हिउँदको बिहान। चिसो हावाको सुस्केराले मेरो अनुहारमा हल्का छुँदै गएको थियो। सहर अझै निदाएकै थियो। मैतीदेवीको चौतारामा म एक्लै उभिएँ।
कुहिराले पूरै चौतारो ढाकेको थियो, मानौँ चारैतिर एउटा रहस्यमय पर्दा तन्किएको होस्। मन भारी थियो, हातमा पुरानो खैरो झोला, झोलाभित्र केही कपडाहरू, केही पुराना चिठीहरू र केही अधुरा सपनाहरू।
आज अन्तिम भेट थियो।
सधैँ जसो व्यस्त देखिने यस चौतारामा अचम्मको शून्यता थियो। कुनै आवाज थिएन, केवल चिसो हावाको सुस्केरा, कुहिराको हलचल र टाढा कतै चराहरूको हल्का चिरबिर। त्यस चिसो मौनताले मेरो मनलाई झनै गहिरो बनाएर समेटिरहेको थियो। हरेक पल लामो, झन् गहिरो, झन् असहज।
घडी हेरेँ। उनलाई पर्खेको करिब आधा घण्टा हुन लागिसकेको रहेछ। उनी भने मेरा आँखाले भ्याउने टाढा क्षितिजसम्म पनि कतै देखा परेकी थिइनन्।
आकाश बिस्तारै खैरोबाट निलो हुँदै थियो। यस्तो लाग्यो, समय क्रमशः खोलिँदै छ तर त्यसको गति निकै सुस्त थियो। छेउछाउका पसलहरू अझै खुलेका थिएनन्। चिया बेच्ने बुढा बाले टाढाबाट कुहिरो फुक्दै आफूलाई न्यानो बनाउन खोजिरहेका थिए। बाटामा हल्का चहलपहल सुरु भएजस्तो भयो तर मेरा लागि त्यहाँ केही पनि चलायमान थिएन।
मैले हिजोको कुरा सम्झेँ। फोनमा उनको आवाजमा असहजता थियो।
‘म तिमीलाई भोलि भेट्न चाहन्छु,’ उनले भनेकी थिइन्। त्यो स्वर असामान्य थियो— न नजिक, न टाढा। त्यसैले मेरो रातभरि निद्रा खोसेको थियो।
त्यस बिहानीमा मैले उनीसँग बिताएका दिनहरूको फिल्म मनमा दोहोर्याएँ। पहिलो भेटको त्यो हिचकिचाहट, उनीसँगको पहिलो हाँसो र हाम्रा स-साना झगडाहरू। ती दिनहरू, ती क्षणहरू, ती कुराहरू— सबै अहिले सम्झनाहरू थिए।
कुहिरो झन् बाक्लिँदै थियो। त्यसै क्रममा उनी आइन्।
पुरानो खैरो कोट लगाएकी, निधारमा चिसाले बनाएको रातो छाया। उनका आँखा, अहो! ती आँखाहरूले कति कथा बोकेका थिए— प्रत्येक पलका, प्रत्येक भावनाका। उनका पाइलाको चाल मन्द थियो, मानौँ उनी मेरो नजिक सक्दो ढिलो पर्न खोजेकी छन्। म भने उनलाई आफूसामु नजिकबाट नियाल्न आतुर भइसकेको थिएँ।
‘कति समय भयो, पर्खिरहेको?’ उनले सोधिन्।
म थोरै मुस्कुराएँ। त्यो मुस्कुराहट कति कमजोर थियो, म मात्र जान्दथेँ। मैले भनेँ, ‘धेरै होइन।’
मनको घडी भने कुदिसकेको थियो; उनका हरेक शब्द, प्रत्येक चालको प्रतीक्षा गर्दै। झुटो बोल्न कहिल्यै सहज लाग्दैन तर कहिलेकाहीँ सत्य बोल्न झनै गाह्रो हुन्छ।
हामी केही बेर मौन भयौँ। त्यो मौनतामा पनि धेरै कुरा गुन्जिरहेका थिए। हावा चलिरहेको थियो, उनको केशका केही तार तरङ्गिँदै मेरा अनुहारतिर आइरहेका थिए।
‘म भोलि जाँदै छु,’ उनले भनिन्। उनको स्वर शान्त थियो। तर मेरा लागि आँधी थियो। मैले गहिरो लामो सास तानेँ।
