‘चिन्दिनँ म त।’
मोबाइलमा उनका तस्बिर देख्नासाथ स्किप गर्छे छोरी। उसलाई त्यो तस्बिरसँग आँखा जुधाउन मन लाग्दैन।
उमेरले एक दशक पार हुन लाग्दा ऊसँग मातृ स्नेहका कैयौँ स्मृतिहरू ताजै होलान्। उनले छाडेको झन्डै आधा वर्ष बित्न लाग्दा मेरो सपनामा जति उनी देखा परेकी हुन्छिन् त्योभन्दा कम त्यो उमेरसम्म हरेक दिन सँगै खेल्ने छोरीका सपनीमा छैनन् होला।
कसैले ममीको कुरा गरे ऊ जबरजस्ती प्रसंग बदल्छे। शायद उसको बाल मस्तिष्कमा ममीले छोड्नु अघि गरेका व्यवहारहरूको अमिट छाप बसेको छ। त्यो अन्तिम रात र अन्तिम साथको साँची थिई ऊ।
त्यो रात जीवनकै एक सकसपूर्ण रात हुँदो हो। उनीसँगको सम्बन्धको अन्तिम रात या नि कि विवाहपछि १८ वर्ष सँगै बिताएकी श्रीमतीसँग छुट्टिनु अघिको रात। अझ भनौँ एउटा सच्चा प्रेमको हत्या पछिको रात। कति कहालीलाग्दो हुँदो हो त्यो रात? सकसले छटपटाएर बिताएको त्यो रात शायदै थोरै मानिसहरूले मात्र यस्तो सकसपूर्ण छटपटीको रात बिताएका हुँदा हुन।
त्यो साँझ खाना खाने चाहना थिएन। शरीरमा पटक्कै जाँगर थिएन। सानी छोरी भोक लाग्यो भन्न थाली। टिठ लाग्दो उसको अनुहार हेरेर आफैँ खाना बनाएँ। एउटा सिकिस्त बिरामीले जस्तै केही गाँस मुस्किलले निलेँ मैले। उनले भने खान अस्वीकार गरिन्। शायद त्यस बेलासम्म छोडेर जाने निर्णयमा पुगिसकेकी उनका दिमागमा पनि सानातिना आँधी चलेका थिएनन् होला।
जीवनको सानोतिनो निर्णय थिएन त्यो। दुई सन्तान र १८ वर्ष सँगै बिताएको श्रीमान् माथिको धोकाले उनीभित्र पनि ठुलै हलचल आएको हुनुपर्छ।
‘अब म मेरो फाइनल डिसिजनमा पुगिसकेँ। ऊ मलाई लिन भोली आउँदै छ,’ ओछ्यानमा ढल्किएर सहजै आफ्नो निर्णय सुनाइन् उनले।
‘धोकेबाज हौ तिमी...
धोकेबाज हौ तिमी...’
छोरी गीत गाउन थाली।
‘तेरो बाउले खुब राम्रो सिकाउन भ्याएछ। यस्तै यस्तै सिक्दै जानू,’ छोरीतिर पिर्लिक्क लाचार नजर फाल्दै भनिन् उनले।
छोरी यतिमा रोकिइन, निरन्तर अघि बढिरही।
‘फूलको आँखामा फुलै संसार....
काँडाको आँखामा काँडै संसार...’
त्यतिन्जेल मेरा आँखा आँसुले भरिसकेका थिए। उनका लाचार आँखा कहिले मलाई त कहिले छोरीलाई ट्वाल्ल परेर हेरिरहे।
‘तिमी निकै पछुताउने छौ एक दिन। चाहेर पनि तिमी त्यो दिन आफ्नो संसारमा फर्कन सक्ने छैनौ। यो हाम्रो सुन्दर परिवार उजाड पारेको पाप तिमीलाई अवश्य लाग्नेछ। तिमी आफ्नो निर्णयबाट पछि हट। आफ्नो खुसीको लागि छोराछोरीको खुसी लुट्नु ठुलो अपराध हो। उनीहरूको खुसीको लागि जस्तोसुकै सम्झौता गर्न हामी किन तयार नहुने?’ लडाइँ हारेको सिपाहीले जस्तै शिर झुकाएर मैले लाचार अनुरोध गरेँ।
‘म धेरै अघि बढिसकेँ। नयाँ संसारको बाटोबाट अब पछि हट्न सक्दिनँ म। ऊ मलाई तपाईंले भन्दा धेरै माया गर्छ। शायद मबिना बाँच्न सक्दैन त्यो। अनि म पनि ऊबिना बाँच्न नसक्ने भइसकेकी छु। छोराछोरी राम्रो पढाउनू। जन्माएर यो उमेरसम्म हुर्काएकी छु। बिर्सन त म कहिल्यै सक्दिनँ तर समयको परिबन्धमा म परिसकेकी छु।’
