कक्षाको पढन्ते विद्यार्थीमा गनिन्थेँ म। एसइईपछि पनि कक्षा ११-१२ सोही विद्यालयमा पढ्न परिवारलाई मनाउनु भयो हेडसरले। हुन्छ भनिदिएँ मैले। राजी भएँ पुरानै स्कुलमा ११-१२ पढ्न।
कक्षा ११ को पढाइ सुरु भयो। स्कुल घरभन्दा टाढै थियो। स्कुलको बस थिएन। बस पाउन सजिलो रुट पनि थिएन। हिँड्नै पर्थ्यो। ‘स्कुल छोडिदिन्छु कति हिँड्नु? सक्दिनँ म’ भने मैलेँ।
ढिलो वा गाह्रो साह्रो हुँदा पठाओ वा इनड्राइभ चढ्न घरबाट पैसा दिए। खोजेको त्यही थिएँ मैले। १८ वर्षकी जवान केटी! एउटा केटाप्रति आकर्षित हुन थालेँ।
सँगै पढ्ने राजु अति मन पर्थ्यो मलाई। पढाइमा अब्बल थियो ऊ। ह्यान्डसम त्यस्तै। भुतुक्क हुन्थेँ म। उसले पनि मलाई मन पराउँथ्यो। हामी घुम्न जान्थ्यौँ। परिवार र स्कुलमा कसैलाई थाहा थिएन। हाम्रो प्रेम उत्ताउलो थिएन। शारीरिक आकर्षणभन्दा मनको प्रेम थियो। सभ्य थियो हाम्रो प्रेम।
मेरो परिवार अलि परम्परागत थियो। समयमा घरमा आइपुग्नु पर्ने! ढिला हुनु हुन्थेन। केटाको फोन आयो भने को हो? किन? भनेर अनेक प्रश्न तेर्सिन्थे। उत्तर दिँदा दिँदा हैरान हुन्थेँ।
राजुले मलाई बेलाबेला फोन गर्थ्यो। परिवारले थाहा पाए त्यो कुरा। गाली खानसम्म खाएँ। गालीले राजुप्रति झन् माया बढ्यो। मेरो उद्देश्य उसलाई पाउनु थियो। ‘आइन्दा त्यो केटासँग फोन गर्दिनँ’ भन्ने कसम खाएर परिवारलाई विश्वास दिलाएँ।
मन किन मान्थ्यो? अर्कै जुक्ती निकालेँ मैले।
राजुको फोन नम्बरलाई हेडसर भनेर सेभ गरेँ मैले। एक दिन बाथरुममा नुहाउन जाँदा फोन आएछ। ममीले ‘हेडसरले फोन गर्नु भएको थ्यो, किन हो फोन गर्’ भन्नुभयो।
हेडसर घरकै अभिभावक जस्तो हुनु हुन्थ्यो। उहाँप्रति पूरा विश्वास थियो। जुक्तिले काम गरेकोमा दङ्ग परेँ म।
सकेसम्म उसको फोन आउँदा आफ्नो कोठामा जान्थेँ म। नजाँदा पनि हेडसरको फोन हो भनेर परिवार विश्वस्त भयो। खासै अरूको फोन आउँदैन थियो मलाई। फोन माथिको निगरानी कम भयो। ढुक्क भएँ म पनि।
लामो कुरा राति मात्र हुन्थ्यो। एक्लै हुँदा अनलाइन कुरा गर्थेँ भने परिवारको अगाडि अफलाइनमा कुरा हुन्थ्यो। अफलाइनको कुरा छोटो हुन्थ्यो। प्रायः कुरा साङ्केतिक र पढाइसँग सम्बन्धित भएर गर्थेँ म। त्यसरी नै कुराकानी गर्ने सहमति थियो हाम्रो।
स्कुल छुटेपछि राजुले नै घरसम्म छोड्न आउँथ्यो। म पैसा दिए जस्तो गर्थेँ। भोलिपल्ट क्यान्टिनको खाजा खाने पैसा त्यही हुन्थ्यो। पठाओ/इन्ड्राइभ वाला भनेर ढाँटिदिन्थेँ म। परिवारले कुनै शङ्का गरेन।
राजुको फोन आउँदा पनि मलाई परिवारको अगाडि कुनै तनाव भएन। किनकि हेडसर भनेर सेभ थियो त्यो नम्बर!
कक्षा १२ पछि दुवैले सरकारी क्याम्पस भर्ना गर्यौँ। सरकारी क्याम्पस नजिक थियो। यसले सहज बनायो। दुवैले मेहनत गरेर पढ्यौँ। उसले बैंकमा जागिर पायो।
स्नातक सकेपछि घरमा बिहेको कुरा चल्यो। ‘धेरै ठाउँबाट कुरा आएको छ, अब छोरीको विवाह गर्नुपर्छ’ भन्न थाले परिवारमा।
बाबाले ‘तेरो केटा छ कि?’ भनेर एक पटक सोध्नु भयो।
मैले टाउको हल्लाएँ।
‘देखा तेरो केटा’ भन्नु भयो।
तमाम कुरा राजुलाई बताइसकेको थिएँ मैले। विवाहको लागि हामी दुवै तयार थियौँ।
राजु जब मेरो घरमा आयो, बा-आमा झस्किनु भयो। बेलाबेलामा पठाओ/इन्ड्राइभ भन्दै मोटरसाइकलमा घर ल्याइदिने पो रहेछ हुने वाला ज्वाइँ! उसलाई देखेर बा-आमा मुखामुख गर्नु भयो।
मुसुमुसु हाँसेँ म। बाबा-आमाको अनुहार निहालेर हेरेँ मैले।
जुक्ति लगाउनु पर्छ जुक्ति! जुक्तिले काम गर्यो। मेरो जुक्ति तपाईंहरूलाई कस्तो लाग्यो कुन्नि? यो मेरो नितान्त व्यक्तिगत कुरा थियो। सार्वजनिक गर्नु हुन्थ्यो वा हुन्थेन! प्यारो मान्छे पाउन यस्तोसम्म गरेँ। यसरी पाएँ हुनेवाला श्रीमान्!