खम्पा केटीको नयाँ जिन्दगी भाग २
झमक्क साँझ परेपछि उनीहरू छुट्टिए। छुट्टिनु अघि गहिरो सन्नाटा छायो दुवैको मनमा। आँखामा रहरका लहरा झाँगिइरहेका थिए। सेतो घोडाको आँखाबाट अलिकति आँसु झरेको उसले ख्याल गरेकी थिई।
गोजीबाट सेतो खादा झिकेर लगाइदियो वाङ्दीले। अनि फनक्क फर्केर गयो घोडालाई डोर्याउँदै। वाङ्दी खै कता गएर रात काट्यो तर ऊ भने लोमान्थाङ दरबार अगाडिको चिसो भुइँमा सुती।
सुत्नु पहिले उसलाई हनहनती ज्वरो आयो। चिसो सिरेटोले हानेको टाउकोलाई न्यानो बनाउने केही थिएन ऊसँग। भोको पेटलाई कुलोको पानी पिएर थमथमाएकी थिई। राजाको दरबारको भोटे कुकुर कराएर उसलाई निदाउनै मुस्किल भयो।
ढुंगा छापेको भुइँमा ऊ जसोतसो निदाई। निदाउनु अघि वाङ्दीलाई सम्झी। अनि सोची– छुटिनु अघि उसले भनेको मानेको भए यति बेला ज्यानले न्यानो पाउँथ्यो। १८वर्षदेखि चिसिएको ज्यान चिसै रह्यो।
राति उसले अचम्मको सपना देखी। सपना यस्तो थियो-
पूर्वको डाँडोबाट घाम उदाउँदै गर्दा वाङ्दीले उसलाई ब्युँझाउन आइपुग्यो। ऊ ब्युँझँदा उसको अगाडि वाङ्दी र सेतो घोडा थिए। उठेर कुलोमा गई र अनुहारलाई फेरि साजी बनाई। नजिकैको कुँगा गुरुङको होटेलमा गएर दुवै जनाले भोटे चिया खाए। ज्यान तातो भएपछि उसलाई घोडा चढाएर वाङ्दीले घोडाको लगाम समायो। बजार छोड्ने गेटैनेर पुग्दा वाङ्दीले के सम्झ्यो कुन्नि, फनक्क फर्कायो घोडालाई बजार तिरै। छ्यूमिको कपडा पसलमा पुर्याएर टक्क रोक्यो। उसलाई घोडाबाट झारेर भित्र लग्यो। आफ्नै स्वास्नीजस्तै मानेर उसको चीवर खोलिदियो।
मौनजस्तै बनेर वाङ्दीको हरेक हातमा साथ दिई उसले। भित्र सेतो टिसर्ट र नीलो जिन्स पाइन्ट थियो उसको। चीवरको कपडा खोलेपछि ऊ कुनै फिल्मको हिरोइनजस्तै देखिई। छ्यूमिको पसलबाट न्यानो ज्याकेट र ट्राउजर किनेर लगाइदियो। कानमा हावाले हान्ला कि भनेर न्यानो टोपी पनि लगाइदियो। भेडाको भुवा भएको एक जोर जुत्ता किनेर खाली खुट्टामा लगाइदियो। दुष्ट हावाले आँखा बिगार्ला कि भन्ने डरले कालो चस्मा लगाइदियो। अनि फेरि घोडा चढायो उसलाई।
घोडालाई मूल बाटो भएर चराङ पुर्यायो। चराङबाट ओरालो बाटो हुँदै आफ्नो गाउँ लग्यो– घारा गाउँ। गाउँमा पुग्दा आकाशको घाम टाउकोमाथि आइपुगिसकेको थियो। घरभित्र लग्यो र खादा लगाइदियो। आफ्नै भाषामा के-के भन्यो आमा र बहिनीलाई। उसकी आमा र बहिनीले पनि खादा लगाएर भेडाको छालामाथि बसाले। उनीहरू जसो जसो भन्थे उसै उसै गरी उसले। फेरि खाई भोटे चिया। अनि खाई ढिँडो र आलु। घरभित्र बस्दै गर्दा देखी– भान्सामा सुनका थाल थिए, चाँदीका कचौरा थिए। भान्सा कोठाको बिचमा राखेको तिब्बती चुल्हो देखेर उसलाई आनन्द लाग्यो। बाहिर निस्की र हेरी गाउँका अरू घरहरू। सबै माटोको छानो भएका घर थिए त्यहाँ। छानाको चारैतिर दाउराको भारीको अग्लो पर्खालजस्तो लगाइएको थियो।
त्यो रात ऊ वाङ्दीकै घरमा बसी।
