पाइला चाल्नु पूर्व
मैले पस्नु छ मभित्र
अनि कोर्नु छ
मनको क्यानभासमा
डरका आकृतिहरू
यस्ता आकृतिहरू
जसको अनुहार देश जस्तै होस्
जसमा माटोको सुगन्ध होस्
जसले तोकिदियोस् परिधि
पाइलाहरूको
हिँडाओस् मार्ग
परम्परा र मूल्य मान्यताहरूको र
सिकाओस् सत्य र सत्कर्म
तर अफसोस
यहाँ हरेक पाइलामा
डरको आकृति
आफूभित्र छाम्न नसक्नेहरू
घुमिरहेछन् स्वच्छन्द आँधी झैँ
बगिरहेछन् अनियन्त्रित खहरे झैँ र
मेटाउन
खोजिरहेछन् पुर्खौँदेखि यो मनमा सुसज्जित
डरका सुन्दर तस्बिरहरू
थाहा छैन
यो मनबाट
डर मेटिएको दिन
मभित्र देश बाँच्ने छ कि छैन
तसर्थ आज
यो मनमा अंकित
मेरो पहिचानलाई
रङाउन खोज्दै छु म
माटोको अमेट रङहरूले
तर्सिन खोज्दै छु
धावा बोलिरहेका
डरविहीन पाइलाहरूसँग
यति बेला मैले
मेरो पहिचान जोगाउन
डरको हतियार तिखारेर
एक विद्रोह गर्नु छ।