एक दिन गोधूलिको झिसमिसेमा साँझपख लावालस्कर लागेर मान्छेहरू हाम्रो बस्ती छिरे। तिनीहरू साह्रै भोकाएका थिए भन्ने कुरा उनीहरू पुग्ने बित्तिकै सुरु गरिएको खानपान व्यवस्थापनबाट प्रस्ट थाहा हुन्थ्यो।
हाम्रो परिवारलाई ६ जना मान्छेहरूलाई खुवाउने जिम्मा पायो। तिनीहरू हाम्रा के नाताका थिए मैले केही पहिल्याउन सकिनँ। कद्दुको तिहुन र गहुँका रोटा मिठो मानेर खाएपछि चुठ्ने बेलामा आमातिर फर्केर 'कमरेड! फर्सीको तरकारी र गहुँको रोटी खुवाउनुभयो धन्यवाद’ भनेपछि थाहा भयो यो कमरेड साइनो मैले आजसम्म नजानेको साइनो रहेछ। मैले नभोगेको नयाँ साइनो रहेछ कमरेड।
खाई वरि हाम्रो घरको भुइँतलामा कुराकानी सुरु भयो। मैले कुराकानी भनेको त्यो कार्यक्रम जनभेला रहेछ। म पनि आमाको पुरानो धोती ओढेर कोठाको कुनातिर थचारिएँ। म कमरेडलाई हर थोक अनौठा लागिरहेको थियो।
कार्यक्रम सुरु भयो। हाम्रो कक्षामा जान्ने साथीलाई हेडसरले मनिटर बनाएजस्तै कान्छाबाठा बाजे मनिटर जस्तै खै के जाति बने। यो भनेको कार्यक्रमको अध्यक्षता गरेको रहेछ। तिहारमा फिनी रोटी पकाउने मैदाको पिठो जस्तो निक्खर सेतो अनुहार, त्यस्तै सेतो कपाल भएका एक जना पाखो अग्लो मान्छेले राती अबेरसम्म भाषण गरे।
इन्क्लाब, सामन्तवाद, जनवादी गणतन्त्र, जनसत्ता, बिस्तारवाद, कम्युन, जनअदालत यस्ता थुप्रै शब्द मैले पहिलो चोटि सुनेँ। त्यस रात पहिलो चोटि नेपाली शब्द पनि नबुझिने हुन्छन् भन्ने थाहा पाएँ मैले।
‘हामीलाई चारै तिरबाट घेराबन्दी गरिएको छ, हामी मर्न वा मार्न तयार हुनुपर्छ, हामीले सामन्ती राज्यसत्ताको प्रतिकार गर्नुपर्छ’ यति भनेर ती गोरा कमरेडले भाषण सके।
भाषण सकेर बस्ने बित्तिकै फेरि जुरुक्क उठे, कान्छाबाठा बाजेतिर फर्के, मुट्ठी कसेर टाउको माथि लिएर भने- ‘कमरेड, म बाहिर जान चाहन्छु।’
कान्छाबाठा बाजेले पनि मुट्ठी उठाएर सहमतिको सङ्केत गरे। लगत्तै उनी बाहिर निक्लिए।
‘हामीलाई आक्रमण हुनसक्छ’ भनेर बाहिर निक्लिएका यी कमरेड यति राती कहाँ जान आँटेका हुन्?
के लड्न निक्लिए त उनी?
अनि हतियार?
यी प्रश्नले मेरो बाल मानसपटलमा उत्सुकताको बाढी ल्यायो। बाल हठले धकेलेर मलाई एक चोटिमा आँगनमा पुर्यायो। तिनको पछि लागेँ म। बाहिर चुक छरेजस्तै अँध्यारो थियो। मेरो मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्यो। पारीपट्टि खारामा तारो थापेजस्तै सैनिक ब्यारेक थियो। उनीहरू बेलाबेला चारैतिर तीनसेले जस्तो खतरा टर्च घुमाउँथे र छाडा बोल्थे।
अँ, म घरको कुनासम्म पुग्दा ती गोरो कमरेड हाम्रो साग बारीसम्म पुगिसकेका थिए। करेसामा साह्रै राम्रो साग थियो त्यति बेला हाम्रो। त्यति ठुला पात भएको साग गणतन्त्र आएदेखि मैले हाम्रो बारीमा कहिल्यै देखेको छैन।
केराका जत्रा पात भएको लालभाजी सागको बारीमा हराए उनी। मैले आँखा झिमिक्क नपारी हेरिराखेँ। बिग्रेको बम पट्किँदा आएको जस्तै फुस्स आवाज आयो। त्यसपछि बारुदको भन्दा कडा गन्ध नाकमा ठोक्कियो। मैले कुरो बुझिहालेँ, भित्र रातो सलाम ठोकेर निक्लेका ती गोरा कमरेडले अघि आमा कमरेडले पकाएको गहुँको रोटी र कद्दुको तिहुन पो विसर्जन गरेका रहेछन्।
जुरुक्क उठे उनी। पेटी कस्दै साग बारीबाट निक्लिए।
म दौडेर कार्यक्रम स्थल पुगेँ। उच्छृङ्खल भएर ढोकामा बसेका बा कमरेडलाई फत्लक्कै नाघेछु। सेना आएको शंकाले सबै कमरेडहरूको सातोपुत्लो गयो। सबैले मैतिर हेरे। आमाले लात्ताले भकुर्नु भयो मलाई।
सायद सोच्नुभयो होला- यही हो बर्गबैरि, यहीबाट सुरु गर्छु महिला मुक्तिको यात्रा, यो पनि भोलि सामन्त बन्न के बेर!