सुत्नलाई कुनै ठुलो खाट थिएन। चुल्हो वरिपरि साना साना 'लो-बेड' जस्ता बस्ने ठाउँ थिए। सुत्ने बिस्तारा पनि त्यही रहेछ। उसको सिरानीपट्टि वाङ्दीकी आमा र खुट्टापट्टि वाङ्दीकी बहिनी सुतेकी थिई। वाङ्दी कता गएर सुत्यो भन्ने उसले कुनै मेसो पाइन। सुत्ने बेला मनले खुबै खोज्यो वाङ्दीलाई। मन अत्तालियो उसको।
सपनामा सपना देखिन्न भन्छन् मान्छेहरू। तर त्यो रात उसको सपनामा आइपुग्यो खम्पाको सरदार गे वाङ्दी। सेतो घोडामा चढेर आएको थियो ऊ। सरासर निमाको घरभित्र पस्यो र उसलाई उठायो। चढायो आफ्नो सेतो घोडामा। आफ्नै काखमा राख्यो र लगाम समाउन दियो उसलाई। घोडालाई कायाकैरन हेरी उसले। निमा वाङ्दी र गे वाङ्दीको घोडा दुरुस्तै थियो।
सम्झी उसले पढेको खम्पाको कथा। हेरी सेतो घोडाको पुच्छर। देखी– पुच्छरमा ठुलो झाङ बाँधेकै थियो। अनि ढुक्क भई।
सोध्यो गे वाङ्दीले– ‘म्हेन्दोक, भन कुन बाटो भएर जाने धर्मशाला?’
सपनामै अचम्म मानी उसले, कसरी थाहा भयो उसको नाम त्यो खम्पाको सरदारलाई?
प्रश्न भरिएका आँखाले सरदारलाई पुर्लुक्क हेरी।
चलाख गेले नबुझ्ने कुरै भएन। भन्यो– ‘तिमी मेरी स्वास्नी थियौ आजभन्दा ५५ वर्ष अगाडि।’
अचम्म लाग्यो म्हेन्दोकलाई।
सुस्तरी भनी– ‘मलाई हाम्रा खम्पाका पुराना बस्ती हेर्न मन छ वाङ्दी।’
वाङ्दीले घोडालाई पुरानै बाटोमा हिँडाउन लाग्यो जुन बाटोको वरपर खम्पाहरूले क्याम्प बनाएर बसेका थिए।
सबैभन्दा पहिले उसले घोडालाई लुरी गुम्बामा लगेर म्हेन्दोकलाई म्हाने घुमाउन लगायो। सेतो खादा लगाइदिएर मन्त्र उच्चारण गर्न लाग्यो। नजिकैको खोलाबाट अलिकति ढुङ्गा खोजेर ल्यायो र गुम्बाको बाहिर देउरालीजस्तै बनायो। त्यहाँबाट कालीगण्डकीको किनारै किनार घोडालाई ताङ्गे गाउँको फेदसम्म कुँदाउँदै लग्यो। केही बेर किनारमा सुस्ताएपछि फेरि उसै गरी घोडालाई नदी किनारको बाटो भएर ओरालो झार्यो चैले गाउँको फेदसम्मै। नदीको साँघुरो गल्छीबाट छिराउँदा घोडाले निहुँ खोज्दै थियो। लगाम बेस्सरी खिचेर घोडालाई हिँडाइरह्यो। छुसाङ गाउँको फेदमा पुगेपछि घोडाले नदी तर्यो र उनीहरू देब्रेतिरको उकालोमा लागे।
सपनामै भए पनि म्हेन्दोकलाई भोक थियो पेटमा। अलिअलि डर थियो आँखामा। तर साथमै भएको वाङ्दीले उसको डर र भोक दुवै जितेको थियो। छुसाङबाट तेताङ गाउँको बाटो उकालो लाग्न सुरु गरेपछि घोडाले पनि दुःख दिन लाग्यो। हावा चल्न पनि गाह्रो मान्ने उकालोमा कसरी चढोस् वाङ्दीको घोडा एक जोडी मान्छेलाई ढाडमा बोकेर। र पनि उकालो नहिँड्नुको सुख थिएन उसलाई। आफ्नो मालिकलाई राम्रोसँग चिनेको थियो।
चार–पाँच घण्टाको उकालो चढेपछि पुगे– नरिक र चलेको डाँडोमा। त्यहीँबाट देखियो केही डाँडा पारिको याक हिमाल। अनि याक हिमालको उत्तर पूर्वमा देखिए स्याजे, कर्चि, घोल, सालाक, सिबुक र घोक भन्ने ठाउँहरू। वाङ्दीले नरिक र चलेको त्यही डाँडोबाट देखायो उसलाई याक हिमालको फेदतिर अलिअलि बचेका खम्पा बेलाका घरका भित्ताहरू। खुसीले उज्याला भए म्हेन्दोकका आँखाहरू। ठुला आँखाले देखी आफ्नो पूर्वजन्मको ठाउँ। देखी पहराभरि