कुनै ठाउँको कुनै सुन्दर कोठा भित्रको
घुम्ने कुर्सीमा एउटा गजक्क पर्ने साँढे बस्छ
जसले बाछाबाछीलाई खुबै पेलपाल गर्छ
अझ उसले मौका पाउनु पर्छ
सोझा देखिने बछेडालाई त देखिसहँदैन
अलि टाठो बछेडाले बेलाबेला
झुकाएर लात हान्छ भनेर हच्किन्छ
साँढेले कमाउन खुब जानेको छ
खान पाउने बाटोमा सुटुक्कै एक्लै हिँड्छ एक्लै खान्छ
बछेडालाई निचोरेर उनीहरूको परिश्रमको रस खान्छ
मिठो मान्छ आफैलाई बलवान् ठान्छ
मन पर्नेलाई खुब मान्छ, मन नपर्नेलाई बेकार ठान्छ
उत्प्रेरित गर्न जान्दै जान्दैनन्
आफू बाहेक अरूलाई मान्दै मान्दैन
सुन्दर कोठा भित्रको घुम्ने कुर्सीमा
एउटा गजक्क पर्ने साँढे बस्छ
जसले बाछाबाछीलाई खुबै पेलपाल गर्छ।
ऊ आँखा देख्ने भए पनि इमानदार देखिन
चस्मा लगाई टोपल्छ
उसले सरकार आफै ठान्छ
सत्ता आफ्नै ठान्छ
अरूले मान्छन् मान्दैनन् थाहा छैन
आफूले आफैलाई महासेठ ठान्छ
ऊ सुखी हुन खोज्छ दुखी देख्दैन
आफ्नाहरूको लागि लेख्छ अरूको लेख्दैन
बोल्न त खुब बोल्छ
काम गर्दैन
गाह्रोसाह्रोमा छनौटमा पर्दैन
सुन्दर कोठाको घुम्ने कुर्सीमा
एउटा गजक्क पर्ने साँढे बस्छ
जसले बाछाबाछीलाई
खुबै पेलपाल गर्छ।