मेरो फूलसँग बडो प्रेम छ, बडो लगाव छ। अझ भनौं फूलमा म एउटा सुन्दर जीवन देख्छु। किनकि त्यो फूलले पनि फुल्न अनेकौ संघर्ष गरेको छ। मानिसका वरिपरि जोडिएका परिवेश र सम्बन्धहरू जस्तै फूलसँग पनि अनेकौं आयामहरू छन्।
फूलसँग जोडिएका पात छन्, काँडाहरू छन् अनि ऊसँग पनि जरा अनि माटो छन्। अनि फेरिरहने अनेकौ मौसम छन्, जसबाट आफ्नो सुन्दरतालाई बचाउन उसले अनकौ अदृश्य संर्घष गर्नैपर्छ। उसले आफ्नो अस्तित्व बिर्सिए कसैले बनाएका सुन्दर ‘फूलका कथा’ कल्पना बाहिरका कुरा हुन्थे सायद।
फूलका कथाको कुरा गरिरहँदा, वर्षौं पहिलेको त्यो दिन स्मरण भयो, उसले मलाई केही सुन्दर फूलको तस्बिर पठायो। एकाबिहानै उसले पठाएका ती फूलका तस्बिर बडो प्रेमिल थिए। जब मैले मोबाइलको स्क्रिनबाट ती सुन्दर फूलका तस्बिरहरूलाई नजिकबाट नियालेर हेरेँ, मलाई अचम्मको महसुस गरायो, मलाई लाग्यो उनीसँग पनि मेरो जस्तै फूलसँग बडो प्रेम छ, उसको आँखाले पनि ती फूलहरूमा जिन्दगी देखेको छ, बिल्कुल मैले जस्तै।
गुड मनिड विस गर्ने क्रममा उनले पठाएका सुन्दर फूलका तस्बिर त्यतिबेला मेरा लागि केवल तस्बिर थिएनन्, त्यसमा मप्रति देखिएका उच्च सम्मान सहितको प्रेम भाव थियो, मिठो आत्मीयता थियो। अनि आउँदै गरेको समयको सुन्दर परिकल्पना थियो। ती सुन्दर फूलले मेरा अपार खुसी र मुस्कान बोकेर आएका थिए।
ऊ अर्थात् अशुमन। हामी वर्षौं पहिले सामाजिक सञ्जालमा जोडिएका थियौं। तर भौतिक रूपमा भेटघाट भएको केही वर्ष मात्र भयो। छोटो समयमा आत्मीयता साटासाट भएको साथी हो ऊ। साधारण व्यक्तित्व, सहयोगी भावना र सकारात्मक सोच भएको अशुमनसँग सामान्य हाई, हेल्लोको सम्बन्धबाट कहिले नजिकको साथीको रूपमा स्थापित भयो थाहा भएन। उसलाई हेर्ने नजर कहिलेदेखि विशेष बन्न थाल्यो थाहा छैन। यति थाहा थियो उनी अन्य साथीहरूको भिडमा विशेष साथी भने पक्कै बनेको थियो।
हुन त हरेक सम्बन्धको आफ्नै स्थान हुन्छ। परिवार, आफन्त, साथीभाइ सबैले जिन्दगीमा कुनै न कुनै रूपमा गज्जबले प्रभाव पारिरहेका हुन्छन्। ती सबै सम्बन्धहरू भिडमा प्रभावशाली सम्बन्धको अर्को नाम हो साथी। जीवनमा साथीको एक महत्वपूर्ण स्थान हुन्छ। त्यसैले त भन्छन् साथी सबैभन्दा माथि।
आहा ‘कस्तो सुन्दर फूल, यु मेक माई डे।’
मैले मेरो खुसीको पललाई शब्दमा व्यक्त गर्दै अशुमनलाई धन्यवाद दिएँ। केही सेकेन्डमै प्रत्युक्तर आयो, ‘तिमी जस्तै सुन्दर।’
