बच्चै हुँदा खेरी हो
उसलाई कसैले भनेको थियो
अधिक सुन्नू
बिचारेर कम बोल्नू
निर्णायक बोली बोल्नू भनेर।
एक दिन उसैको टेबुल अघि
एक हुल गाली आइपुगे
बिना परिचय
बिना सन्दर्भ गालीहरू
चिच्याउँदै गए।
गालीसँगै थप भए
अकारण घृणाहरू
अनियन्त्रित आक्रोश
निन्दा र हुल हुज्जत
आलोचना र निरर्थक रोइलो
अप्रमाणित आरोपहरू
तैपनि ऊ चुपचाप नै छ
गालीहरू रोकिँदैनन्
ऊ रोक्न कोसिस गर्छ
अहँ! गालीहरू कान दिँदैनन्
अन्ततः केही सिप चल्दैन
ऊ मुस्कुराउँछ
गालीहरूका आँखा विस्फारित हुन्छन्
गालीहरू गल्न थाल्छन्
पुनः मुस्कुराइदिन्छ।
ऊ पटक-पटक मुस्कुराइदिन्छ
गालीहरू शान्त हुन्छन्।
हो, त्यसै दिनपछि
उसले थाहा पाएको हो
गालीहरू कान सुन्दैनन्
तर कमसेकम आँखा देख्ने रहेछन् भनेर
र त्यसै दिन उसले
विनिर्माण गरिदियो
शैशव काल देखिको मान्यतालाई!