थिएन गन्तव्य जानु कतै
भएन हडबड आफू भित्रै
न कर्मको कुनै पाबन्दी थियो
न मर्मको कुनै चोट लाग्थ्यो!
स्वछन्दताको संसार थियो
आफैभित्र स्थिरता हुन्थ्यो
बोल्नु, हेर्नु अनि हाँस्नु पनि
न तिम्रो थियो न मेरो थियो!
माथि स्वच्छ निलो आकाश थियो
तल जमिनको अलौकिक सुगन्ध थियो
लोभ, मोह अनि अहमका अलापहरू
आर्य मौनले सबै बिदा लियो
आफैभित्र कुनै समय थिएन
स्वयंको अवलोकनमा कुनै अवरोध भएन
आफूभित्र आफू हुनु सिवाय
संसार यो कुनै अर्को थिएन!
न राग थियो न वैराग्य थियो
पञ्चशीलले नौलो पराग दियो
स्वाध्यायको बाटो सुगम भयो
आर्य मौनले ध्यानको नौलो परिचय दियो।