जिम्मु लटरम्म थियो। याक हिमाल पनि उसलाई देखेर झनै चम्केजस्तै लाग्यो। सम्झी– याक हिमालको फेदसम्मै उनीहरू कसरी दौडिन्थे, कसरी चौँरी चराउँथे र चौँरीको रगत पिएर मेला मनाउँथे। एकाएक उसलाई पूर्वजन्मको स्मृति ताजा भएर आयो। सम्झी उसका बाल्यकालका साथीहरू। पेमा ल्हामु, घ्याचो र लोप्साङ उसका मन मिल्दा साथी थिए। वाङ्दीले उसलाई जबरजस्ती स्वास्नी बनाएर लगेपछि साइनो टुटेको थियो सबैसँग।
घोडाबाट ओर्लेर त्यो बिरानो माटोलाई छोई उसले। लाग्यो ऊ आफ्नो ठाउँमा आएकी छ, आफ्नो मूल गाउँमा आएकी छ। खोल्सोतिर गएर छेकिई एकैछिन। फर्केर आउँदा हातमा दुई वटा यार्सागुम्बा थियो।
थ्याच्च बसी भुइँमा। अनि आफ्नो काखमा वाङ्दीको शिर राखेर गीत गुनगुनाउन लागि।
याक चाङ्पो स्हुङ्ने, भ्हापहिन ढीपाङ ब्हा,
ज्यूङ्ना ख्येकि स्हाधा, साम्ने आज्यो ला...
(भाषानुवाद- याक खोलाको फेदीतिर झरी आए चौँरी गाई, तिम्रै स्वास्नी बनाउँछौ कि लौन मेरा दाइ)
केवा लेन्दे होहेन्, राङ ह्युल साम्ने होहेन
ङ्हला धुरु ब्होरना, ल्हुईसेम किपो होङ...
(भाषानुवाद- अर्को जन्म पाएकी छु आफ्नै गाउँ आएकी छु, मलाई यतै छोडी गए खुसी हुन्थ्यो मेरो मन)
उसको गीत सुनेर वाङ्दी मुसुक्क मुस्कायो। कतै झाडीतिरका चराले सुनेर चिरबिर चिरबिर गरे होलान्, नाउरको बथानले सुनेर एक छिन टोलाए होलान्, वन कुकुर र हिउँ चितुवाले सुनेर कान ठाडा बनाउँदै रमाए होलान्। यी सबै नभए पनि त्यहाँको हावाले सुन्यो। उडाएर लगिदेला उसको गीत याक खर्कको फेदीसम्मै र ठोक्काउला त्यहाँका पुराना माटे भित्तामा।
काखमै सिरानी बनाउँदै वाङ्दीले म्हेन्दोकको शिर निहुरायो। लामो कपालले आफ्नो अनुहार सर्लक्क छोप्यो र ओठमा एक माइल लामो चुम्बन गर्यो।
वाङ्दीले उसलाई भन्यो– ‘तिमीलाई हाम्रो हेडक्वार्टर भएको कैसाङमा लैजान मन छ, तल लार्जुङतिर घुमाउन मन छ। कैसाङमा त अचेल हामीलाई लडाइमा हराएको नेपाली सेनाको फौज छ। लार्जुङतिरका थकालीहरू असाध्यै बाठा छन् अचेल, हामी गए चिनिहाल्छन्।
यति भनेर वाङ्दीले उसलाई अरू ठाउँमा लगेन। त्यहाँबाट फर्किएर कागबेनीको बाटो पाक्लिङ, फल्याक हुँदै उनीहरू साङ्ताको उकालोमा निस्किए। साङ्ताको बाटो घल्देन घुल्दुम, नोर्बुलुङ हुँदै डोल्पाको छार्का पुगेर रोकिए त्यो साँझ। अर्को बिहान छार्काबाट पश्चिम लाग्ने बेला ऊ घोडा चढ्दै थिई, खुट्टा चिप्लिएर भुइँमा लडी।
त्यही बेला ऊ लोमान्थाङ दरबार अगाडिको भुइँमा सपनाबाट ब्युँझी।
राजाको दरबारको तेस्रो तलाबाट भोटे कुकुर कराउँदै थियो। पारिलो घाम भुइँका ढुंगासँग लपक्क परेर टाँसिएको थियो। वरिपरि घरका पेटीमा मान्छेहरू ॐ मणि पद्मे हुँ भन्दै माला गन्दै थिए। बिचको भुइँमा सुतेकी ऊ बिस्तारै उठी।
हेरी वरिपरि। कतै देखिन उसको निमा वाङ्दीलाई।
उसलाई घेरेजस्तै गरी पेटीमा बसेका मान्छे देखेर आँखा नमिठा भए। सपना सम्झी। अनि सोधी– घारा गाउँ यहाँबाट कति टाढा पर्छ? अनि त्यहाँ निमा वाङ्दी नाम गरेको केटो छ कि छैन?
