बा,
म हारेको होइन
थाकेको पनि छैन
म त संघर्षको मैदानमा जल्दै छु।
बा,
म जल्दै गर्दा निभाउन नआउनु है
बरु जति सकिन्छ
तेल र दाउरा थमाउनु है
यो नसोच्नु कि
छोरो खरानी बन्दै छ
म त मैदानको योद्धा हो नि बा
सके आफै निभौँला
नसके दुस्मनलाई
ताप दिएर त खुसी बनाउँला
सबैले दुस्मनलाई
खुसी दिन कहाँ चाहन्छन् र बा
थोरै थोरै खुसी दिएर
धर्म त कमाउँला।
बा,
तिमीले थपेको दाउराले खरानी होइन
बरु कोइला बनुँला
संघर्ष गर्दै छु अहिले
सफलताको मूल्य पछि भनुँला।
बा,
म जल्दै गर्दा ताली पड्काउने दुस्मनलाई
स्वागत गर्दै गर्नू
मेरो सफलताको राजले
चुक्ता गर्नु पर्ने लागत भर्दै गर्नू।
बा,
म लडेको होइन
थाकेर बसेको पनि छैन
म त पछाडि बोलेको
दुस्मनको गुञ्जायमान सुन्दै छु
के गर्नु र बा
मनलाई सान्त्वना र आवाज नसुनिने गरी
कानलाई थुन्दै छु।
फलानोको छोरोले सफलता पायो भनेर
नआत्तिनु है बा
सुनेको छु
निरन्तर संघर्षले सफलता पक्कै मिल्छ रे
त्यसैले मेरो लागि
आफ्नो पसिना दुस्मनसँग
नसाट्नु है बा
गन्तव्यमा
आज नभए भोलि
भोलि नभए पर्सि त पक्कै पुगिने छ
सफल भएपछि
अरूको नानाथरी शब्द
पक्कै रोकिने छ
मसँग पङ्क्ति मिलाउँदै
हिँड्नेको पाइला
सफलताको रागसँग
पक्कै ठोकिने छन्
बा, मेरो असफलतामा
ईर्ष्या गाडेकाहरूले एक दिन
प्रेमको फूल पक्कै रोप्दिने छन्।