मेरो लागि त्यो सुन्दर बिहानीले यस्तो विश्वस्त गरायो कि ऊ मेरो साथी, त्यो पनि सबैभन्दा माथिको ‘साथी’।
भनिन्छ, दिनको सुरूआत र अन्त्य सकारात्मक सोचबाट भए शरीरमा सकारात्मक हर्मोनको उत्पादन वृद्धि हुन्छ। अरूको लागि प्रत्यक्ष केही गर्न नसके पनि शुभदिन या शुभ रात्रीको कामना त गर्न सकिन्छ, यही सोचका साथ म प्राय: आफू निकटका व्यक्तिहरूसँग शुभबिहानी र शुभरात्रीको कामना गर्ने गर्दछु।
केही समय मात्र भयो मैले उसलाई मनको नजरले शुभबिहानी विस गर्न थालेको। सामान्य भेटघाट र कुराकानीका क्रममा उसले देखाएका कतिपय व्यवहार यति प्रिय लाग्थे कि नचाहेर पनि आफ्नोपनको महसुस गराइदिन्थ्यो। त्यसलै पनि प्राय: बिहान गुडमर्निड विस गरेकै हुन्थे।
म थोरै मुडी मान्छे हुँ। अनि थोरै बढी संवेदनशील पनि। संवेदनशील यस अर्थमा कि सामान्यतया अरू मान्छेलाई प्रभाव नपार्ने केही विषयवस्तु परिवेशले मलाई छिट्टै छोइदिन्छ, छिट्टै हँसाइदिन्छ अनि छिट्टै रूवाइदिन्छ। धेरैपटक कुराकानीको क्रममा मैले उसलाई भनेको थिएँ, ‘म केही बढी नै इमोसनल छु, मेरो स्वभाव कसैलाई बोरिङ पनि लाग्न सक्छ।’
केही बढी संवेदनशील भएको कुरालाई खासै प्रतिक्रिया नदिए पनि मेरो बोरिड नेचर छ भन्ने मेरो अभिब्यक्ति भने उसले कहिल्यै स्वीकार गरेन। उसको कुराकानीबाट मलाई लाग्थ्यो ऊ पनि मसँग उसैगरी नजिकिएको छ, म सँगसँगै कुराकानी गर्न चाहन्छ, आत्मीयता साटासाट गर्न चाहन्छ। उसले पनि मलाई नजिकको साथीको रूपमा मनको कुनै कुनामा स्थान दिएको छ। यही महसुसले हाम्रो मित्रता दुरी नजिकिँदै गयो, दु:ख होस् या सुखमा मनले मेरो एउटा साथी छ है भन्ने महसुस गर्न थाल्यो। समय सँगसँगै उसले मप्रति देखाएको प्रेमिल व्यवहारले मलाई विश्वस्त पार्दै गयो कि उसले पनि मलाई उस्तै नजरले हेर्छ जसरी मैले उसलाई एउटा नजिकको साथी जसलाई आफ्नो दु:ख र सुख बाँड्न सक्ने पात्रको रूपमा जीवनमा स्थान दिएकी छु।
कुनै प्रसंगमा मैले एकदिन उसलाई सोधे, तपाईंको नजरमा म कस्तो लाग्छ?
‘केही गरौं भन्ने सोच भएको केटी। योभन्दा बढी केही सोचेको छैन।’
उसको जबाफले मलाई एक्कासि आकाशबाट भुइँमा पछारिएको महसुस भयो। थोपा थोपा गरी गाग्रीमा भरिएको पानी गाग्री फुटेर बालुवामा बिलाएझैं महसुस भयो। त्यतिका समय कुराकानी भए, आत्मीयता साटासाट भए , के ती सबै भावना, सम्बन्ध उनका लागि औपचारिकतामा मात्र सीमित थियो त?
हामीबीच साटासाट भएका आत्मीयताले उसको मनमा एउटा नजिकको साथीको सम्बन्ध पनि स्थापित गर्न सकेको थिएन?
