आज यसो सामाजिक सञ्जाल चलाऊँ भनेको इन्स्टाग्राममा एउटा अत्यन्त सुन्दर युवतीको तस्बिर देखेँ। साँच्चिकै अप्सराहरू पनि धर्तीमा जन्मिँदा रहेछन् जस्तो लाग्यो। छेउमा रहेको ऐनामा आफ्नो अनुहार देखेँ। झल्लु लवाई, कपाल यत्तिकै बाँधेको र अनुहारको दाग।
युट्युबमा गीत सुन्दा सुन्दै कमेन्ट पढिहाल्ने मेरो बानीले फोटोको कमेन्ट सेक्सनमा गएर कमेन्टहरू हेर्न आतुर बनायो। पढेका १० कमेन्ट मध्ये दुई/तीन वटा, ‘ऊ निकै राम्री थिई अहिले सर्जरीले अनुहार बिगारी’, ‘सर्जरीको दोकान’ जस्ता कमेन्ट देखेँ।
मलाई पनि एकछिन त रिस उठ्यो। यस्तो अलौकिक सुन्दरता पनि हुँदो रहेछ भनेर भ्रामक तस्बिरहरू सामाजिक सञ्जालमा हालेर लाखौँ मान्छेहरूलाई आफ्नो जन्मेको अनुहार र शरीरमा पर्याप्तता अनुभव हुन नदिने भनेर। फेरि उसको आफ्नो सर्जरी पछि र अघिको फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भए पनि किन खुलेर स्विकार्न चाहिन भनेर कौतुहलता नि जगायो।
सायद उसलाई समाजमा कथित आफ्नो कमजोरी सार्वजनिक रूपमा स्वीकार गर्नु थिएन होला। उसले त्यत्रो खर्च गरेर आफ्नो आत्मविश्वास फिर्ता गर्नको लागि अनुहार र शरीरमा गरेका परिवर्तनहरू दुनियाँले गिज्याओस् वा टिप्पणी गरोस् भन्ने मन थिएन होला। खुला रूपमा स्वीकार गर्नुपर्छ भन्ने कतै लेखिएको पनि त छैन। त्यो त उसको नितान्त स्वतन्त्र अधिकार हो नि, हैन र?
त्यसो हो भने हामी पनि त आफ्नो परिवारका कमी-कमजोरी या आफ्नै पनि विभिन्न कमी कमजोरी लगायत विभिन्न दबिएका तितामिठा यथार्थहरू संसारको निगरानीका लागि छरपस्ट पार्न सक्छौँ? पेस गर्न सक्छौँ?
करिब दुई दिन अगाडि म छिमेकीको बिहेमा गएको थिएँ। यो एक वर्षमा म कुनै पनि कुनै पनि जमघटमा जानुपर्ने मौका जुरेको थिएन। बिहेमा एक चिन्दै नचिनेको आन्टीले बोलाउनुभयो अनि चिना-परिचय गर्न थाल्नुभयो। त्यसपछि, ‘तिमी त सबैभन्दा मोटी रहेछौ है, अलि धेरै काली पनि रहेछौ दिदीभन्दा’ भनेर सुनाउन थाल्नुभयो।
कति सजिलै, कति चाँडै, कति सहजताका साथ आफ्नो बोलीको केही मूल्याङ्कन नगरी, त्यसको प्रभाव नसोची, हामीलाई अरूमाथि टिप्पणी दिन छुट छ है?
‘महिलाका जीवनमा कति तुलनासँग गुज्रिनुपर्छ है’ मैले सोचेँ। पुरुषको पनि आफ्नै छ कथा छ, व्यथा छ तर उसको पुरुषार्थ, कमाइ र जिम्मेवारी बाहेक तुलनात्मक रूपमा यसरी यत्रतत्र-सर्वत्र रूप, गुण, सिप, धैर्यता, अनि बनावटमा परीक्षा कम नै दिन पर्ला। म जुन अनुहारमा, जुन परिवेशमा, जस्तो कुरामा जन्मिए, हुर्किएँ त्यसमा मलाई केही समस्या थिएन तर मलाई जबरजस्ती यो चाहिँ तिम्रो समस्या हो भनेर औँल्याइएको थियो अनि आज म त्यही हावामा बग्दै थिएँ।
आफूले आफैलाई अत्यन्त धार्मिक मान्ने ती आन्टी बिहानमा भगवानका हामी प्यारा सृष्टि भन्दै पक्कै भजन गाउनु हुन्छ। अनि दिउँसो त्यही एक स्वरूप माथि टिप्पणी गर्नुहुन्छ। आहा! हाम्रो खोक्रो अध्यात्म।
