म आधा बाटोमै थाकिसकेको छु
मेरा खुट्टाहरू फतक्कै गलिसके
मेरा घुँडाहरू मक्किइसके
अहिले त अगाडि बाटो देख्यो कि लरखराउँछु
गन्तव्य सम्झँदा बरबराउँछु।
काली (गण्डकी),
तँ त धेरै माथिबाट आएको छस्
र अझै टाढा– धेरै टाढा पुग्नु छ तँलाई
तेरो गन्तव्य मेरोभन्दा कयौँ गुणा टाढा छ
तर पनि तँ उस्तै जोस र रफ्तारले
हरपल दौडिन्छस्
आज मलाई भन
खोल् त भित्री रहस्य
यो जोस, यो शक्ति
तँ कहाँबाट ल्याउँछस्?
हरेक रात, आँसुका मसीहरूले
बिलौनाका कविताहरू कोर्छु
सिरानीमा च्यापेर
दुःखका अक्षरहरूसँग निदाउँछु
तर जब अर्धचेत अवस्थामा पुग्छु
तेरा छालका सुसेलीहरूले
मलाई झल्याँस्स ब्युँझाउँछन्
झ्यालको पर्दा सारेर तँलाई चाहाउँछु
तँमा थकानको छाया पनि देख्दिनँ
हिजो जस्तै
उही गति, उही उत्साह
तँलाई हेरेपछि
मेरा बसिसकेका नाडीहरूमा
रक्तसञ्चारको अनुभूति हुन्छ
मैले लेखेका पराजयका कविताहरू
च्यातेर कुनामा मिल्काउँछु
च्यातिएका पानाले
डस्टबिन त भरिएको छ
तर मेरो मन
मेरा सपनाहरू
हिजोझैँ आज पनि रित्तो नै छन्
आज मलाई भन
खोल त यो रहस्य
यो अनवरत दौडने शक्ति
तँ कहाँबाट ल्याउँछस्?
कालीले मेरो कुरा सुनेर
थोरै गम्भीर अनुहार बनाउँछ
आफ्नै सुसेलीमा भन्छ-
‘तँ जति अगाडि बढ्छस्
तेरा साथहरू छुट्दै जान्छन्
गन्तव्यमा पुग्दासम्म तँ
उस्तै एक्लो हुन्छस्—
जसरी यात्रा सुरु गर्दा
एक्लो थिइस्
तर म?
मैले यात्रा सुरु गर्दा
कहाँ एक्लो थिएँ र?
बाटोमा खोल्साहरूले साथ दिन्छन्
खहरेहरूले ढाडस
वर्षाहरूले अँगालो हाल्छन्
बिचमा काँध थाप्ने खोलाहरू भेटिन्छन्
मलाई साथ दिनेहरूले
बलियो बनाउँछन्
तँलाई साथ छोड्नेहरूले
कमजोर बनाउँछन्
त्यसैले त तेरो गन्तव्य
धेरै टाढा छैन
चिन्ता गर्दागर्दै
चितामा पुग्छस्
अनि बिलाउँछस् सधैँको लागि
म?
जब म थाक्छु
साथ दिनेहरूले काँध थाप्छन्
त्यसैले चक्र झैँ घुमिरहन्छु—
कहिले पानी बनेर, वर्षा बनेर
कहिले बादल बनेर, नदी बनेर
र त कहिले समुद्र बनेर।’