प्रत्येक बिहानी
एकोहोरो हेरिरहन्छ
चिसो रातको ताजगी कायम रहेको
हरियो डसनामा सिरानी लागेको
डल्लो, बाटुलो अनि चम्किलो
एक थोपा शीतको
प्रातः मा बिउँझेको पहिलो पात्रलाई।
आफ्नो दिनचर्या सुरु गर्न पूर्व
म घोरिन्छु केही बेर
त्यसलाई हेरेर
मानौँ
बिपनामा छुट्टिएर सपनामा भेट्ने
प्रेमी झैँ
टोलाइरहन्छु निरन्तर
तर मैले जुटाउन सक्दिनँ
स्पर्श गरेर त्यसलाई अनुभूत गर्ने ऊर्जा
सपनामा भेटिने व्यक्तिसँग बोल्न खोज्दा
सपना नै भंग भए जस्तो
अन्तस्करणको डरले मलाई
रोकिरहन्छ।
हुन त एक निमेषलाई मात्रै हो
त्यसको अस्तित्वको आयु
तर यसबारे उसलाई कुनै ज्ञात छैन
बेफिक्री
आफ्नो उमेर भर मुस्कुराइ बाँचिरहन्छ
उसलाई थाहा छ
हरेक रात
जुनले उसलाई धर्तीको भ्रमणमा पठाइरहन्छ
उसले गरेको भाकल नै त्यति भएर होला
यो समयावधिभर ऊ
मुस्कानका विकिरण
सूर्यका पहिला किरणसँगै
सर्वत्र छरिरहन्छ।
यसरी एक थोपाको सामीप्यमा सुरु भएको दिनचर्या
रित्तिँदै
पोखिँदै
गिलासको पिँधमा बाँकी
केही थोपा मदिरामा गएर विसर्जन हुन्छ
अँजुलीमा लिएको पानी झैँ।