त्यसपछि आन्टीले अर्को उहाँको साथीलाई बोलाउनुभयो र ‘हेर्नु न, फलानाको छोरी रहेछ, अलि बढी नै हेल्दी छ है’ भन्दै मुसुमुसु हाँस्न थाल्नुभयो।
उहाँको ‘हेल्दी’ के अर्थ दिन खोजिरहेको थियो म बुझिरहेको थिएँ तर व्यावहारिक रूपमा त गलत नदेखिने शब्द उहाँले चुन्नुभएको थियो। त्यसैबिच अर्को आन्टीले भन्नुभयो, ‘तिमी तौल घटाउ है, फेरि तिम्रो बिहे हुँदैन है।’
सोचेँ, उहाँलाई मेरो स्वास्थ्यभन्दा पनि कसैसँग बिहे हुनको लागि म चिटिक्क अथवा एउटा बजारमा देख्दा लैजाऊँ लैजाऊँ लाग्ने खालको बन्नको लागि भनिरहनु भएको थियो। उहाँले न मेरो काम, मेरो कमाइ, लक्ष्य, गुणको बारेमा केही सोध्नु भयो न चासो नै दिनुभयो। सायद महिलाको गुणमा यी कुराहरू खासै महत्त्व नराख्ने होला।
मलाई बच्चै बेलादेखि नै म केही कुरामा कमजोर छु अथवा म पर्याप्त छैन भन्ने खालको जनाई राखिएको थियो। मेरो दिदीलाई कुनै अरू रङको कपडा ल्याइदिँदा खेरि मलाई अरू नै रंगको कपडा हुन्थ्यो चाहे त्यो मेरो मन पर्ने रंग किन नहोस्। किनभने त्यसले गर्दा मेरो कालो रङ अझै बढी कालो देखाउँछ रे।
आज आँट गरेर मेरो छिमेकको सबैभन्दा मिल्ने साथीको खुसीको दिनमा सरिक हुन चाहेको थिएँ तर चिन्दै नचिनेको मान्छेले भनेको भरमा हीनताबोधको सिकार बनेर फर्किएँ। आफैँलाई दोष दिन थालेँ र आफ्नो आमालाई दोष दिन थालेँ- किन म यस्तो जन्मिएँ भनेर।
कुनै पनि स्वरूप त्यहाँको सुन्दरताको मापदण्डमा पर्ने खालको छ भने त्यसले आकर्षित पार्नु मानवीय स्वभाव नै हो, यसमा दुई मत छैन र म यो कुराले स्वीकार पनि गर्छु। तर छोरी चेलीलाई यति साँघुरो धरातलमा मापन गर्नु पनि सोह्र आना गलत हो जस्तो मलाई लाग्छ।
त्यही पनि सुन्दरताको मापदण्ड एक ठाउँमा कुरूप र अर्को ठाउँमा सुन्दर हुन्छ भने यस्तो फितलो मापदण्डमा दौडन हामीलाई किन प्रेरित गरिन्छ? उदाहरणको लागी भनौँ, अफ्रिकामा धेरै कालो भयो भने त्यो महिलालाई अत्यन्त नै सुन्दर मानिन्छ भने अर्को, विडम्बना नेपाल जस्तो देशमा त्यही कुरालाई राम्रो रूपमा लिइँदैन।
समाजको कुन चक्रमा आएर एक महिला, यो कथित सुन्दरताको चक्रव्यूहबाट अलि पर गएर, उसको परिचय सिर्फ बाहिरी बनावट वा रूपमा मात्र होइन, उसको बौद्धिकता, जिम्मेवारीपन, दया र सपना पनि हो भनेर व्यक्त गर्न सामर्थ्य बन्छिन् होला है? अनि फेरि महिला नेतृत्व गर्न सक्दैनन्, प्रेसर लिन सक्दैनन्, काम आउँदैन भनिन्छ। ठिक छ, एउटा काम गर्ने शैली प्राकृतिक रूपमा फरक हुन सक्छ तर यो सबै नेतृत्व गर्ने अथवा कुनै सिप सिक्ने भनेको त्यसमा जति समय दिन सक्यो वा जति नियमित रूपमा पुनरावृत्ति गर्न सकियो त्यसैबाट त सम्भव हुने कुरा हुने होइन र?
