छोरा!
मलाई डाक्टरले मात्र बिरामी भन्छ
अनेक जाँच, थेरापी र औषधि खुवाउँछ
औषधिले खै के हुन्छ झन् बिरामी बनाउँछ
गाउँमा रोग लाग्यो भनेर हल्ला फैलाउँछन्
आफन्त भेट्न आउँछन्, अनुहार मलिन बनाउँछन्
फर्किँदा यस्तो नि बिरामी हुन्छ हट्टाकट्टा भन्दै कुरा काट्छन्
रहरले अस्पताल गएको रे, पैसा धेर भएको रे
अनावश्यक खर्च गरेको रे
बाबु,
के म बिरामी हुँ?
नाइँ होइन
हुँदै होइन आमा
बिरामी त हाम्रो समाजको सोच हो
जसले बिरामी भनेको बेडमा पल्टेको
घाइते भएको
दुखी देखिने बुझेको छ
आफूलाई मै हुँ भन्ने ठानेको छ
ती सबै मानसिक बिरामी हुन्
उनीहरूलाई उपचारको खाँचो छ
औषधि त चेतना भए पुग्छ
आमा!
तपाईं ढुक्क हुनुस् एक दिन आउँछ
सबैले बुझ्छन्
रोग अनेक हुन्छन्
सबै रोगको उपचार माया र हौसला हो
औषधि त केबल साधन मात्र, त्यो पनि साइडइफेक्ट सहितको।