म भने गल्ती गरेको लाज र पिटाइ खाएको पीडाले रुझेको बिरालो जस्तै भएँ। थलिएँ म बेस्सरी। त्यति बेला मेरो अवस्था युद्ध हारेका सिपाहीको जस्तै भएको थियो होला।
त्यतिखेर मनमनै सोचेको थिएँ- 'कान्छो छोरालाई यसरी पिट्ने मेरी आमा साँच्चिकैका सामन्त भेटे कति पिट्दी हुन्?'
त्यसपछि?
त्यसपछि म कान, आँखा र मस्तिष्क बिउँझै राखेर आमाको दाहिने खुट्टो सिरानी लगाएर सुतेँ। के सुत्नु, सुतेजस्तो गरेँ।
यही रातबाट म भित्र भौतिकवादको भूत सवार भयो। ‘बोक्सी हुँदैनन्। धामी झाँक्री गलत हो। जातले मान्छे सानो ठुलो हुँदैन। महिला र पुरुष बराबर हुन्। राजा सामन्ती हुन्, भगवान् र देउता भ्रम हो। त्यसैले हामी भौतिकवादी बन्नुपर्छ।’ सबै कमरेडहरूले उठेर मुठ्ठी कसेर प्रण गरे।
मैले पनि सुतेरै खुट्टो तनक्क तन्काएर बाचा गरेँ- ‘आजदेखि म पनि भौतिकवादी।’
त्यस दिनदेखि भौतिकवादी भूतले मलाई अझै छोडेको छैन। सिद्धान्तका हिसाबले यो ब्रह्माण्डमा सबैभन्दा ठुलो भौतिकवादी म नै हुँ।
भौतिकवादको भूतमा सवार भएको २५ वर्षपछि समयको लट्ठे पिङले हुत्त्याएर मलाई जागिरका लागि रुकुम पूर्व पुर्यायो। भूत नमाने पनि वर्तमानमा खानु त पर्यो, भविष्यसम्म जिउनु त पर्यो।
कर्मथलो रुकुम पूर्व नपुग्दै फोनबाट कोठाको बन्दोबस्त गरियो।
मैले सबैभन्दा एकान्त घरमा कोठा खोजिदिन निवेदन गरेँ। मैले कल्पना गरेको भन्दा पनि माथि साह्रै एकान्त कोठा रहेछ। कोठा मात्र होइन घर नै एकान्त थियो।
मेरा घरबेटी मेरै उमेरमा मस्तिष्कघातबाट पाँच वर्षअघि बित्नुभएछ। उहाँको श्रीमती पोइल हिँडेपछि तीन सन्तान बाजे बज्यैको शरणमा पुगेछन्। त्यसपछि घर खण्डहर भएको रहेछ।
कोठामा बस्न थालेको दुई दिन भएको थियो।
तिनै मर्नेको छोरी चार कक्षामा पढ्ने नानु आएर भनी- ‘सर, मलाई 'काल' सिकाइदिनू।’
दुबिधामा परेँ म। यसले आफूहरूलाई टुहुरो बनाएर ३० वर्षको जवानीमै बुवालाई लिने काल सोधेकी हो वा लथालिङ्ग वर्तमान र अनिश्चित भविष्य भएर पनि नेपाली व्याकरणका भूत, वर्तमान र भविष्य काल सोधेकी हो!
