दौडिएको आज ४० वर्ष भएछ। २० वर्षको उमेरमा सहर छिरेको थिएँ; आसा बोकेर, सपना बोकेर, झोला बोकेर। त्यो कालो झोला त मसँग छैन अहिले तर आसा र सपनाले अझै छोड्न सकेको छैन। कहिलेकाहीँ सोच्छु, झोला मात्र बोकेको भए मेरो दौड छिटै सकिन्थ्यो कि?
४० वर्षपछि, आजभन्दा पाँच दिन अगाडि मेरो दौड सकियो, वीर हस्पिटलको भेन्टिलेटरमा। घर फर्किएँ हिजो, अहिले फुर्सदमा छु। मेडल हिजो गनेर सकेँ,क आज एल्बम खोल्न मन लाग्यो।
२० वर्षको हुँदा खिचिएको कलिलो अनुहारमा भर्खरै पलाएका साना-साना खैरा रौँ, लामो कालो कपाल पालेको मेरो फोटोले मलाई ४० वर्ष अगाडि फर्कायो। साँच्चै सुन्दर थियो त्यो पल। चेक सर्टको माथिका तीन वटा बटन खोलेर छाती फुलाएर हिँड्दा लाग्थ्यो म जस्तो संसारमा को नै छ र? मैले गर्न नसक्ने के नै छ र? हुन त त्यो आत्मविश्वास झुटो थियो तर कम्तीमा थियो जरुर।
बल र बुद्धि दुवै एकै पटक सायद विरलै मान्छेमा हुन्छ, जोसँग बल हुन्छ त्योसँग बुद्धि हुँदैन। जोसँग बुद्धि हुन्छ त्योसँग बल हुँदैन। मसँग बल थियो, सायद बुद्धि थिएन। हुन त थिएन भन्दा पनि थियो तर के थियो के!
संसारमा जसले जे भने पनि, जो जति विद्वान बने पनि, विवेक अनुभव बाहेक अरू कुनै कुराले त्यति नै प्रबलताका साथ सिकाउन सक्दैन। विवेकको कमीले हो या अरू केहीले हो मलाई पनि दौडिन मन लाग्यो।
सहर के पसेको थिएँ, दौडेको दौडै भएँ। कलेजमा टपर बन्न दौडिएँ। अफिसमा सबैभन्दा उत्कृष्ट कर्मचारी बन्न दौडिएँ। मलाई जता पनि जित्नु नै थियो। सबैले मलाई मन पराउन्, सबैको नजरमा म जत्तिको कोही नहोस्, यस्ता इच्छाले मलाई हर पल दौडायो।
दिमाग मसँगै दौडियो। त्यसैले होला सायद फुर्सदले कहिले सोच्नै पाएन। सानोमा रेडियोमा गीत बज्दा म सुत्थेँ रे, म सोध्थेँ रे- हिमाल किन सेतो हुन्छ? मलाई संगीत मन पर्थ्यो रे। हैन हैन पर्छ, अहिले पनि पर्छ। तर दौडमा गीत सुन्यो भने त ध्यान भड्किन्छ रे भनेर कुनै अर्को धावकले भन्दियो, मैले पत्याएँ।
मलाई लेख्न मन पर्थ्यो, कसैले भन्दियो- लेखक बन्ने दौडमा त कमजोरहरू दौडिन्छन्। मैले पत्याएँ। मलाई कमजोर साबित हुनु थिएन। त्यसैले म बलियाहरूले दौडिन दौडतर्फ लागेँ। मैले इन्जिनियर बन्ने दौड दौडिएँ।
मेडल छ मसँग हिजो धुलाम्य भएको। त्यही मेडल हेरेँ, पुछ्न पनि मन लागेन। अरू पनि कैयौँ मेडल छन्। सबैभन्दा उत्कृष्ट कर्मचारीको मेडल, यस्ता के-के शीर्षकमा पाएका मेडल थुप्रै छन्। पुरस्कार पनि छन्, घर छ पाँच आनामा बनेको। सेयर छन् केही कम्पनीको। जे होस मलाई बाहिरबाट हेर्नु भयो भने म विजेता नै हो। मलाई सोध्नु भयो भने चाहिँ म विजेता हैन।
मलाई पनि जितेको जस्तो लाग्थ्यो केही दिन अगाडिसम्म तर डाक्टरले भन्दियो- ‘अब तपाईंसँग छ महिना छ।’ त्यसपछि दौडिन मन लागेन।
फुर्सद भयो तब सोचेँ- के मैले जितेँ त?
जवाफ आयो- तैँले नराम्रोसँग हारिस्।
दौडिँदा मैले आफैँलाई बिर्सेछु, म के बन्न जन्मिएको थिएँ के बनेँ थाहा नै भएन। मलाई लाग्छ म संगीतकार बन्न जन्मिएको थिएँ तर अब मसँग छ महिना छ। म लेखक बन्न जन्मिएको थिएँ तर मसँग छ महिना छ। म ट्राभलर बन्न जन्मिएको थिएँ तर मसँग छ महिना मात्र छ। बन्न सक्छु होला र म यी सबै?
समय हुँदा बलियाहरूले दौडिने महान् दौड दौडिन मन नहुँदा नहुँदै पनि गइयो, अहिले समय छैन। साथीले चुरोट खान सिकाए, दिनै एउटा अमला खान सिकाको भए हुन्थ्यो। के-के सिकाए सबै गरियो तर सोच्ने फुर्सद नै भएन। अहिले फुर्सद पाएँ तर ढिला भइसकेछ।
मलाई स्टेज फोर लङ क्यान्सर छ। किमो गरौँ भनेर परिवारले भन्दै थिए तर मैले भनेँ- ‘अब म दौडिन्नँ, मलाई पुग्यो। अब यो छ महिना म बाँच्छु, मात्र शान्त भएर।’
आज सारङ्गी किनेर ल्याउनु छ। मलाई संगीत सिकाउन शिक्षक आउने बेला हुन लाग्यो। छ महिनापछि एउटा मिठो धुन छोडेर जान मन छ। साथीसँग बेसक्याम्प जाने पनि योजना बनाउनु छ। लेख्ने काम त मैले सुरु गरिसकेँ जुन तपाईं पढ्दै हुनु हुन्छ।