घारा गाउँको दूरीको जवाफ त पाई तर निमा वाङ्दी गरेको कुनै मान्छे त्यहाँ नभएको भन्ने पनि थाहा पाई।
सोची– उसो भए हिजो भेट भएको मान्छे को थियो? अनि सपनामा घारा गाउँ पुर्याउने केटो को थियो?
फेरि सोधी– खम्पाको सरदार गे वाङ्दी आएको थियो कि भनेर। त्यसको पनि जवाफ भेटिन उसले।
जिन्दगीको कुनै जवाफ नपाएकी ऊ, त्यहाँ पनि निरुत्तर भई।
सोची– सपनामा देखेको बाटो पछ्याउँदै गएँ भने कतै त भेटुँला कुनै वाङ्दीलाई।
उसले अठोट गरी अब उसलाई वाङ्दी चाहिएको छ जिन्दगीमा। हिजो लोमान्थाङ आउँदै गरेको बेला भेटिएको होस् वा सपनामा पूर्वजन्मका गाउँ डुलाउन लगेको होस्।
लगाएको चीवर फुकाली र दरबारको आँगनमै राखी। सरासर नजिकैको कपडा पसलमा गई। पसलको नाम हेरी, लेखिएको थियो– छ्यूमि फेन्सी। सविस्तार बताई सपना र दानमा मागी एक जोर बाक्ला कपडा। टिसर्ट पाइन्ट माथि बाक्लो ज्याकेट र ट्राउजर अनि खुट्टामा चाइनिज जुत्ता लगाएर लोमान्थाङको गेटबाट बाहिर निस्की। हिँड्ने बेला भनेकी थिई– यो कपडाको ऋण तिर्न म छिट्टै आउँछु है।
***
ऊ चराङ पुगेर अलमल्ल परी। सपनामा हिँडेको बाटो पछ्याउन उसको मनले मानेन। खै के भयो उसको मन। मान्दै मानेन उसको मनले चराङबाट घाराको बाटो समात्न। मूल बाटो जहाँ पुग्छ त्यहीँ जान्छु भनेर हिँडिरही। चराङ, समर, चैले हुँदै ऊ छुसाङको पुल तरेर गई। कुनै यायावर यात्रीजस्तो निस्फिक्री भएर हिँडेकी थिई। खुट्टाले बाटोको दूरी घटाउँदै थियो त मन र मस्तिष्कले वाङ्दीलाई खोजिरहेको थियो। उसको अबको गन्तव्य वाङ्दी थियो जसले उसका हात समातेर भनेको थियो– अब कहिले नछोड्नलाई समातेका हात हुन् यी भनेर।
लोमान्थाङबाट झर्दै गर्दा बाटोमा के खाई र भोकलाई शान्त पारी, त्यो ऊ आफैलाई थाहा छैन। कुन ठाउँमा पुग्दा झमक्क साँझ पर्यो र एक रात निदाई भन्ने पनि थाहा छैन। उसलाई यत्ति थाहा छ– उसले वाङ्दीका हात समात्नु छ अब कहिले नछोड्ने गरी।
लोमान्थाङबाट हिँडेको दोस्रो साँझ ऊ कागबेनीको दोभानमा पुगी। सन्ध्या आरती गर्दै गरेको हेरी। आरती लिई र छिप्पिँदै गरेको साँझमा फेरि मुक्तिनाथ जाने उकालो बाटोमा पाइताला दौडाई।
उसलाई लागेको हुँदो हो, उसको वाङ्दी मुक्तिनाथ बजारतिर घोडाको लगाम समाएर यात्रु कुरेर बस्दै गरेको छ। अस्तिको साँझ उसको हात समाउने त्यो केटो त्यतै कतै उसैलाई पर्खेर बसेको छ। गोब्रे सल्लाको ढाडजस्ता खुट्टा भएको सेतो घोडाले ऊ आउने बाटो हेरेर बसेको छ।