उसो त यता मगर खाम भाषामा साह्रै नकारात्मक अर्थ दिने शब्द पनि हो 'काल'।
नेपाली व्याकरणको कालका बारेमा सिकाउँदै थिएँ। उसले माथि दलिनतिर हेरी र भनी- ‘सर, ऊ त्यहाँ लेखेका अक्षर मेरो बाबाका हुन्।’
मैले झट्ट चियाएँ। खाम भाषामा ठुला अक्षरमा लेखिएको थियो- ‘माया र जिन्दगी पनि खेल ओताओ।’
अर्थात् 'माया र जीवन पनि खेल रहेछ।'
यो वाक्यले मलाई चस्स छोयो, 'माया र जिन्दगी पनि खेल ओताओ।' यदि स्वर्ग र नर्क हुँदो हो त मेरा घरबेटी स्वर्गबाट हेरिरहेका हुँदा हुन्। यही आदर्श वाक्य हेर्दै उनकी अर्धाङ्गिनी नाबालक तीन सन्तानलाई एक्लै छोडेर कुन बाध्यताले पोइल हिँडेकी हुन्!
तेस्रो दिन। कोठा बस्न थालेको तेस्रो दिन। सदाझैँ राती ९ बजे खानपिन गरी निद्रादेवीको काखमा पल्टिएँ म। मध्य माघ थियो। चिसोको कुरै नगरम्। चिसोले होला राती १२ बजे निद्रा खुल्यो। ब्युँझिँदा पिसाबले चाप पारेको रहेछ। ढोका खोलेर बाहिर निक्लिएँ। रात नीरव थियो। पारीपट्टि पुथा हिमाल ठिंग उभिएको अनुमान लगाउन सकिन्थ्यो। तल सानिभेरी नदी उही गर्जन र उही सुसाहटमा छङछङाइरहेको थियो। बेलाबेला सानिभेरी र पुथाको संयुक्त प्रस्तुति चिसो सिरेटो वेगमा आउँथ्यो र चस्स छोएर अघि बढ्थ्यो।
मलाई चर्पीसम्म पुग्न पनि जाँगर चलेन। आँगनमै गरेर म कोठा फर्केँ। त्यसपछि पटक्कै निद्रा लागेन। मनमा न्यास्रो महसुस भयो। फेरि दलिनतिर हेरेँ। 'माया र जिन्दगी पनि खेल ओताओ।' उही अक्षर देखिए। कोल्टे फेरेँ। अहँ निद्रा पटक्कै परेन।
राती झन्डै दुई बजेको हुँदो हो, उता पर बारीमा कतै झाँक्री बसेको जस्तै आवाज आयो। त्यो आवाज झन्-झन् गाढा हुँदै आयो। गहुँबारीको बिचबाट म बस्ने घरतिर आइरहेको त्यो आवाज झन्-झन् स्पष्ट हुँदै गयो।
सुरुमा झाँक्री बसेको जस्तो सुनिने त्यो आवाज घण्टीको मात्र रहेछ। त्यो घण्टीको आवाज झन्-झन् शनैशनै नजिक हुँदै बार्दलीमा आइपुग्यो। मेरो शरीरमा काँडा जिरिङ्ग गरे। मुटुको कम्पन गति ह्वात्तै बढ्यो। कान ताता भए। हातखुट्टा चिसा भए।
डर के हो मैले पहिलो चोटि भोगेँ। पच्चीस वर्षदेखि अनवरत मेरो शरीरमा सवार भौतिकवादी दृष्टिकोणको धरहरा गर्ल्याम्म ढल्यो। कैँजा हाल्यो वनझाँक्री भूतले। भौतिकवादको आदर्शले देशको सबैभन्दा ठुलो शक्तिपीठ पशुपति मन्दिरको ढुङ्गोमा कहिल्यै ननिहुरिएको शिर झुक्यो पहिलो पटक।
मनबाट अनायास फुत्क्यो- ‘हे भगवान्! हे सिद्ध कुल देउता बचाउ मलाई। हे डिग्रे शाइकुमारी माता रक्षा गर मेरो।’
रात त बित्यो।
कसरी बित्यो होला?