यस्तै यस्तै विचारका ज्वारभाटाले नराम्रोसँग सताएछ कि दुखेको मनको साक्षी आँखाको डिलमा टिलपिल भरिएर छछल्किँदा पो बल्ल महसुस भयो, सायद भ्रममा बाँच्नुको अर्थ यही हो।
मलाई केही क्षण हीनताबोधले चसक्क छोएर गयो। केही बढी भावुकता मेरो कमजोरी हुनसक्छ भने मसँग मजबुत पक्ष पनि छ, म मेरो कमजोरीलाई पनि आत्मविश्वासका साथ स्वीकार गर्न सक्ने सामर्थ्य राख्ने मान्छे हुँ। मैले ऊप्रति बनाएको धारणा र अपेक्षा मेरो कमजोरीको रूपमा महशुस गरे पनि मैले उक्त कमजोरीलाई आफूमा हाबी हुन दिइनँ। त्यसैले उसको जबाफको प्रत्युक्तर प्रश्नको इमानदारीपूर्वक जबाफ दिएकोमा धन्यवाद दिएँ।
मनमा केही समय चिसोपन रहिरह्यो। उसले दिएको साथित्वको माया, सम्मान क्षणभरमा साघुँरिँदै गए। मैले ऊसँगको कुराकानीमा देखाएको उत्साह, ऊर्जा सामान्य अवस्थामा परिणत भए।
के उसले देखाएको सामिप्यता मसँग मात्र नभएर सबैसँगको समान व्यवहार थियो त?
यतिका समयसम्म एउटा नजिकको साथीको सम्बन्ध पनि मैले स्थापित गर्न नसकेको हो त?
सायद म गलत थिएँ। मसँग मान्छे चिन्ने क्षमता छ भन्ने घमण्डले कहीँकतै जरा गाडेर बसेको थियो। त्यसैले त म मेरो बुझाइलाई नै अन्तिम बुझाइ ठानेर उसले मलाई देखाएको प्रेमिल व्यवहार मेरो लागि मात्र थियो भन्ने कुरामा विश्वस्त थिए।
यसमा उसको के गल्ती? उसले मप्रति आफ्नो मनमा बनेको धारणा सार्वजनिक गरेको त थियो। इमानदारिता देखाएको थियो। म त त्यसमा झन् खुसी पो हुनुपर्ने! चाहेको भए उसले मलाई प्रशंसाको विशाल पहाड खडा गरिदिन सक्थ्यो, केही समय भ्रमले बनाएको फुसको महल नै खडा गरिदिन सक्थ्यो तर अहँ! उसले त्यस्तो गरेन।
हुन त त्यो बीचमा धेरैपटक मैले उसको फरक व्यवहार महसुस नगरेको होइन। आत्मीयता बढ्दै जाँदा मैले पठाएका केही म्यासेजहरू फोनकलहरू हेरेर पनि रिप्लाइ नगरेका पलहरू धेरै थिए। चाहेको भए उनले आफू व्यस्त भएको या कुराकानी गर्न नसक्ने परिस्थितिमा रहेको जानकारी गराउन सक्थ्यो अहँ उसले त्यस्तो गरेन। उसको उक्त व्यवहारले धेरैपटक इग्नोर गरेको पो हो कि! भनेर धेरैपटक मनमा चस्स पसेको पक्कै हो। तर जब अशुमन सम्पर्कमा आउथ्यो उसका कुराकानीले मनमा भएको शंका उपशंका आफै हराएर जान्थ्यो।
मान्छेको मन न हो। आफ्नो बसमा सधैं कहाँ रहन्छ र? मैले उसले मप्रति बनाएको धारणाकै कारण मेरो मनमा बनेको ऊप्रतिको तस्बिर रत्ति पनि धमिलिन सकेन। मनमा उब्जिएका प्रेमिल भाव परिवर्तन हुन सकेन। हरेक दिन मोबाइलको किबोर्डमा हात पुर्याउनुअगावै मनको आँखाले उसलाई सर्च गर्न भ्याइसकेका हुन्थे।
