मन, एक अज्ञात महासागर जस्तै हो। बाहिरबाट हेर्दा शान्त लाग्छ तर भित्र सधैँ आँधीबेहरी चलिरहेकै हुन्छ। कसैले सोध्छ, ‘मन के हो?’ तब उत्तर दुई थरी आउँछन्— ‘थाहा छ सँगै अनेकौँ ननसेन्स एन्ड नन प्रोडक्टिभ इलाबोरेसन’ र ‘थाहा छैन सँगै शान्त हलचल रहित मुस्कान सहितको एक मुहार।’
मलाई ‘थाहा छैन’ भन्ने उत्तर प्रिय लाग्छ। किनभने मनलाई जसले ‘थाहा छ’ भन्छ, उसले शायद यो अदृश्य संसारलाई कहिल्यै बुझेकै हुँदैन।
मन त एउटा बादलजस्तै हो जुन कहिले उज्यालो आकाशको शोभा बन्छ त कहिले गर्जेर आँसुका वर्षा गर्छ। यो कहिले पढाइको चिन्ताले कसिएको त कहिले रिजल्टको डरले कक्रेको हुन्छ। कहिले कल्पनाको पखेटा फिँजाएर सीमाहीन आकाशमा उड्छ त कहिले निरर्थक सोचका पिङमा झुन्डिइरहन्छ।
मन मेरो शरीरको सबैभन्दा संवेदनशील मुना हो। एउटा सानो काँडा झैँ, यसको पीडा कहिल्यै बेवास्ता गर्न सकिन्न। यो एउटा ऐना , जसले मेरो आत्माको छाया झल्काउँछ, तर कहिलेकाहीँ आफैँ उल्टो परिवर्तन गरेर मलाई नै अन्योलमा पारिदिन्छ।
मनले कहिलेकाहीँ काँचजस्तै काम गर्छ— जसले चिजबिजहरू र प्रकाश देखाउन सक्छ तर जब फुट्छ, त्यही टुक्राले मेरो आत्मालाई गहिरो चोट पुर्याउँछ। यो मेरो साथी पनि हो, शत्रु पनि। मेरो प्रेरणा पनि हो, कहिलेकाहीँ रोकावट पनि। मनले मलाई सधैँ चुनौती दिन्छ— मलाई उसलाई बुझ्न र उसैसँग बाँच्न।
यसलाई शब्दमा बाँध्न खोज्नु भनेको पानीलाई मुठ्ठीले समात्न खोजे सरह हो। मन त समयले कोरेको कथा हो जसको अन्त्य अहिलेसम्म कसैले लेख्न सकेको छैन।
मनको परिभाषा दिन मसँग पनि शब्दहरू छैनन्। मानौँ यो कुनै बादल हो जसलाई आकार दिन खोज्दा झन् टाढा पुग्छ। तर आफ्नो मनलाई आफ्नै नियन्त्रणमा राख्न सक्ने सामर्थ्य छ कि भनेर सोच्न भने कहिल्यै छाडेको छैन।
तर मन अचम्मकै चरा रहेछ— जहाँ रोक्न खोज्छु, त्यहीँबाट फुत्केर अरूको बगैँचामा गुँड बनाउन जान्छ।
आज त्यस्तै भयो। मेरो बसबाट भागेर मेरो मन प्रेम नामक सागरमा पुग्यो या भनौँ अरू कसैको मन नामक बगैँचामा गुँड बनाउन। सायद डुब्न मन लागेको छ प्रेमको गहिरो सागरमा, मानौँ पङ्खाहीन चरा समुद्रको माया गर्दै उसैमा बिलाउन चाहन्छ। उसैसँग, उसका हरेक आनीबानीमा। उसको हिँडाइ, उसको लवाइ, खुवाइ, बोलाइ र हेराइ। उसकै मन नामक बगैँचामा, सबै उसमै।
प्रेम साँच्चै सुन्दा कति मीठो सुनिन्छ! मानौँ सधैँ बिहानको किरणजस्तो खुसीयाली ल्याउने, झन् प्रेम गर्दा त संसारको हरेक खुसी यही एउटै ठाउँमा केन्द्रित भएजस्तो।
