म पागल हुँ र भन्छु विकास नहोस् मेरो गाउँमा
गाउँ डुब्दै छ नगर केही काम विकासको नाउँमा
ए सरकार! तिमीले मेरो गाउँका मान्छे बिगार्यौ
खै के लोभ लालच देखायौ त्यो बिरानो ठाउँमा।
सबेरै उठ्दा घामका किरणसँगै यी आँखामा ठोकिन आउँछन् मालिकाका डाँडा पनि। मालिका माताको थानमा जपेका बिन्ती र बाचा मेरो गाउँमा सुनिन्छन्। अगरबत्तीको खुस्बुले मेरो गाउँ सुगन्धित बन्दछ। जलाइएका दियोले मेरो गाउँ उज्यालो बन्दछ। यही सब पछि बास्दछ एक भाले कुखुरो र सुरु हुन्छ मेरा गाउँका मान्छेको दिनचर्या।
सायद तिमी पनि गएको होलाउ मालिका माताको दर्शन गर्न! अझैँ लाग्छ कहिल्यै गएका पनि छैनौ, यदि गएका हुन्थ्यौ भने सायदै बुझ्दथ्यौ होला त्यहाँका पाटनमा उफ्रँदै आफ्ना हितैषीसँग खेलिरहेका घोडाहरूको मनोरञ्जन।
परिवारसँगै बसेर त्यहाँको पाटनमा चरिरहेका भेडाको मुस्कान। वर्षौँ पछि जन्मिने मौका पाएका जडीबुटीको अस्तित्व। हिउँ पग्लेर त्यही पानीको साथले बाँचेका कैयौँ जीवको साथ बुझ्थ्यौ होला।
यति सबै हुँदा पनि तिमीले बुझ्दैनौ भने अग्ला डाँडाबाट देखिने बादलुका गुच्छाले तिम्रो मन के पगाल्थ्यो होला र! मन पगालेको भए तिमीलाई पनि लाग्दो हो सेती बुढीका थोता दाँत थोला पछाडि लुकेझैँ बादलुका गुच्छाभित्र लुकेर बसेका हिउँले ढाकेका हिमाललाई हेरूँ हेरूँ।
हो, यही सबै कुराले मेरो गाउँ बाँचेको छ। हिउँ पग्लेको पानी मेरा गाउँका एक-एक घरका गाग्रीमा भरिएको छ। त्यही सुन्दर गाउँको तस्बिर हरेक गाउँलेका आँखाले अमिट बस्ने गरी खिचेर राखेको छ। के तिमीले अब मेरो गाउँलाई तस्बिरमा मात्रै सीमित राख्ने भयौ?
तिमीले के बुझ्न सक्थ्यौ र मेरो गाउँको बारेमा!
खोलामाथिका काठेपुलले किनारासँग कहिल्यै नछुटिने सम्बन्ध बनाएका छन्। मेरो गाउँका वन जङ्गलले बोल्न सिकेको छ। गाउँमा अलिक जोडले कोही रोयो करायो भने जङ्गलले पनि पुकार्दछ त्यही ध्वनि। नदी बग्दाको सुस्केरा त झन् तिमीलाई म शब्दमा केही बयानै गर्न सक्दिनँ। तिम्रो सहरको धुलो जस्तो मेरो गाउँको धुलो छैन। मेरो गाउँको धुलोमा सुन फल्दछ। पत्यार नभए हेर न जाऊ असोज कात्तिकमा मेरा गाउँका गराहरू जो सुन फलाएर मुस्कुराइरहेका भेटिन्छन्।
तिमीले सायद यो सबै कुराको महत्त्व बुझेका छैनौ। नत्र तिमीले मेरो गाउँमा विकासका योजना बनाउने थिएनौ। तिमीले विकास नभई विनाश गरिरहेका छौ। जबदेखि तिमीले यो कदम चाल्यौ त्यहाँदेखि मेरो गाउँ उही पुरानो गाउँ रहेन।
केही वर्ष अघिसम्म गाउँमा कसैको विवाहको कुरा सुनिने बित्तिकै गाउँमा पञ्चेबाजाको तालले गाउँ नै रमाउँथ्यो। आमाहरूले गाएको मागलको त झन् कुरै नगरौँ। तर अहिले गाउँमा पञ्चेबाजा होइन डब्बा बाजा बज्छ, मादल नभई पप गीत बज्छन्। अब भन तिम्रो विकासले मैले के गरौँ? के तिमीले यसको नोक्सान बेहोर्न सक्छौ?
४/५ वर्ष अगाडिसम्म गाउँमा नयाँ वर्ष, असार पन्ध्र, श्रावण पन्ध्र, दसैँ, तिहार, चेली तिहार सबै आउँथ्यो तर अहिले यी सबै मनाउने कसैसँग समय पनि छैन। अझैँ भनौँ भने धेरैले वास्ता गर्दैनन्। यो सब किन भइरहेछ सायद मैले खुलाउनु पर्दैन होला यसको कारण। तिमी सहरको मान्छे, सायद बुझ्छौ।
तिम्रो विकसित ठाउँले लोभ्यायो मेरो गाउँका मानिसहरूलाई। अहिले गाउँमा कोही मर्यो भने पनि लासलाई घाटसम्म पुर्याउन महिला र बच्चाबाहेक कोही छैनन् गाउँमा। केही वर्षपछि त सायद लासहरू घरको बार्दलीमै सडेर गल्छन् होला। के तिम्रो सहरमा पनि यस्तै हुन्छ?
अचेल गाउँका खोलाले सुसेल्न छाडिसके, रुखले आफूसँग खेल्ने मान्छे नभएर गुनासो गर्छन्, ती घरहरू जहाँ कोही बस्दैनन् तिनलाई रुन पनि बर्खा लाग्नु पर्छ ता कि बर्सातले त तिनको आँसु पुच्छ भनेर। चौरहरू फुलेर सेताम्मे भइसके, मालिकाको हिउँले भरिएका गाग्री आज मरुभूमि झैँ सुख्खा छन् र गाउँका सबै सोचहरू सबै सहरिया भइसके। यो सब देखेर लाग्छ मेरो गाउँ कहिल्यै विकास नहोस्।