यदि कहिले प्रश्न जिउँदा देवता को हो भन्ने उठ्यो भने
मेरो जवाफ मेरा बा हुनेछन्
दुःख लुकाई मिठो हाँसो बोकेर हिँड्ने
मेरा महान् बा उदाहरण हुनेछन्
समय, परिस्थितिको प्रवाह गर्दैनन्
हातमा फोरा, कम्मरमा दर्द, खुट्टाको छाला खोल्से पनि
उनी रोकिने छैनन्
आफ्नो इच्छा मार्ने, स्वाभिमानी व्यक्ति मेरा बा
कहिले केही मुस्किलबाट डराउने होइनन्
छोराछोरीको खुसी देख्न उनी आफ्नो गति रोक्ने होइनन्।
सम्झना छ अझै
आफ्नै भनिएका उनीहरूका शब्दका ती प्रहारहरू
मेरा बालाई नै केन्द्रबिन्दु बनाएर होच्याउने
आदरणीय गुमाएका मान्यजनहरू
भनूँ भने त मान्छेको बोली बन्दुकको गोली भइदिए
चित्त नदुखाऊँ भन्दा नि दुख्ने रहिछ
उमेरले सानो भएको कुराले पनि बेसरी नै पिर्दो रहिछ।
मेरा बाको भावनालाई एक पलमै ध्वस्त बनाएको
पैसा कमाउन नसकेको भन्दै मेरै बालाई बारम्बार गिज्याएको
सबै बातहरू सुनिरहँदा पनि एक लवज नबोली स्तब्ध रहन्छन्
आँखा रसिलो भएका हुन्छन् तर
आफूलाई हामीसामु देखे मुसुक्क मुस्कुराइदिन्छन्
मलाई कोहीको मप्रतिको धारणाले कत्ति पनि विचलित पार्दैन भन्छन्
आत्मा मेरो तर शरीर तिमीहरू हौ भन्छन्
अनेकौँका कुरा होइन मलाई मेरा सन्तान प्रिय छन् भन्छन्
केही कुराको कमी हुन दिनेछैन मेरो प्रतिज्ञा छ भन्छन्।
बिहान सबेरै जान्छन्, राति ढिला आउँछन्
थकित अनुहार, जीउ लुलो भएको हुन्छ तर
एउटा 'बा' शब्द सुन्न साथ उज्यालो मुख बनाइदिन्छन्
आफू घाममा खटिएका छन्, पानी आउँदा रुझ्दै बसेका छन्
स्कुल जान अहिलेसम्म हिँड्नु परेको छैन
जहिले ओताएका छन् पानीमा रुझ्नु परेको छैन
राति आमा, बा मिली घर धान्न गाह्रो भएको कुरा गर्छन्
आज मालाई यो चाहियो भन्न साथ अर्को बिहान सबै पुर्याइदिन्छन्
आफू खाली रहलान् तर सन्तानलाई भरिपूर्ण राखेका छन्
हाम्रा चाहना पूरा गर्न समयसँग युद्ध गरेका छन्
मेरा बा उनी महान् छन् उनको महिमा गाएर सकिन्न
लेख्न खोजे उनको बारे त्यो लेखन टुङ्गिन्न
आखिर मेरा बा, बा हुन् उनको जस्तो कोही हुन सक्दैनन्
पूरै ब्रह्माण्ड घुमे पनि मेरा बा जस्तो कतै पाइँदैनन्
उनी करोडौँको भीडमा पनि एक तर अनेक छन्
मेरा बा साँच्चिकै महान् छन्।