छोरी सुँक्क सुँक्क रुन थालिसकेकी थिई। विगत १८ वर्षका वैवाहिक जीवनका दुःख सुखका क्षणहरूले बेस्सरी चिमोटे मलाई। छोरीलाई सुमसुम्याउँदै अँगालोमा चेपेँ। उसलाई सम्झाउन कुनै शब्द मुखबाट निकाल्न सकिनँ। निष्ठुरी उनी आफ्नो चट्टानी अडानबाट डेग चलिनन्।
‘म र छोराछोरी माथि यति ठुलो धोका किन? किन गर्दैछौ यो अपराध?’ मैले आफूलाई सम्हाल्न सकिनँ। छोरीलाई थपथपाउँदै झरेका आँसुहरू मिसिएर बगे सिरानीमा।
कोठामा एउटा महाशून्यता छायो। छोरी निदाई, हामी निदाउन सकेनौँ। ग्याँस च्यामबरमा निसास्सिएको व्यक्ति छटपटाएको जस्तै उकुसमुकुस भएर छटपटाइरहेँ म।
अधिकृत लेभलको सरकारी जागिरे म। छोराछोरी राम्रै स्कुलमा पढाएर जसोतसो जिन्दगी चलिरहेकै थियो। उनी बेरोजगार भए पनि कहिल्यै कुनै अभावसँग जुध्न परेन। दाम्पत्य जीवन सुखमय नै थियो।
विगत १८ वर्षमा कहिल्यै एकअर्कालाई शंका गर्नु परेन न त कहिल्यै झगडा नै गर्न पर्यो। छिमेकमा कुनै दम्पती झगडा गरे उनी हाम्रो १८ वर्षको सम्बन्धको उदाहरण दिन्थिन्। अब त हाम्रो सुन्दर परिवारमा दुष्टका आँखा लागिसकेको थियो। एक युग पार गरेको हाम्रो सम्बन्ध फुटेको सिसा जस्तै टुक्रा टुक्रा भइसकेको थियो।
‘बरु तिमी छुट्टै बस, आधा तलब म तिमीलाई दिन्छु, बच्चाहरूको पढाइ खर्च म आफैँ बेहोर्छु तर छोरीलाई सँगै राखेर पढाऊ। उसको हेरचाह गर। यो बेला उसलाई आमाको माया र गाइडको निकै जरुरी हुन्छ। फेरि चाहेर पनि जीवनमा तिम्रो अरू सन्तान हुँदैनन्। म तिम्रो लागि योग्य छैन भने जिन्दगी राम्रैसँग बिताउन सक्ने योग्य केटा खोजेर जाऊ तर यस्ता बेरोजगार र लफंगा केटाको पछि लागेर जीवनको बरबादी नगर।
तिमीलाई जस्तै यी १८ वर्षका यादहरू बिर्सन मलाई उति सजिलो छैन। आखिर ममा के कमी थियो र? अनि जुन संसारको कल्पनासहित तिमी अघि बढेकी छौ, त्यो संसार सुन्दर छ भनेर कसरी भन्न सक्छौ? कुनै दिन कोठीमा बेचिन सक्छौ। खराब मान्छेको हातमा खरानी हुन सक्छौ। यो तिम्रो अन्त्यको बाटो हुनेछ,’ मैले नम्र स्वरमा बिन्ती गरेँ।
‘त्यो मान्छेलाई विगत दुई वर्षदेखि मैले जति चिनेकी छु, त्यति उसलाई कसैले चिनेको छैन। म ऊप्रति पूर्ण विश्वस्त छु। यदि उसले मलाई बेच्छ भने म हजार पटक बेचिन तयार छु। मलाई मार्छ भने पनि म मरिदिन तयार छु,’ निर्लज्ज उनले भनिन्।
यो प्रेम हो या पागलपन मैले छुट्टाउन सकिनँ।
केही दिनअघि भक्तपुर प्रहरी परिसरमा लाजले शिर झुकाएर प्रहरीसामु उभिएको एउटा भुसतिघ्रे केटो मास्क खोल्दा हल्का कालो वर्णको देखिए पनि उसको कलेटी परेको ओठ र नमिलेका दाँतहरू हेर्दा जति कुरूप र घिनलाग्दो देखिन्नथ्यो, उसको व्यवहार हेर्दा त्योभन्दा कैयौँ गुणा घिनलाग्दो थियो जो वर्षौँदेखि पर्दा पछाडिबाट उनको भविष्यसँग निर्लज्ज खेलिरहेको थियो। कुनै समय मसँग फोटो खिच्न अनुहार मिलेन भन्ने उनको त्यो अनुहारसँगको सम्बन्ध उनीमा आएको सानोतिनो परिवर्तन थिएन।
त्यो पागलपनका अघि म गलिसकेको थिएँ। मसँग डिभोर्सको प्रक्रियामा जानुभन्दा अब अर्को विकल्प बाँकी थिएन। एउटा ठुलो बज्रपात परेको थियो ममाथि। तैपनि मैले सम्हालिनु नै थियो। कानुनले उनलाई दोस्रो विवाहको अधिकार दिएको थियो। त्यसको सिकार बनिरहेको थिएँ म। धोकेबाजको टीका लगाएर उनी अर्कैकी हुँदै थिइन्।
