त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
यो एउटा डरलाग्दो सुरुङ बनेको छ
यो मान्छे निल्ने सुरुङ
बन्द गर्न नमिल्ने सुरुङ
हरेक दिन हजारौँको भिड लाग्छ यहाँ
कोही रहरले भिडमा मिसिएका छन्
कोही कहरले भिडमा मिसिएका छन्
ढोका एउटै सपना एउटै बोकेर
बाटो र गन्तव्य छुट्टाछुट्टै बोकेर
यहाँ पसेको मान्छे
ढोका नबिर्सिएको भलै होस्
फेरि ढोकामा फर्किएको बिरलै भेटिन्छ
हजारौँका सपना क्वाप्पै पारेको छ यो सुरुङले
थाहा छैन कतिका सपना साकार बनाएको छ
कतिका सपनामा आकार ल्याएको छ
सुरुङको बाहिर आँसुको खोला बगिरहन्छ
जसले एक दिन ठुलै भेल आउँछ जस्तो लाग्छ
देशकै भविष्य बगाउँछ जस्तो लाग्छ
अचम्मको सुरुङ
ढोका बाहिर रहँदासम्म छुटिन गाह्रो
भित्र छिरेपछि फेरि भेटिन गाह्रो
साँच्चै के छ होला त्यो सुरुङभित्र
जहाँ आफूलाई खोज्न आफैँ हराएको छन्
खुसी खोज्न आँसु बगाएको छन्
हजारौँको भविष्य भेटाएको सुरुङले
देशको भविष्य खाएको छ
सुरुङपारि देखिने प्रकाशले
वारिको उज्यालो हराएको छ
आफ्नै बारेमा सोच्ने हो भने
यहाँ भित्र हराउन मन लाग्छ
देशको बारेमा सोच्ने हो भने
हराएकालाई फर्काउन मन लाग्छ
सुरुङको पारि भेटिने उज्यालो
वारि ल्याउन साँच्चै मिल्दैन होला त
पारि जस्तै वारि पनि
भविष्य भेट्न सम्भव छैन होला त
सुरुङभित्र हराएकालाई सोध्न मन छ
तिम्रो भविष्य जस्तै
देशको भविष्य खोज्ने रहर लाग्दैन र?
देशकै अस्तित्व मेटिए
तिमी के रहौला भन्ने डर लाग्दैन र?
अचेल मनमा त्यस्तो रहर पलाएको छ
पारि देखिने उज्यालो यतै छाएको हेर्ने
हराएकालाई फेरि फर्काएको हेर्ने
मेरो देशका युवाले मेरै देशमा
भविष्य भेटाएको हेर्ने।