झोलाबाट एउटा पुरानो किताब निकालिन्। धुलो जमेको भए पनि उनको स्पर्शले त्यो अझै विशेष बनेको मलाई लाग्यो। त्यो किताब हेर्दै मलाई थमाइन्- ‘यो तिमीलाई।’
‘किन?’ मैले झट्ट सोधेँ।
‘कहिलेकाहीँ हामीले केही कुराहरू आफ्नो बनाउन छोड्नुपर्छ,’ उनले सहजै भनिन्, ‘म यो किताबसँग धेरै वर्षदेखि छु। अब यो तिमीलाई चाहिन्छ।’
मैले त्यो किताब पल्टाएँ। भित्रको एउटा पानामा हल्का मसीले लेखिएको थियो- ‘माया कहिल्यै हराउँदैन, समयको रूप मात्र बदलिन्छ।’
उनलाई हेरेँ।
‘के तिमी फेरि फर्कनेछौ?’ आवाज सम्हाल्दै सोधेँ।
उनी हल्का मुस्काइन्।
‘कहिलेकाहीँ बाटाहरू केवल अगाडि जान्छन्, फर्कन पाउन्नन्,’ उनले भनिन्, ‘तर सम्झना हामीसँगै रहन्छ।’
मैले बुझ्न त खोजेँ तर मनले मानेन। त्यो मुस्कान हेरेरै उनी मबाट टाढा भइसकेको महसुस भयो। उनी कुनै सपना जस्तो लाग्थिन्— मन परे पनि सधैँका लागि आफ्नो बनाउन नपाइने सपना।
त्यही बेला उनको फोन बज्यो। उनीले एकछिन चुपचाप फोनमा हेरिरहिन्। केही बोलिनन्। मैले केही बुझ्न सकिनँ। उनले फोन राखिन्, गहिरो सास तानिन् र अचानक भन्न थालिन्- ‘म यो निर्णय गर्न बाध्य छु। मेरो संसार अहिले फरक छ।’
मैले उनलाई थप प्रश्न गर्न खोजेँ। उनका आँखा र स्वरले रोकिदिए।
हामी केही समय त्यहीँ वरिपरि हिँड्यौँ। सँगै हिँड्दा मैले बिर्सेँ कि म एक्लै हुन जाँदै छु। बाटामा पसलहरू खुलेका थिए, मान्छेहरू व्यस्त देखिन्थे। एउटा सानो कुकुर हाम्रा नजिक आएर खेल्न थाल्यो। उनी रमाउँदै कुकुरलाई माया गर्न थालिन्। त्यसै बेला मनमा लाग्यो- ‘उनलाई जति माया अरू कसलाई गर्न सकुँला र!’
‘म तिमीलाई छोड्न सक्दिनँ,’ अन्ततः मैले भनेँ।
‘समयसँगै म फेरि फिर्ता आउने आशा गर। तर अहिलेका लागि यो बिदाइ हो। यसमा कुनै गुनासो नगर। हाम्रो यात्रा यहीँ रोकिनु पर्ने रहेछ,’ उनले बिस्तारै भनिन्।
म केही बोल्न खोजेँ। शब्दहरू मुखमै रोकिए।
उनी टाढा जान लागिन्। उनका पाइला कुहिरोमा हराउँदै थिए। मेरा शब्दहरू पनि उनीसँगै हराए।
उनको अन्तिम मुस्कान अझै मनभरि छ। त्यो कुनै साधारण बिहान थिएन। त्यससँगै मैले केवल एउटा किताब मात्र पाएको थिइनँ, एउटा अध्याय पनि बन्द गरेको थिएँ।
त्यस चौतारामा उभिँदा मलाई अनुभूत भयो- जीवनमा हरेक व्यक्ति, हरेक क्षणले केही न केही सिकाएर जान्छन्। जीवनका अत्यधिक कुरा बिर्सनका लागि मात्र हुन्छन्, सम्झने कुरा सीमित छन्। उनी मेरो त्यही सीमित स्मृति हुन्। उनको सम्झनाले नै अब मलाई हरेक बिहान नयाँ सुरुवात गर्न प्रेरित गर्नेछ।
उनी मेरो जीवनको यस्तो पात्र बनिन् जो मलाई माया, बिदाइ र स्वीकारको गहिरो अर्थ सिकाएर गइन्।
त्यसै क्षणमा बुझेँ- ‘गन्तव्यभन्दा यात्रा नै महत्त्वपूर्ण हो। यात्रा अविराम चलिरहन्छ र जीवनको हरेक बिदाइ नयाँ यात्राको सुरुवात बन्छ।’