एकाबिहान सूर्यको पहिलो किरण मेरो घरको त्यो चौडा आँगनमा पर्नासाथ मेरी आमाले मलाई डाँको लगाउँदै उठाउन थालिन्। म निद्रामा मस्त थिएँ, केही नसुनी गहिरो निद्रामा व्यतीत थिएँ।
आमा म भएको कोठा नजिकै आउनु भयो र हेर्नुभयो। ढोका नजिकैबाट भन्नुभयो, ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, यो अहिलेसम्म सुतेकै छ।’
यति भन्दै म नजिकै आउनु भयो र मलाई मिठा शब्दले गाली गर्दै उठाउनु भयो। म जुरुक्क उठेँ र केही नबोली बाहिर निस्केँ।
समय भइसकेको थियो र म पनि आफ्नो विद्यालय जान तयार भइसकेको थिएँ। सालको पहिलो दिन हुनाले विद्यालय जान म पनि निकै उत्सुक थिएँ किनभने आज हाम्रो नयाँ कक्षाको पहिलो दिन थियो।
म विद्यालय पुगेँ, घण्टी बज्यो र हामी सबै लाइन लाग्न गयौँ।
नयाँ कक्षा कोठा, नयाँ हाजिरी अनि नयाँ शिक्षक। आहा! मन निकै चुलबुल भयो। किताब पढ्न मन नपराए पनि नयाँ किताब देख्दा पढौँ पढौँ लाग्दै थियो। हाम्रो हाजिर लाग्न थाल्यो। अचानक हाम्रो हाजिर हुन नसकिँदै सेतो दोपट्टा ओडेकी, रातो सुट लगाएकी, साधारण चप्पल खुट्टामा, दुई चुल्ठी बाटेकी एउटा सुन्दर केटीको प्रवेश हाम्रो कक्षाकोठामा भएको देखेँ।
उनी आँखामा आँसु भरेर जसोतसो भित्र आइन्। म पहिलो बेन्चमा बसेको थिएँ। उनी पनि केही नबोली आएर मेरो छेउमा बसिन्।
सुरु सुरुमा मलाई केही मतलब लागेको थिएन। जब हाम्रो खाजा खाने समय भयो, सबै साथीहरू आफूले ल्याएको खाजा खान हात धुन गए। उनी एक्लै कक्षामा टाउको निहुराएर बसेकी देख्दा मलाई राम्रो लागेन। म जसोतसो उनी भएको ठाउँमा गएँ र आफ्नो हात अगाडि गर्दै भनेँ, ‘मेरो नाम सागर हो, अनि हजुरको?’
उनी केही बोलिनन्। मेरो हात केही बेरसम्म हात मिलाउन उस्तै देखेपछि उनले पनि आफ्नो हात अगाडि बढाउँदै भनिन्, ‘मेरो नाम शारदा हो।’
केही बेर हामी बोल्यौँ। त्यो पहिलो दिनमै हामी निकै घनिष्ठ भयौँ। बिस्तारै बिस्तारै हाम्रो समय बित्दै गयो र यस्तो दिन आयो कि आज हाम्रो विद्यालयको अन्तिम दिन थियो। सबै सुख दुःखका कुरा गर्दै थिए तर मलाई शारदासँगको पहिलो दिनदेखि अहिलेसम्मका झल्कोहरूले मन पिरोली रहेको थियो।
म बाहिर एक, भित्र अर्कै थिएँ। बाहिर हाँस्दै थिएँ तर भित्रभित्रै रोइरहेको थिएँ।
मलाई एक्लै बसेको देख्दा उनी म भएको ठाउँमा आइन् र मलाई हेर्दै के भयो भनेर सोध्न थालिन्। म केही बोल्न सकिरहेको थिइनँ। जसोतसो आँट गरी आज सबै कुरा भन्ने सोचेँ तर उनी म केही बोल्नु अगाडि नै त्यहाँबाट गइसकेकी थिइन्। म चारैतिर उनीलाई खोजिरहेको थिएँ तर उनी घर फर्किसकेकी थिइन्। म पनि मन भारी गर्दै घर फर्केँ।
मलाई निराश देखेर मेरी आमाले मलाई कारण सोधिन्। तर मसँग कुनै जवाफ थिएन। एक दिन दुई दिन गरी धौधौ गरेर दिन काटिरहेको थिएँ। हाम्रो रिजल्ट पनि आयो। अब नयाँ विद्यालयमा भर्ना गर्न डकुमेन्टहरू चाहिएको हुनाले म पनि आफ्ना डकुमेन्ट लिन भनी विद्यालय गएँ।