त्यो कल्पना मात्र गर्न सकिन्छ। भन्न सकिन्न।
अर्को दिन बिहान ८ बजे उठेँ। ढोका र झ्यालको खापबाट मेरो भाडाको निवासमा घाम कुना-कुना छिरिसकेका थिए। मनको अँध्यारो भने उस्तै थियो। आँखाका केचा मिच्दै बिस्तारै ढोका खोलेँ। बाहिर बार्दली झरेँ। घरको वरपर घुमेँ। राती वनझाँक्री भूत आएको ठाउँतिर हेरेँ। अहँ, केही अत्तोपत्तो थिएन।
सबै वातावरण उस्तै थियो। सबै पर्यावरण सामान्य थियो। कतै मैले सपना त देखेको होइन? कतै मलाई भ्रम परेको मात्र त होइन? झन् कन्फ्युज परेँ म। बिपना भए पनि सपना थियो कि भन्ने भ्रम पार्न खोजेँ मनमा। त्यही भ्रमकै बिच दैनिकी सुरु भयो।
दिनभर रातको अनिदोले टाउको भारी भइरह्यो। आज त साँझ नपरे पनि हुन्थ्यो झैँ लागेको थियो। बिहान ढिलो उठेको भएर होला झन् छिटो रात परेजस्तो लाग्यो। करिब ७ बजे बाहिर आएर चारैतिर दृश्यावलोकन गरेर घर्यापघुरुप ढोका लगाएँ। आखिर राती सुत्नु छैन। अहिल्यै पल्टेर क्यार्नु।
हिन्दी सिरियल सिआइडी हेर्न थालेँ। सिरियलको कथा भूतसँग सम्बन्धित थियो। हे भगवान्! के हुँदै छ यस्तो? त्यसपछि सिआइडी छोडेर अर्को हिन्दी सिरियल अदालत हेर्न थालेँ। अदालतको आधा उधी भाग पुग्नै लाग्दा फेरि पर कतै घण्टीको आवाज सुनियो।
मैले नसुनेजस्तो नाटक गरेँ। घण्टीको झन् चर्को आवाज आउन थाल्यो। मोबाइलको आवाज ठुलो बनाएँ। भएन। अहँ, भएन। हार्यो मोबाइलले। ठुलो भोल्युम बनाएर इयरपडबाट गीत सुन्न थालेँ। चर्चित देउडा गीत- 'घुम बादल अपिका रोल।'
म जस्तो ६ कक्षामा पढ्ने बेलादेखिको भौतिकवादीले नसकेको यो वनझाँक्री भूतसँग जाबो एउटा देउडा गीतले के सक्नु। गीतको भन्दा झन् ठुलो स्वरमा घण्टी बजाउँदै वनझाँक्री भूत बार्दलीमै आइपुग्यो।
यसो देब्रे हातको नाडीतिर हेरेँ। घडीको लामो सुई १२ मा र छोटो सुई ८ मा मात्र पुगेको रहेछ। अर्थात् भर्खर ८ बजेको रहेछ।
अब कोठामा बस्नु कसरी? यत्रो रात काट्नु के गरी? मर्ता क्या नही कर्ता भनेझैँ मैले वनझाँक्रीलाई हेर्ने, कि मर्ने कि मार्ने निर्णय गरेँ।
फेरि सोचेँ- ‘यो त मरेरै भूत भइसकेको वनझाँक्री होला, मर्नु पर्ने म पो हो!’
मसँग अर्को विकल्प थिएन। मोबाइलको टर्च बालेर टाउकोमा बाँधेँ। तरकारी काट्ने सानो चक्कु बायाँ हातमा समाएँ। सुस्तरी ढोकाको गरालो खोलेर दायाँ हातमा राखेँ। आधुनिक हतियारले सुसज्जित युद्ध सिपाही झैँ भएँ म। बायाँ खुट्टो अगाडि ढोकामा दायाँ पछाडि भुइँमा।
अदम्य साहस बोकेर ढोका खोल्नै लाग्दा बायाँ खुट्टो थरथर लगलगाइ रहेको थियो। लामो सास फेरेर खुट्टाले घर्याप्प ढोका खोलेँ।
बाहिर बार्दलीमा ठुलो जीउ, ठुलै टाउको, मोटा हातखुट्टा, काला रौँ भएको बडेमानको भोटे कुकुर थियो। ऊ बिहान भाँडा माझ्न लाँदा चुहिएका दालका पित्का चाटिरहेको थियो। जिब्रो चलाउँदा घाँटी हल्लिन्थ्यो। घाँटीसँगै हल्लिन्थ्यो घाँटीमा बाँधेको घण्टी। दयाको दृष्टिले पुलुक्क मतिर हेर्यो। सायद भन्यो होला- ‘थुक्क! तेरो क्रान्तिकारी बिचार।’
मैले लामो सास फेरेँ। अनायास ठुलो स्वरमा कराएँ- ‘इन्क्लाब जिन्दाबाद, भौतिकवाद जिन्दाबाद, अध्यात्म भ्रम हो।’
मेरो आवाजले कुकुर तर्सिएर भाग्यो। जताबाट आएको थियो, घण्टी बजाउँदै उतै लाग्यो। त्यस रात म माघको चिसोमा ढोका खुल्लै राखेर उत्तानो परी भौतिकवादको सास लिँदै मस्त निदाएँ।