक्ष्मी यो झाडीमा शिव! शिव! शिव!' ऊ एक सुर बोलिरह्यो।
'मेरो त उस्तै पनि बिहे नगर्ने भन्ने विचार छ यार, म त यी लक्ष्मीलाई मेरै घरमा भित्र्याउँछु। घरकाले जे भनुन् म आफ्नो निर्णयमा अडिग छु। मलाई त ढुंगा खोज्दा देउता भेटिए झैँ भयो,' नरेशले हँसिलो अनुहार बनाई आफ्ना कुरा एक्कासि खन्यायो।
'तेरो जस्तो दरिलो मुटु बनाउन हर कोहीले सक्दैन यार नरेश,' मैले स्याबासीको भाव पोख्दै उसको काँधमा हात राखेर भनेँ।
उसले आफ्नो ज्याकेटमा गुटुमुटु हुने गरी त्यो बच्चीलाई बेर्यो र हामी दुवै घरतर्फ लाग्यौँ, फेरि त्यहीँ खोलाको सुसाहटलाई धन्यवाद दिँदै।
नरेशले सोचेजस्तै भयो, घरकाले लक्ष्मी भित्र्याउन स्वीकृति दिए। म पनि नरेश र नरेशको परिवारलाई बिदा मागी घर आएँ। राति अबेर भइसकेको थियो जाँदाजाँदै, खाटमा पल्टिएँ र कतिखेर निदाएछु पत्तै पाइनँ।
केही दिनपछि म पनि घर छोडी सिम्लातिर लागेँ कामको खोजीमा। जाँदा नरेशलाई पनि भेट्न पाइनँ हतारमा। बल्लतल्ल स्याउ टिप्ने काम पाएँ सिम्लामा।
काम गर्दा गर्दै पाँच वर्ष बितिगएछ सिम्लामा पनि। घर जाने हुटहुटी लाग्यो, यसै पनि दसैँ-तिहारको समय मनले मानेन सिम्लामा बस्न। घर जान भनी झोलिझिम्टो भर्न लागेँ। सम्झिएँ एकछिन त्यो गाउँको रमझम, साथीभाइ, घरपरिवार अनि सबैभन्दा बढी नरेशकी छोरी।
कत्री भई होली अचेल नरेशकी छोरी? नाम राख्न नपाउँदै म सिम्ला आएँ। अब जाँदा जाँदै उसैलाई भेट्छु।
भोलिपल्ट बिहानको मिर्मिरे उज्यालोमै घर जान भनी हिँडेँ। करिब एक दिनको यात्रापछि बल्ल आफ्नो गाउँ सिम्पुर पुगेँ। पुग्दा पुग्दै आमा-बुवासँग सुख दुःखका कुरा साट्दै नरेश र नरेशकी छोरी भेट्न भनी हिँडेँ।
मैले सोचेको कुरा पूरा भएन। छोरीको उज्ज्वल भविष्यको लागि आफू सँगसँगै छोरीलाई पनि विदेश लगेर गएछ नरेश। केही समय राम काकासँग गफ लडाएर बसेँ त्यहीँ।
छोरीको नाम सोधेँ, लक्ष्मी राखेका रहेछन्। नरेश लक्ष्मीको रूप मानेर भित्र्याउँछु भन्थ्यो साँच्चिकै लक्ष्मी नै भित्र्याएछ।
लक्ष्मी भेट्ने मेरो सपनाको पर्दा च्यातियो। सोचेँ, एक खोला छेउको शिशु आज कसैको घरकी देवी बनेकी छे। भाग्य भएरै खोला किनारमा परेकी रहेछ लक्ष्मी। नत्र जीवनभर उसका लागि त्यो घर घर हैन घाट हुने रहेछ।