आज पक्कै मेरो र शारदाको भेट हुन्छ भन्दै खुसी हुँदै गएँ। आज त म आफ्नो मनको कुरा जसरी पनि उनलाई भन्ने छु सोचेँ। म हतार हतार गरी विद्यालय गएँ। मैले धेरै हतार गरेको हुनाले म सबैभन्दा अगाडि विद्यालय पुगेको थिएँ। मैले आफ्नो सबै डकुमेन्टहरू विद्यालय बाट झिकेर उनको प्रतीक्षा गरिरहेँ।
सबै साथीहरू आएर आफ्नो डकुमेन्ट लागिरहेका थिए। सबैले आफ्नो डकुमेन्ट लागिसकेका थिए तर शारदा अहिलेसम्म पनि आइनन्। म निराश हुँदै घर फर्किन्छु भनी निस्केँ।
म विद्यालयबाट केही टाढा मात्रै पुगेको थिएँ कि अचानक पछाडिबाट सागर भनी बोलाएको सुनेँ। पछाडि फर्की हेर्दा उनी शारदा थिइन्। अब मेरो मन धेरै खुसी भयो। म दौडिँदै उनीतिर भागेँ। उनको मुहारमा पनि खुसी देखिरहेको थिएँ।
मैले उनीसँग धेरै कुरा गरेँ। उनलाई अब मनको कुरा भन्छु भनी जमर्को गरी उनको हातमा मैले एउटा सानो चिठी राखिदिएँ। शारदाले भनिन्, ‘म एक छिनपछि पढ्छु हुन्छ? अहिले विद्यालय बन्द हुने समय पनि हुन लागिसक्यो। म आफ्नो डकुमेन्ट ल्याएर आउँछु।’
मैले टाउको हल्लाउँदै हुन्छ भनेँ।
शारदाले मैले दिएको चिठी पढिसकेकी थिइन्। म अझै पनि उनको प्रतीक्षामा बसिरहेको थिएँ। उनी म भएको ठाउँमा आइन् तर केही बोलिनन्।
मैले किन नबोलेको भन्दै प्रश्न गरेँ र उनले अलि खुसी अनि अलि निराश मुहार लगाएर भनिन्, ‘सागर, तिमीले जे कुरा आज भन्यौ त्यो कुरा पहिले किन भनेनौ? आजभन्दा तीन महिना पहिले म पनि तिमीलाई यो कुरा भन्न चाहन्थेँ। तर तिमीले के सोच्ने हौ र मलाई के भन्ने हौ भनी मैले केही नबोली घर फर्कन पर्यो। अब आज आएर तिमी आफैले मलाई यो कुरा भन्दै छौ मलाई निकै खुसी लाग्यो तर...’ यति भन्दै उनी चुप लागिन्।
मैले ‘के भयो? किन चुप लागेको?’ भनी सोधिरहेँ। उनी केही पनि बोलिनन्।
एक छिनपछि उनीले भनिन्, ‘सागर, तिमी मलाई माया गर्छौ र म पनि तिमीलाई माया गर्छु तर हामी एक हुन सक्दैनौँ। म भोलि आफ्नो मामाको घर जाँदै छु। मेरा मामा इन्डिया बस्नु हुन्छ, अब म उतै पढ्छु।’
उनले यति भन्नासाथ मेरा आँखामा आँसु आयो। अनि मैले भनेँ, ‘हेर शारदा, तिमी मलाई अनि म तिमीलाई माया गर्छु। आज हामी टाढा हुनु पर्ने बाध्यता छ। ठिक छ परिस्थिति नै यस्तै छ, तिमी जाऊ म तिम्रो प्रतीक्षा गरिरहने छु।’
शारदा मैले भनेका यी शब्दहरू मनमा राखी खुसी हुँदै भनिन्, ‘सागर म तिम्रै हुन चाहन्छु। म अवश्य एक दिन तिम्रै हुन फर्किने छु, मेरो प्रतीक्षा गर्नु है!’
मैले फेरि टाउको हल्लाउँदै मन भारी गरी हुन्छ भनेँ।
समय बित्दै गयो, शारदा आइनन्। म हरेक दिन उनकै यादमा बसिरहेँ। पक्कै एक दिन उनी फर्किन्छिन् होला भनी म आज पनि उनकै प्रतीक्षामा छु।