एक घण्टा ठाडो उकालो चढेर म मन्दिरको ढोकामा पुगेँ। ढोकामा पालेले रोक्यो र सोध्यो- ‘हजुरको नाम?’
मैले भनेँ, ‘प्रकाश चन्द्र नेपाली’
हाँसेर पालेले गौणसँग मलाई हेर्यो र भन्यो, ‘हजुरले ठट्टा गरेको होला।’
मलाई कन्सिरी तात्यो र भनेँ, ‘मेरो नाम जे हो त्यही भनेँ। नाममा पनि कसैले ठट्टा गर्छ?’
पाले गम्भीर भएर भन्यो, ‘नेपाली दलित थर हो। मन्दिरमा दलित जान मिल्दैन।’
म छक्क परेँ। आक्रोश र विस्मयले मन घेर्यो।
भनेँ, ‘अनि प्रकाश नेपाल भए के हुन्छ?’
ढोके बोल्यो, ‘ए हुन्छ, नेपाल थर त मिलिहाल्छ नि।’
मेरो मन एकछिन यो संसारले सुन्ने गरी करायो अनि रोयो। मैले आफ्नो गर्जन आफैले सुनेँ।
‘वाहियात छाड्’ भनी कराएँ र मभित्र दर्शन गर्न गएँ।
अब ढोके डरायो।
म कृष्णको मूर्तिको सामुन्ने पुगेँ। कृष्णको आँखाबाट आँसु बग्दै थियो।
मैले सोधेँ, ‘प्रभु, किन यो आँसु?’
कृष्णले भने, ‘तिमीले मलाई आज मुक्ति दियौ। म अब स्वतन्त्र भएँ। पखेटा फैलाएर यो अनन्त ब्रह्माण्डमा पुगेँ। मलाई यहाँ बाँधेर राखेका थिए, आज मुक्ति पाएँ, म सबैको भएँ।’
मेले सोधेँ, ‘प्रभु, तपाईं सधैँ सबैको होइन र!’
मूर्तिका कृष्णले भने, ‘प्रकाश, तिमीले मलाई आज मुक्ति दियौ होइन! म त थोरैको पेवामा सीमित थिएँ। साह्रै पीडामा थिएँ। अब म प्रत्येक मानवको अङ्ग भएको छु। मैले मुक्ति पाएँ। म अब यो सृष्टिको अङ्ग छु र यो सृष्टि मेरो अङ्ग हो। म कण पनि हुँ र समुद्र पनि हुँ।’
कृष्ण मुस्कुराए। त्यो अनुहारको विषाद हरायो।
ईश्वरलाई मुक्ति पनि मानवले नै दिँदा रहेछन्!
अचानक मैले कृष्णको नयाँ रूप देखेँ। भूत, वर्तमान र भविष्य सबै रोकियो। भावना र प्रेमको अथाह संसारमा म कृष्णको अंग भएँ। मेरो आँखाबाट आँसुको मूल फुट्यो।