उठ्दा, बस्दा, उभिँदा, या केही कुरा सोच्दा, हरेकमा मात्र ऊ।
आफ्नो मनदेखि तनसम्मको हरेक क्रियाकलापमा उसलाई समेट्न थालेको थिएँ।
कसरी सुरु भयो ऊ र मेरो मनको कहानी? यो कथा कुनै फिक्का फिल्मजस्तो छैन; यो कथा फेसबुकको टेक्स्टबाट सुरु भएर अनन्तसम्मको छ।
उसको कहानी सुरु भएको थियो गाडीको झ्यालबाट। झ्याल हुँदै फेसबुकको टेक्स्टसम्म।
सायद आजकाल सबैको कहानीको सुरुवात फेसबुक या इन्स्टाग्रामबाटै हुन्छ। कहाँ-कहाँ टाढा देशका मान्छेको प्रेम पनि एउटै कोठाको कुनामा बसेर हुन्छ। संसारको दूरी त पक्कै थिएन हामीबिच।
कति नै टाढा थिएँ र म ऊबाट! हाम्रो दूरी थियो त केवल राम्रो एक संवादको। जुन दूरी छोट्टाउन म हरदम प्रयास गर्ने वाला थिएँ।
पहिलो टेक्स्ट जिन्दगीमा कुनै केटीलाई पठाउँदै थिएँ। पूरै मेरो शरीर यसरी कामिरहेको थियो, मानौँ शून्य डिग्रीको जाडोमा चौरको माझमा अर्धनग्न अवस्थामा छु। पसिना यसरी बगिरहेको थियो, मानौँ पचास डिग्रीको घाममा बाक्लो कपडा लगाएर आगोको नजिक बसेको छु।
अन्ततः आँट लिएर पठाएँ टेक्स्ट।
टेक्स्टको आठ घण्टापछि रिप्लाई आयो- ‘थ्यांक यु।’ किनकि त्यो दिन उसको जन्मदिन थियो। मैले पहिलो टेक्स्ट नै ‘ह्याप्पी बर्थडे’ भनेर पठाएको थिएँ उसको फेसबुक स्टोरीमा रिप्लाई गर्दै।
केही संवादपछि उसले सोधी, ‘सन्चै छौ?’
मेरो मन संसार जितेजस्तै खुसी भयो, मानौँ युद्ध मैदानबाट विजयी भएर फर्किएको हो। अर्कोतिर त्यही खुसीलाई बोकेर रिप्लाई गर्ने औँलाहरू बुलेट ट्रेनजस्तै गन्तव्यतर्फ हुइँकिए।
‘उम्, सन्चै छु। अनि तिमी?’ मैले सोधेँ।
उताबाट तुरुन्तै रिप्लाई आयो, ‘म पनि ठिक छु।’
फेरि मक्ख पर्दै मैले लेखेँ, ‘सुनेर खुसी लाग्यो।’
राति नौ बजे उसले ‘हाहा...’ भन्दै जवाफ फर्काई।
हाम्रो बिच सामान्य कुरा हुँदै थियो। अचानक, उसले लेखी- ‘सरी, तर तिमीलाई मैले अलि याद गर्न सकिनँ नि।’
संसार जितेको जस्तो खुसीले भरिएको मेरो मन अब खिन्न र निराश भयो, मानौँ हिमाल चढ्ने प्रयास गर्दा हत्केलामा घाउ भएजस्तो। मेरो औँलाहरूको गति पनि कम भयो।
तर आफ्नो परिचय गराउने प्रयास गरेँ, ‘म आदित्य क्या। कुनै समयको तिम्रो ब्याच मेट। तिमीलाई सधैँ देख्थेँ मैले, स्कुलको गाडीमा। अनि कक्षा कोठामा।’
सधैँ देख्ने भन्दा पनि सधैँ तिमीलाई हेर्थेँ भन्न मन थियो मलाई। जुन कुरा पहिलो संवादमै भन्न शोभनीय थिएन|
उसले अलिकति याद आएको जस्तो गरी, ‘‘उम् आदित्य वाग्ले? त्यो तिमी, फ्री टाइममा हाम्रो क्लासमा आउने? तिमी अनि तिम्रो अर्को साथी!’
