आज मलाई
म आफै
कुम्भकर्ण जस्तो लागेको छ।
कता कति दुर्गन्ध आउँछ
पराजित जिन्दगीका युद्धहरूसँगै
पड्किएर फैलिएको
बारुदको धुवाँ जस्तो।
अहो! थुप्रै सुतिएछ
पोखरीमा लेउ पलाउन्जेल
ए मान्छेहरू हो!
मलाई जवाफ देऊ
पोखरी शान्त छ किन?
माछाहरू सलबलाउँदैनन् किन?
भ्यागुताहरू कराउँदैनन् किन?
पिलपिलाउँदैनन् पोखरीको डिल डिलमा
जुनकिरीहरू पनि किन?
न त माछाहरू नै पौडेको देख्न पाइयो
न त भ्यागुताहरू नै उफ्रेको देख्न पाइयो
न त जुनकिरीहरू नै पिलपिलाएको देख्न पाइयो
यो कस्तो सन्नाटा हो?
आफैलाई मन भित्र गुम्स्याएर
लम्पसार, लम्पसार
गोली लागि
सिकारीको पन्जाभित्र
निरीह अवस्थामा छटपटाउँदै गरेको
घायल मृग जस्तो।
ए बाँच्न नजान्ने
जिन्दगीको परिभाषा बुझ्दै नबुझ्ने
कथित मनहरू हो
टोलाएर पोखरी मात्रै हेर्छौ किन?
हाँसेदेखि मज्जा आउँथ्यो बरु
खित्का छोडेर हाँस
सन्नाटा चिर्ने गरी।
माछाहरू छैनन्
भ्यागुताहरू छैनन्
छैनन् जुनकिरीहरू पनि
लेउले छोपी सक्यो पोखरी
लेउ पन्छाउनु पर्ने
लगाऊ बल
खियाऊ हातका दश नङ्ग्राहरू।
मलाई नजिस्काऊ अपमानित गरेर
म प्रतिवाद गर्छु
म त उज्यालो खोज्ने मान्छे
म युद्ध जित्न चाहन्छु
कुम्भकर्ण जस्तो नहोस् जिन्दगी
मैले माछाहरू खोज्नै पर्छ
मैले भ्यागुताहरू खोज्नै पर्छ
मैले जुनकिरीहरू खोज्नै पर्छ
गँगटाहरू सावधान!
पोखरी
मैले तिमीसँग विद्रोह गर्नै पर्छ।