ढुङ्गाले बनेको, माटो र कमेरोले सजेको
त्यो सानो संसार, सपनाले भरेको
ठुला-ठुला महलभन्दा अनमोल थियो
त्यो प्यारो घर, जहाँ सब थोक थियो।
आँगनमा बिस्कुन सुक्थ्यो
करेसाबारीमा तरकारी फल्थ्यो
गोठबाट दूधको मिठास आउँथ्यो
जीवनको गन्ध हावामा बसाउँथ्यो।
चुलोमा आमा गुनगुनाउँथिन्
सपना र संघर्षलाई गीतमा सिउँथिन्
धुवाँसँगै गाथा उठ्थे घरभित्र
त्यसैमा लुकेका थिए खुसीका चित्र।
त्यो सरल जीवनको सुगन्धित बास
आज पनि सम्झिन्छु, मुटुमा खास
साँच्चै, त्यो घर आँगनको रमाइलो सन्देश
जीवनकै सबैभन्दा मिठो उपदेश।
पँधेरोको पानी, अमृत जस्तै
त्यसले तृप्त गर्थ्यो श्रमले थाकेका भँगालाहरू
गोठका गाई-बाख्राको गुनगुन
प्रकृतिले सुनाउँथ्यो आफ्नै सुमधुर संगीत।
बेलुका लालटिनको मधुरो उज्यालो
परिवारसँगै बाँडिन्थे दिनभरिका सानातिना कुरा
गुराँस झैँ रातो हाँसो
अनि कथा-कविताको एउटा सानो मेलमिलाप।
तीन पुस्ता अटाउने त्यो घर
जहाँ गुन्जिन्थ्यो हाँसो र स्वर
जीवनका कथा बुन्ने आश्रय स्थल
आज भने सीमित छ फोटोका पन्ना भर।
आज त्यहाँ मौनताले घेरेको छ
सम्झनाले मात्र त्यो घर बाँचिरहेको छ
यथार्थ कठोर, समयको गति
तर मुटुभरि बस्छ, त्यो घरको स्मृति।
सहर छिरे, चकमक जीवन
इँटाको जंगल, मानिसको जाल
यहाँ त सबै व्यस्त, कोही कसैको होइन
जिन्दगीको दौडमा, मन कहिल्यै तृप्त छैन।
आफ्नै गाउँ, आफ्नै भूमि
जहाँ थियो आत्मा शान्ति
तर रहरले होइन, बाध्यता बनेर
सहरको भिडमा हरायो यो मन।
एक दिन फर्कने छु, भत्केको घरमा
तीन पुस्ताको आँगनमा
फेरि माटोमा टेक्ने छु खुट्टा
गाउँको झझल्कोमा लेख्नेछु कथा।