मेरो मनमा केही आस पलायो। धन्य, केही त याद रहेछ उसलाई।
खुसी हुँदै फेरि लेखेँ, ‘हो, हो। त्यही म।’
यही एउटा वाक्यले मेरो मन प्रसन्न थियो।
म ऊसँगको गफमा मस्त थिएँ। राति ११ बजे उसको ‘गुड नाइट’ लेखिएको मेसेज आयो। मैले पनि ‘गुड नाइट’ भनेँ अनि फेरि मेरो मनले के सोच्यो कुन्नि,लेखिदिएँ- ‘अनि आजको सपना मलाई देख है त।’
त्यो टेक्स्ट सिन भएन। डराउँदै सुत्ने प्रयास गरेँ। तर निद्रा लागेन त्यो रात। बिहान चार बजेतिर आँखा लाग्यो। तर कुन्नि के भयो कुम्भकर्ण जस्तै सुत्ने म त्यो दिन ५:४५ मै उठेँ। त्यो दिन पहिलो चोटि निद्राको मतलब थिएन मलाई|
सिधै ट्याब्लेटतर्फ हात बढाएँ। खोले म्यासेन्जर। उसको मेसेज आधा घण्टा अगाडि आएको रहेछ, ‘गुड मर्निङ!’
मेरो मन बिहान उड्ने चराझैँ भयो। खुसी, उज्यालो र उमङ्गले भरिएको। मेरो एउटा मनले भने सोचिरहेको थियो, कति जाँगरिली रहेछिन्! मनले अनेकौँ कुरा सोच्दै गर्दा हातले भने ‘गुड मर्निङ’ भनी रिप्लाई गर्न भ्याइसकेको थियो।
त्यसपछि मैले सुत्ने बेलामा सोधेको प्रश्नलाई फेरि उठाएँ, ‘देख्यौ त मलाई सपनामा?’
उसको रिप्लाई आयो, ‘उम्, देखे जस्तो लाग्छ।’
मैले फेरि सोधेँ, ‘अनि के गरिरहेको रहेछु त म तिम्रो सपनामा?’
उसले लेखी, ‘भोलि सपनामै आऊ त्यही भन्छु, मिस्टर आदित्य।’
मैले उसको मजाकलाई मन पराउँदै लेखेँ, ‘तिमीले सपना देखेको भनेपछि मलाई जान्ने रहर भयो।’
मेरो त्यो टेक्स्टपछि उसलाई के लागेछ कुन्नि, दोहोरो कुरा नगरीकन उसले टेक्स्ट पठाई, ‘तिमी मेरो सपनामा बदरजस्तै नाचिरहेको थियौ।’
त्यो हास्यव्यङ्ग्यको उत्तरले मेरो मनमा प्रेमको मीठो अनुभूति भरिदियो। उसले भनेको बाँदर अनि मिस्टर आदित्यको सङ्गमले मेरो मनले प्रेम भावको अनुभूति गर्यो।
हाम्रो कुराकानी राम्रोसँग चल्दै थियो। बिहान कहिलेकाहीँ ऊ मभन्दा पहिला उठ्थी र ‘गुड मर्निङ’ को टेक्स्ट अवश्य पठाउँथी। म पहिले उठेँ भने मैले पठाउँथेँ।
गुड मर्निङदेखि गुड नाइटसम्म हाम्रो संवाद चलिरहन्थ्यो। तर एक दिन सधैँझैँ कलेजबाट घर फर्किएर म्यासेन्जर खोलेँ। आजको दृश्य भने केही अलग थियो— जस्तो रातको चाँदनी लोप हुँदै जान्छ, मेरो मन पनि यो दृश्य देखेर अन्धकारमा डुब्यो।
मेरो आँखाले विश्वास गर्नै सकेन। त्यहाँ थियो फेसबुकको एउटा सन्देश— ‘तपाईंलाई ब्लक गरिएको छ।’
यो देख्न साथ मेरो मनमा फुटेका सिसाहरू जस्तो संगीत बज्न थाले।
‘सुरु भयो त्यहाँ, जहाँ शब्दले स्पर्श गर्यो,
फेसबुकका अक्षरले मनलाई बटार्यो
फिक्का थिएन यो कुनै साधारण कथा
हावा झैँ मुक्त, सागर झैँ गहिरो व्यथा।’
यी साना प्रेमकथा र यसको विडम्बना भनेका साँच्चै मान्छेको मनको खुला किताब हुन्। यो किताबको एउटा नयाँ पाना कुनै दिन फेरि प्रस्तुत गरौँला। अहिलेलाई ‘ब्लक’बाट ‘अनब्लक’को प्रतीक्षामा। मेरो मनभित्रको प्रेम कथा अधुरै छ।