तिम्रो भविष्य उज्ज्वल होस् भनेर
हामी अन्धकारमै छामछुम गर्दै रमाइरह्यौँ
तिम्रो पाइलामा हिलो नलागोस् भनेर
हाम्रा कैयौँ इच्छाहरूलाई भुइँमा बिच्छाइदियौँ।
समाजलाई देखाउन तिमीलाई परको देश धकेल्यौँ
आज तिमीलाई त्यहाँ हरेक पाइलामा अरूले घचेट्छन् रे
भविष्य चम्किलो बनाई मस्त निदाऊ भनी उता पठायौँ
आज त्यहाँ कैयौँ रात तिम्रा निद्रालाई ड्युटीहरूले उठाउँछन् रे।
आलिसानको जिन्दगी जिउनु भनी अलिकति ऋण गर्यौँ
तर आज परदेशले तिमीलाई ठुला-ठुला ऋणका भारी दिएछ
तिम्रा मिठा सपना पूरा गर भनी हामी तिता बिपनामै रमाइरह्यौँ
तर आज विदेशले तिमीलाई अमिलो वर्तमान उपहार दिएछ।
यता झरीले रुझाएको चरी जस्तै भयो जीवन
खै कता गएर एक्कासि पछारिने हो पत्तो छैन
बाढीले बगाएको मुढा जस्तै भयो हाम्रो जीवन
खै कता गएर खरानी बनिन्छ केही अत्तो छैन।
भो अब त आऊ छोरा स्वदेश
भयो छाड्देऊ त्यो विकसित देश
तिम्रो बाटो हेर्ने मेरो नजर पनि धमिलिन्छ अचेल
तिम्रो आसले आमाको सास पनि छचल्किन्छ अचेल।
यो चाउरिएको उमेरले तिमीलाई नै खोजिरहेछ
यो बाउँडिएको नजरले पनि तिमीलाई पर्खिरहेछ
के बहानामा बोलाऊँ खै छोरा तिमीलाई
यो आत्माले पनि अब त तिम्रै हातमा निदाउन खोजिरहेछ।