एउटा ध्यानमग्न चाउरी अनुहार
भगवानको पूजा, आराधना र प्रार्थनामा
दत्तचित्त भक्तजस्तो
अविच्छिन्न नियालिरहेछु म
त्यो दिव्य मुहार
मुजा परेका हातले निफनिरहेछन्
जीवनका धान-चामल।
वर्षौँदेखि तपस्यामा लीन ऋषिजस्तै
ईश्वरलाई पुकार्दै होलिन् ती
हे ईश्वर!
तिमीमा समर्पित मेरो परिवारको
हरेक भात-भान्सा अगाडि
चोखो थालीमा म पस्कन्छु
तिम्रै आस्था, आराधना र पूजा।
याचना गर्दिहुन् अन्नदातासँग
हुन सक्ला म तिम्रो हिस्सामा
भुस र ढुंगा फालिरहेकी छु
तर प्रभु
तिमी बरु ती ढुंगा, भुस र फोहर
मलाई नै फर्काइदेऊ
किमार्थ मेरा सन्तानको दाँतमा ढुंगा नलागोस्
भगवान्!
तिम्रो चरणको धुलो हुनु र
ऐयासी महलको मालिक्नी हुनुमा
फरक केलाउँदै छु म
हे करुणानिदान!
तिम्रो इसाराबिना
कुनै रूखको पात पनि हल्लिँदैन
हे जगत् पालक!
मेरै पेट खाली होस् बरु
मेरो परिवारको भागमा
कहिल्यै विष नपरोस्
झुक्किएर तिम्रो हातबाट
कुनै विषालु पदार्थ फुत्किहाले
मै पिइदिउँला नीलकण्ठ भएर बरु!
आमा हुनु भनेको ऐश्वर्य मात्र होइन
पीडा, अभाव, दुःख, कष्ट, घृणा, तिरस्कार
अनि अनकन्टार संघर्ष पनि हो
मैले केलाएको चामल
मैले चालेको पीठो
अनि मैले निफनेको सारा जिन्दगी
थोपर्देऊ नाङ्लोभरि
तिम्रै भरोसाले
पट्याँस ट्याँसका मीठा धुनमा
स्वादिष्ठ भोजनका लागि
तयार बन्दैछन् जीवनका पौष्टिक आहार।
यति भन्दै
सफा चामल र पीठोको थुप्रो बनाउँदै
राख्दै गर्छिन् आमा
आमाका धमिला आँखा, मन र विश्वासले
आफ्नै अटल विश्वासमा ईश्वरसँग
साउती मारेको आभास हुन्छ मलाई
लाग्छ ईश्वर मन्दमन्द मुस्कानमा सोच्दै होलान्
कति सरल छ्यौ तिमी!
कति शीतल छौ तिमी!
चामलबाट ढुंगा, बिया, भुस र धुलो
यसरी निकाली रहेकी छ्यौ कि तिमी
जस्तै जीवनको दुःख, दर्द, पीडा जति छन्
सबै बाहिर निकाली रहेकी छ्यौ
तिमी धर्तीजस्तै सहनशील, सरल, सहज र हराभरा छ्यौ
कति शीतल छौ हे तपश्विनी
मलाई हरेक पल, हरेक क्षण
आफ्नो तन, मन र ढुकढुकीमा राख्छ्यौ
मेरो भक्त बन्न आफ्नो खानाअगाडि
शुद्ध खानाकै भोग लगाउँछ्यौ
नयाँ अन्न मलाई नै नचढाई खान्नौ
सायद ईश्वर पनि यो सोच्दै छटपटाउँछन् होला
धमिलो आँखाको सूक्ष्म रोशनी
आँखा खुम्च्याउँदै निधारमा निस्केका
साना-साना पसिनाका कण
मोतीका सितार बनेर चम्केको चमक
जब आँखा हेर्दाहेर्दै बन्द हुन्छन्
तब ईश्वरको मुस्कान खुल्छ।
आमाको निधारबाट बगेको पसिना
अनि आँखाबाट बगेको आँसु
आमा आफ्नै आँचलले पुछ्छिन्
तीन दिनको भोक खप्न सक्छिन्
चार दिनको निद्रा सहन सक्छिन्
दुखका यावत पहाड
एक्लै
आफ्नै थाप्लोमा बोक्न तयार हुन्छिन्
तर सन्तानको एक निमेष दुखाई देख्न सक्दिनन्
यति धेरै पीडा लुकाएर पनि आमा
सन्तानको हाँसो, खुसी र प्रगतिका लागि
स्रष्टासँग हरदम पुकार गर्छिन्।