बिग्रनु र बन्नु सापेक्षिक कुरा हुन। केलाई बिग्रेको भन्ने र केलाई सप्रेको भन्ने यसमा काफी तर्क बितर्क गर्न सकिन्छ।
समाज र समयले सहरमा घर-गाडी हुने, प्रशस्त बैंक ब्यालेन्स हुने, सुख सुविधाको जीवन बिताउने, छोराछोरी विदेश हुनेहरूलाई सम्पन्न ठान्यो। त्यसैलाई राम्रो मान्यो। समाजको वास्तविक मूल्यांकन यही हो अहिलेलाई!
किताब घोक्ने र पढ्ने युगको मान्छे हो म। प्रविधि विशेष गरी कम्प्युटरसँग कम परिचित छु। त्यो समयमा नाच्नु र गाउनु राम्रो काम थिएन। नाच्नु र गाउने कामलाई समाज र परिवारले घृणा गर्थ्यो। उच्च ब्राह्मण परिवारमा त्यसलाई हेयको दृष्टिले हेरिन्थ्यो।
‘पढ्न जान्ने मान्छे गीत गाएर बस्ने? नाचेर बस्ने?’ प्रश्नहरू स्कुलका सरहरूदेखि घरसम्मै तेर्सिन्थे।
रमाइलोपन आएन भन्दा पनि हुन्छ जीवनमा। नाच्नु, गाउनु र खेल्नु बेकामे काम थिए। घर-परिवार र समाजमा इज्जत जाने काम थिए ती। त्यतातिर लाग्नै भएन। लागिएन। झन् रक्सी पिउने त धेरै टाढाको कुरा! सोच्न पनि नसकिने! हर क्षण किताब लिएर बसेँ। किताबको किरो बनेँ। त्यसले मास्टरको जागिर खुवायो। मास्टर बनायो। गाउँले मास्टर भएँ म!
मेरा विद्यार्थीहरू कहिलेकाहीँ दिक्क मान्छन् मसँग। सरलाई त किताब पढाउन बाहेक केही आउँदैन। हुन पनि हो, मलाई नोट लेखाउन र घोकाएर पढाउन बाहेक केही आउँदैन। मेरा विद्यार्थीलाई मैले नाच्दै गाउँदै खेलाउँदै सिकाउन पाएको भए कक्षा कति प्रभावकारी हुँदो हो!
विद्यार्थीलाई नचाएर, गाएर, रमाइलो गरेर पढाउन जानिनँ। जीवनोपयोगी सीप सिकाउन सकिनँ। आधुनिक शिक्षण प्रविधिको ज्ञान भएन मलाई। आफूसँग नयाँपन नभएकोमा दिक्क लाग्छ आफैलाई अहिले। तत्कालीन समाज र परिवारप्रति टिठ लाग्छ। 'आउटडेटेड' टिचर भएँ म।
वनभोज वा विवाह वा अन्य कार्यक्रममा हेलमेल हुनै सक्दिनँ! स्कुलमा पनि त्यस्तै शिक्षक भएँ! अब चाहेर पनि परिवर्तन हुन सक्दिनँ।
मसँगै क्याम्पस पढ्दाको साथी उमेशको खाई लाग्दो ज्यान थियो। क्याम्पसमा फेल भयो। आर्मीमा गएर कर्णेलसम्म बनेछ। अर्को कलेजको जिग्री सहपाठी जागिर नपाएर विदेश पुग्यो। उतै सेटल भयो। विदेशमा समुद्रको किनारमा रमाउँदै घुमेको फोटोहरू पोस्ट गर्छ। म लाइक र कमेन्ट गर्छु- ‘जिन्दगी भनेको त यस्तो पो हो!’
पास हुन मेरो नोट सार्ने साथी दिनेश ‘क’ वर्गको ठेकेदार बन्यो। उसले बाटो बनायो। पुल बनायो। नेताहरूलाई सिधै फोन गर्छ। नेताको घरसम्म उसको सिधा पहुँच छ। छोरालाई सुपरभाइजर भए पनि जागिर लगाइदिन बिन्ती गरेँ मैले। बल्लतल्ल मान्यो। दिनेशले हुइँक्याउँदै गाडी कुदाएको बाटोमा धुलो टकटक्याउँदै हतारमा स्कुल पुग्छु म।
क्याम्पसमा होहल्ला गर्ने, सिसा सिसा फुटाउने, क्याम्पस प्रमुखलाई कालो मोसो दल्ने गणेश विद्यार्थी नेता हुँदै माननीय बन्यो। एक पटक मन्त्रीसम्म हुने मौका पायो उसले। समाज परिवर्तनमा उसका दमदार भाषणहरू टेलिभिजनमा नियमित हेर्छु र पत्रिकामा पढ्छु म। बेलाबेला मेरो जागिर सहरमा सरुवा गराइदिन चाकडी गर्छु। शिक्षक संगठनका नेतालाई देखाएर पन्छिन्छ ऊ। बालै दिँदैन मलाई।
मसँगै मेहनत गरेर पढ्ने र मिल्ने साथी रुपेश सरकारको सुब्बा भयो। काठमाडौँमा घर-गाडी छ उसको। गाउँबाट सहर उपचार गर्न आउँदा म उसैको घरमा बस्छु। छोराछोरी सबै विदेश रहेछन्! सिङ्गो घरमा बुढाबुढी बस्छन्। सुख दुःखका कुरा हुन्छन् ऊसँग।
स्कुलदेखि क्याम्पससम्म पढ्न जान्ने कहलिएको म। सधैँ फस्ट डिभिजन मेरो! गाउँको स्कुलमा सिधै नियुक्ति पाएँ। पढाउँदा पढाउँदै दारी र कपाल फुल्यो। समय र प्रविधि फेरिएको चालै पाइनँ।
त्यति मात्र होइन, गाउँमा चहलपहल कम भयो। कक्षाकोठामा विद्यार्थी स्वात्तै घटे। गाउँको वडाध्यक्षले कहिलेकाहीँ ‘सरको स्कुलमा विद्यार्थी कम भए, अब सरुवा हुनु पर्छ’ भन्छन्। यो बुढेसकालमा म कहाँ टाढा जाऊँ? सरुवा नगरिदिन भन्छु उसलाई। कुरै सुन्दैन ऊ!
समयसँग समायोजन हुन नसक्ने ‘आउटडेटेड’ शिक्षक भएछु म। साँच्चै भन्नु हुन्छ भने डाइनोसर जस्तै भएँ। त्यो बेलाको पढाइमा अब्बल हुनु मेरो दुर्दशा रहेछ। पढ्न अल्छी गर्न पाएको भए अरू नै केही हुन्थेँ कि? साथीहरूको जस्तै मेरो जीवन पनि गतिशील र गुणस्तरीय हुन्थ्यो कि? पढ्न जान्ने भएर बिग्रेको म!