'यसको रिस ठ्याक्कै उसकै बाउको जस्तो छ।’
मेरो ममीको दोहोरिइरहने वाक्य हो यो।
‘पोख्रेलको त रिस नै कडा,’ यो वाक्य आफन्त तथा छरछिमेकले अनि गाउँलेले भन्ने।
रिस जिनमा जोडिएको हुन्छ रे, हजुरबुवा रिसाहा हुनुभयो भने त्यसको असर बुवा अनि बुवाको रिसको असर छोराछोरीलाई।
सानैमा एक पटक म बुवासँग रिसाउँदा उल्टै गाली अनि बोनस स्वरूप कुटाई पनि खाएको थिएँ। अब यसमा आश्चर्य चाहिँ के छ भने, म रिसाएको देखेर मेरो बुबालाई रिस उठ्यो रे! किन रे भन्दा, अहिले मेरो रिसाउने उमेर नै भएको छैन रे!
ए अचम्म! भनेपछि रिसाउन पनि म ठुलो नै हुन पर्ने?
रिस एक स्वाभाविक मानवीय भावना हो तर यसलाई नियन्त्रणमा राख्न महत्त्वपूर्ण छ। रिसले कहिलेकाहीँ हाम्रो विचार र व्यवहारमा नकारात्मक प्रभाव पार्न सक्छ।
हामी जन्मिँदा रिसाउन त पक्कै सिकेर आएको हैन। समाज, घरपरिवारबाट सिकेको हो जस्तो लाग्छ।
रिस उठ्छ नै किन? रिसाएर अनि रिसको आवेगमा गर्ने चाहिँ के? रिस मरेपछि म किन रिसाएछु भनेर पश्चात्ताप नै लाग्ने हो।
रिसका विभिन्न कारणहरू हुन्छन्। जस्तै- असन्तोष, निराशा वा अन्य व्यक्तिहरूसँगको संवाद। अनि म मात्र ठुलो हुँ भन्ने भावले पनि रिस उत्पन्न गर्छ। कहिलेकाहीँ हामीले आफ्नो भावनाहरूलाई व्यक्त गर्न नसक्दा रिसको भावना बढ्न सक्छ।
आफै बिचार गर्नुहोस् न, प्रेमिकासँगको रिस कति बेरसम्म टिक्छ? अनि अर्को कुरा, प्रेमिकासँग तपाईंलाई रिस उठ्यो भने उनी आफै रिसाउन थाल्छिन् तपाईं उनीसँग रिसाउनु भयो भनेर।
मेरो जीवनको अनुभवमा मैले एक सहकर्मीलाई सामना गर्नुपरेको चुनौतीपूर्ण स्थिति थियो जसले हाम्रो सम्पूर्ण काम गर्ने ठाउँलाई असर गर्यो। मेरो प्रारम्भिक प्रतिक्रिया रिस थियो र मैले उनलाई चिढ्याएर कुरा गरेँ। तर त्यस घटनाबारे सोच्दा, मैले महसुस गरेँ कि मेरो रिसले समस्या समाधान गरेन। यसले मात्र कार्यस्थलमा तनाव सिर्जना गर्यो।
मैले उनलाई फेरि शान्त रूपमा भेटेर समस्या र त्यसको पृष्ठभूमि बुझ्नको लागि कुरा गरेँ। यस अनुभवले मलाई सिकायो कि सहकार्य र धैर्यले राम्रो परिणाम दिन्छ। मैले बुझेँ कि सकारात्मकताले जीवन जिउन सजिलो बनाउँछ। त्यस दिनको रिस सामान्य रिस मात्र थिएन तर एउटा पाठ पनि थियो।
रिसपछिको अवस्थालाई पहिल्यै सम्झेर सजग हुने हो भने बिस्तारै रिस उठ्नै छाड्छ। रिसलाई नियन्त्रण गर्नका लागि विभिन्न उपायहरू छन्। श्वासप्रश्वासको अभ्यास, ध्यान र शान्ति प्रविधिहरू प्रयोग गरेर हामीले रिसलाई कम गर्न सक्छौँ। साथै हामीले खुला संवाद गरेर र समस्याहरूलाई समाधान गर्ने तरिका खोजेर पनि रिसलाई व्यवस्थापन गर्न सक्छौँ।
रिसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ। जब हामी रिसाउँछौँ, हाम्रो शरीरमा तनाव हार्मोनको स्तर बढ्छ जसले उच्च रक्तचाप, चिडचिडापन र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। यो भावना एक पटकको लागि सन्तोषजनक लाग्न सक्छ तर यसको दीर्घकालीन प्रभाव भने नकारात्मक हुन्छ।
खुसी भनेको जीवनको अभ्यास हो भनेर मैले कतै सुनेको थिएँ, अहिले त्यो निरन्तर अभ्यासपछि लाग्न थाल्यो- हो, खुसी अनि सन्तुष्टि साँच्चै नै एक अभ्यास हो।
रिस एक स्वाभाविक भावना हो तर यसलाई नियन्त्रणमा राख्नु अत्यन्त महत्त्वपूर्ण छ। रिसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ र हाम्रो सम्बन्धहरूमा समस्या सिर्जना गर्न सक्छ। तर रिसलाई सकारात्मक तरिकामा व्यवस्थापन गर्ने र बुझ्नका लागि प्रयास गर्दा हामीले जीवनमा आनन्द र शान्ति प्राप्त गर्न सक्छौँ।
खुला संवाद, धैर्य र सकारात्मक सोचका माध्यमबाट हामीले रिसलाई आत्मविकासको अवसरमा परिवर्तन गर्न सक्छौँ। यसैले जीवनका चुनौतीहरूलाई सामना गर्दा रिसको सट्टा समझदारी र सहानुभूति प्रदर्शन गर्नु नै सही मार्ग हो।
रिसाएर, रिसाएको मानिस देखेर, रिसपछिको अवस्था भोगेर, रिसले निम्त्याएको कष्टलाई बुझेर अनि रिसले मानसिक अनि भौतिक रूपमा पार्ने प्रभावलाई राम्रो सङ्ग बुझेर मैले रिसाउन छोडिदिएँ।
अन्ततः अब उपरान्त रिस उठ्यो भने जिब्रोको टुप्पोलाई तालुको भागमा राखेर भगवानको अनेकै रूप मध्ये कुनै एक रूपको नाम जप गर्नुहोस्, रिस आफै हराएर जानेछ।