‘मैले हारेँ तिमीले नै जित्यौ। भोलि नै जिल्ला अदालत गएर सहमतिमा डिभोर्स गरौँ। बरु जानु अघि छोरालाई स्कुलमै एक पटक भेटेर जाऊ। दश कक्षामा पढ्ने ऊ अब बुझ्ने भइसकेको छ। उसको पनि मन राखेर जाऊ,’ मैले भनेँ।
‘अदालत त जाऔँला तर यो बेला म छोरालाई भेटेर आफूलाई कमजोर पार्न चाहन्नँ,’ कतै छोरालाई भेटेर आफ्नो निर्णयबाट पछि हट्छिन् कि भन्ने मेरो अन्तिम आशा निराशामा बद्लियो। अदालत जाने मेरो सहमतिले भने उनमा केही उत्साह थपिएको थियो।
‘कसैलाई जीवनमा आँखा चिम्लिएर विश्वास नगर्नू, जस्तो मैले तिमीलाई गरेको थिएँ। अर्को कुरा सबै लोग्ने मान्छेहरू मजस्तै सहनशील हुँदैनन्। तिमीले हामीमाथि धोका दिएर अपराध गर्यौ। यो अपराधको लागि कानुनको दृष्टिले त तिमी उम्कन्छौ तर कुनै न कुनै रूपमा तिमीलाई पाप त लाग्ने नै छ। छोराछोरीलाई यो उमेरमा टुहुरा बनाएर गएको पाप एक दिन धुरीबाट कराउने नै छ,’ रुन्चे स्वरमा म निरन्तर पग्ली नै रहेँ।
‘कति टर्चर दिन सकेको? कति किचकिच गरेको? रातभर म यही सुनी बसूँ? अब यो सब म केही सुन्दिनँ। सुनेर पो के अर्थ?’ चर्को स्वरमा कराइन् उनी। तर यस बेला उनको स्वर रुन्चे सुनिएको थियो। मैले कोल्टे फेरेँ। छोरी उस्तै मस्त निदाइरहेकी थिई।
सकसमा छटपटाउँदै मध्यरात बितिसकेको थियो। उनी घुर्न थालिसकेकी थिइनँ। शायद सपनीमा उनको राजकुमार वायुपंखी घोडामा उनलाई लिन आइसकेको हुँदो हो। मेरो निद्रा भने कोसौँ टाढा थियो। आफूले जीवनमा सबैभन्दा नजिक राखेको मान्छे अब आफैँबाट अलग भएर जाँदै थियो। उनीसँगका अनगिन्ती यादहरू तँछाडमछाड गर्दै आइरहेका थिए।
बाहिर दर्कने पानी पर्न सुरु गर्यो। आफ्नै कोठा मुर्दाघर जस्तो लाग्न थाल्यो। अनि हामी मुर्दाघरमा थुनिएका लास जस्ता। धोका जीवनको सबैभन्दा ठुलो अपराध जस्तो लाग्यो। त्यो सकसपूर्ण समयमा आफूलाई सम्हाल्न कति गाह्रो थियो म हिसाब गर्न सक्दिनँ। तैपनि आफ्नो जिम्मेवारी र छोराछोरी प्रतिको कर्तव्यले मलाई झकझक्याइरहन्थ्यो। कतै डिप्रेसनको सिकार भएर कुनै अप्रिय घटना नहोस् भनेर बेला बेला आउने आवेशलाई जबरजस्ती नियन्त्रण गर्थेँ म।
छटपटीमै रात बित्न लागिसकेको थियो। छिमेकमा भाले बासिसकेका थिए। पानी रहिसकेको थियो। झ्यालबाट बाहिर हेरेँ अन्धकार डरलाग्दो थियो। झ्याल ढोकाको चुकुल लागेको यकिन गरेर म पुनः ओछ्यानमा पल्टिएँ।
म ब्युँझँदा झन्डै ६ बजिसकेको थियो। बिस्तारामा उनी थिइनन्। वाशरुम, किचन सबैतिर हेरेँ। जताततै एउटा सन्नाटा छाइरहेको थियो। छोरीलाई उठाएँ। ऊ ममी खोज्दै रुन थाली तर उनको कतै पत्तो थिएन।
‘तेरी ममी आउँछे नानी, फर्केर आउँछे। तिमीलाई धेरै माया गर्छे ऊ। तिम्रो माया सम्झेर फर्केर आउँछे ऊ। आइन भने हामी फकाएर ल्याउनु पर्छ नि है छोरी,’ छोरीलाई सान्त्वना दिएँ।
छोरी त शान्त भई तर आफू भने शान्त हुन सकिनँ। पीडाका ज्वारभाटाहरू छचल्किएर आँखाबाट बेस्सरी बग्न सुरु गरे एकनाससँग।
मनमनै भनेँ- पाप लाग्छ तिमीलाई मेरो मायाको पाप लाग्छ। श्राप लाग्छ तिमीलाई छोराछोरीको आँसुको श्राप लाग्छ। एक दिन अवश्य तिमीलाई पश्चात्ताप लाग्छ।