भोलिपल्टको बिहान, गे वाङ्दीले घोडा चढाएर लगेको साङ्ताको उकालो बाटो हेर्दै ऊ मुक्तिनाथ मन्दिर निस्कने सिँढीमा सुस्ताउँदै थिई।
निलगिरीबाट खसेको घामको झुल्को र म एकैसाथ मुक्तिनाथ चढ्दै थियौँ। सिँढीको ४१ औँ सिँढीमा बसेर एउटी अर्ध बैँसे आइमाईले भोटे गीत गुनगुनाउँदै गरेको सुनेँ। उसलाई सरसरती हेरेँ।
सिँढी छेउको बिसौनीमा बसेर ऊ पारिको साङ्ताको उकाली हेर्दै थिई। आँखा ठुला थिए। आँखाभित्र घाम पाउरी पार्दै गरेको प्रस्टै देखिन्थ्यो। कुनै अपूर्ण सपना फुल्दै गरेजस्ता देखिन्थे ती आँखा। कालो लामो कपाल खुला छोडिएको थियो र सिरसिर हावाले ती केशराशिलाई नचाउँदै थियो। ज्यानमा पहेँलो ज्याकेट थियो, कलेजी रङको ट्राउजर थियो। पैताला चिल्ला र सुकिला थिए। तल्लो सिँढीमा धुलो लागेका अर्धसुकिला जुत्ताले मुख खोलेर बसेका थिए।
उसले गाउँदै गरेको गीत यस्तो थियो-
वाङ्दी खेरङ गी मिग्लम ल ङ त्होर्जुङ
सेम्ब नङ्ल्ह म्हिजि नङ्ल्ह स्हेम्ब थेजुङ
(भाषानुवाद– वाङ्दी तिम्रै सपनामा हराएँ, मनैमनले जिन्दगीमा तिमी मन पराएँ...)
यसो हेरेँ, उसको पैताला मुन्तिर एउटा कागज थियो। खुसुक्क चोरेँ त्यो कागज र पढ्न थालेँ।
लेखिएको थियो–
प्रिय जिन्दगी,
दूधकोशीमा लोग्ने हराएपछि विक्षिप्त भएको मन बोकेर म सरासर मुस्ताङ आएँ। छोसेरको झोङ गुफामा गएर महिनौँ हराएँ। हराउँदै गर्दा म वाङ्दीले हिँडेको बाटोको सुगन्ध पछ्याउँदै यहाँ आएकी छु। र, जिन्दगीमा अझै हराएकी छु।
ऊ भेटिए त मेरो पूर्वजन्मको लोग्ने हो भनेर सम्हालिन्छु। नभेटिए के गर्ने?
साँच्ची, ए रिम्पोचे! के पूर्वजन्ममा म साँच्चिकै खम्पा थिएँ त? कसरी जानूँ यो प्रश्नको जवाफ?
उही,
म्हेन्दोक।
कागजको पुछारमा तिब्बती लिपिमा लेखिएको थियो–
གུ་རུ་རིན་པོ་ཆེ།
ང་ང་ཡིན་དུ་འཇུག་རོགས།
(लिपी/भाषानुवाद– गुरु रिम्पोचे! मलाई म हुन देऊ है।)
उसको पूरै जिन्दगीको रहस्यको पोयो थियो– त्यो तिब्बती लिपी।
पढेर खुसुक्क उही राखिदिएँ त्यो कागजको टुक्रा। पुर्लुक्क आँखा जुधाउने मन थियो। तर ऊ भने डोल्पा जाने साङ्ताको बाटोमै ओछ्याउँदै थिई आफ्ना जादुयी आँखाहरू।
यो पनि
खम्पा केटीको नयाँ जिन्दगी!