हामीलाई पितृसत्तात्मक विचारधाराले आफ्नो सिप सिक्न वा आफ्नो गुणमा चाहिँ अभिवृद्धि गर्न भन्दाखेरि पनि रूप रोकन, शरीरको तौल, स्वभावमा लगाएको जुन परिबन्ध छ त्यही परिबन्धमा कसरी बस्ने, कसरी आकर्षित हुने भन्ने कुरालाई नै जोड दिइँदो रहेछ भन्ने हिसाबले हामीलाई सोच्न बाध्य बनाइन्छ। हाम्रो सीप सिक्ने वा कला सिक्ने समय र हाम्रो ध्यान अर्कोतिर मोडिदिन्छ। अनि फेरि महिलाहरूलाई नक्कल पार्छन्, बस्छन्, मेकअप बाहेक केही सोच्दैनन्, नयाँ-नयाँ कपडा खोज्छन् भन्दै गाली जसरी सुनाउनसम्म सुनाइन्छ।
तिम्रो समाजले जे कुरालाई प्राथमिकता दिन्छ आखिर त्यही कुरामा नै त मान्छेले बढी आफ्नो समयको लगानी गर्छ नि, कि कसो? अनि हामी नै प्राकृतिक सुन्दरता बिगारेकोमा वा अर्कै रूप हासिल गर्न चाहेकोमा कुनै पनि कलाकार वा व्यक्तिलाई दोष दिन्छौँ। हेर त हाम्रो दोहोरो चरित्र। महिलालाई यसरी सजिलो गरी तोकेर होच्याउने प्रवृत्ति कहाँबाट आयो भनेर सोचिरहेको थिएँ कि छतमा छिमेकीले गफ गरेको सुनेँ।
‘फलानाको छोरी त कस्तो राम्री नै छैन, पछि राम्री भए मात्र… तर अहिले त खै भन्न सकिन्न।’
अर्को महिला भन्दै हुनुहुन्थ्यो, ‘अब रूप भएन भने गुण दरो बनाउनुपर्यो। बिक्नु त पर्यो नि है।’
केही शब्द, केही भेदभाव, केही लुकेका दृष्टिकोण, लुकेका लैङ्गिकताका पूर्वाग्रहहरूले सामान्य बोलीचाली भाषामा कति सजिलै छुट पाउँछन् है? अनि बच्चै बेलादेखि जानी नजानी पढाइएको पाठलाई नैतिक शिक्षामा वा सरकारी कानुनमा यो गलत हो, यो सही हो भने पनि हामी मानिसले पछि ठुलो हुँदासम्म आफ्नो अन्तर मनबाट स्वीकार गर्नै सक्दैनौँ नि।
अधिकांश केटाकेटीको खेल्ने खेल भाँडाकुटी हुन्छ। त्यसमा पनि केटा (पुरुष) काम गर्न जाने अनि केटी (महिला) घरको काम गर्ने गरेको नक्कल देखेका छौँ। कि कसो? केटीहरूलाई चाहिँ भात पकाउने, भाँडा माझ्ने अनि श्रीमानको प्रतीक्षा गर्ने कुराहरू सिकेका हुँदा रहेछौँ जस्तो मलाई भान हुन्छ। केटाकेटीहरूको आमा जागिरे भए पनि खेल्दाखेरि उनीहरूले जहिले पनि महिला चाहिँ घरमा बसेर पकाएको जस्तो गर्ने र छोरा चाहिँ थाकेर जागिरबाट आएको र कसै कसैले त खेल्दै गर्दा खेरि श्रीमतीलाई पिटेको जस्तो खालको नक्कल पनि गरेको मैले देखेको छु। सायद तपाईँले पनि देख्नु भएको होला।
भनेपछि सानैदेखि यी बालबालिकाले घरको जिम्मेवारी, भात पकाउने, आफ्नो सरसफाइ गर्ने बाहेक चाहिँ अरू थप जिम्मेवारी जस्तै कमाउने, परिवारको लागि निर्णय गरेको कहिले देखेकै छैनन्। त्यस कारणले पनि पछि ती नानीहरू ठुलो हुँदा कमाउने, श्रीमानले सघाउने जस्ता कुराहरू मेरो अधिकार हो भनेर मस्तिष्कमा सहर्ष स्वीकार गर्न नसक्ने बन्नेछन्।
कहिले पनि बाबुहरूले खेल खेलमा बुवाले आमालाई सघाएको नक्कल गरेको मैले देखेको छैन किनकि उनीहरूले यो देखेकै छैनन् ,उनीहरूलाई यो साधारण लागेकै छैन।
अझै कतिपय आमाबुवाले त छोरालाई भाँडाकुटी खेलेको देख्यो भने, ‘तिमी केटी हो र?’ भनेर कराउने पनि गरेको छ। किनकि भाँडाकुटी महिला जातिको एकल कर्म हो भन्ने मनसाय विधितै छ।
हामी उपहार लिएर जाँदा पनि छानिछानी छोरीलाई चिटिक्क परेको गुडियाहरू र छोरालाई चाहिँ प्लेन गाडी जस्ता कुराहरू खेल्न लगिदिन्छौँ। होला केटीहरूलाई गुडियाहरूसँग खेल्न मन पर्छ, रँगिन कुराहरू मन पर्छ तर हामीले उनीहरूलाई स्वतन्त्र रूपमा तिमीलाई प्लेन गाडीहरू मन पर्छ कि भनेर कहिले पनि खेल्न वा चुन्न पनि त दिएनौँ। अनि उनले कहिले पाइलट, डाक्टर, ड्राइभर बन्ने सपना देख्न थाल्छिन् त? हामीले कस्तो समाज निर्माण गर्छौँ भन्ने कुरा हामीले बच्चै बेलाबाट उनीहरूको दिमागमा राख्दिसकेको छौँ।
लैङ्गिक विभेद र लैङ्गिकताको जुन कुरा गर्दै छौँ, त्यो कुरा सायद हामीले अनजानमा वा जानेर पहिलेदेखि नै सुरुवात गरिसकेका छौँ र लैङ्गिकताको परिचय त्यही बालापनबाट तोकिदिएका छौँ। पितृसत्तात्मक सोचका धेरै पर्खाल छन्, ठुला पर्खाल छैनन्, त्यो मध्य एक यही समाजले खेलाएको भाँडाकुटीको खेल पनि हो।