म महसुस गर्न सक्थेँ। कहिलेकाहीँ मेरा म्यासेजहरूले उसलाई इरिटेड गराइदिन्थ्यो सायद त्यसैले त केहीपटक उसले मैले अनलाइन नदेख्ने बनाएको हुनसक्छ। सायद मेरा म्यासेज, मेरा फोन कल उसका लागि अर्थपूर्ण थिएनन्। त्यसैले त म्यासेज हेरिए पनि त्यसको जबाफ पठाउन उसलाई जरूरी ठानेन। अनि फेरि आफ्नो अनुकूलतामा उसले गर्ने म्यासेजले उसले मलाई दिएको भ्यालु कति छ भन्ने कुरामा म प्रष्ट हुँदै गएँ।
ऊ व्यस्त रहन चाहने मान्छे हो। समयको महत्व उसले राम्रोसँग बुझेको छ। ऊ कसैको चासोमा, अनावश्यक चर्चामा आफ्नो समय बर्बाद गर्न चाहँदैन अनि अरूको भावनाको कदर गर्ने र आवश्यक पर्दा मन खोलेर अरूलाई सहयोग गर्ने प्रभावशाली ब्यक्तित्व देख्छु म उसमा। उसको यस्तै नेचरले ऊप्रति माया र सम्मान बढ्दै गएको हुनसक्छ।
भनिन्छ भ्रमको आयु छोटो हुन्छ, तर पनि भ्रममा बाँच्नुको पनि मज्जा छुट्टै हुने। समयले मलाई एक झापड हानेको त पक्कै हो। बाध्यता र प्राथमिकतालाई एउटै स्थानमा राखेर हेर्नु गलत भएको कुरा स्वीकार गर्न समयले हानेको झापड थियो त्यो।
उसलाई प्रश्न गर्ने ठाउँ थिएन। गुनासो पोख्ने अधिकार थिएन। कुन सम्बन्धले मैले म प्रतिको उसको धारणा स्पष्ट पार्ने हो ? हाम्रो सम्बन्ध प्रेमी प्रेमिकाको हैन, न त कुनै विशेष सम्बन्ध। मैले उसलाई यसरी बेवास्ता गर्नुको कारण सोध्नुको कुनै तुक नै थिएन। त्यहाँ कुनै आधारहरू थिएनन्। मन दुखाउने कारण ऊ नभएर स्वयम् आफू भएको प्रष्ट हुँदाहुँदै पनि यस्ता प्रश्नहरू गर्नु उचित थिएन। त्यसैले सम्बन्धको दुरी आफै कायम राख्नु उचित हुन्छ।
सबैको स्वभाव एकै प्रकारको हुन्न। सबैको हेर्ने नजर एउटै हुँदैन। यो सत्यलाई मैले पनि स्वीकार्नै पर्छ। विशेष परिस्थितिबाहेक धेरैपटक उसले देखाएको व्यवहारले सायद मप्रति उसको धारणामा म गलत छु कि भन्ने महसुस हुन थालेपछि धेरैपटक मोबाइलको किबोर्डमा औंला तेर्सिए पनि आजकल आफै औलाहरू सर्तक हुन थालेका छन्। कसैप्रतिको आफूले दर्शाएको प्रेम र स्नेह उसका लागि अर्थहीन भएको मनले महसुस गरे मन कति दुख्ला? तर पनि झन् दुरी बढाउन किन सकिँदैन होला? यो प्रश्नले पनि हिजोआज सताउँछ मलाई।
ऊसँगको सम्बन्धमा मेरो कुनै गुनासो छैन, न कुनै आशा र अपेक्षा नै। मायाको बदला माया खोज्ने र साथको बदलामा हातको अधिकार माग्ने सम्बन्ध यो साथीको सम्बन्ध होइन। तर कहिलेकाहीँ विशेष परिस्थितिले निम्त्याएको विशेष क्षणको सम्मान पाउने इच्छा राख्नु या चाहना हुनु सायद मानवीय स्वभाव नै हो। म पनि मान्छे हुँ त्यो स्वभावबाट टाढा कहाँ हुन सक्छु र?
केही समयपछि फेरि उसले अर्को फूलको स्टोरी बनायो। ती फूल त्यस्तै सुन्दर थिए, तर नजरले बुन्ने कथा केही फरक। त्यो फूलको कथा यो पटक पनि मेरो लागि विशेष नै बन्यो। त्यही फूलको कथाले मलाई भ्रमको दुनियाँबाट यथार्थताको धरातलमा उभ्याइदियो। त्यो फूलको सुन्दरता सबैका साझा थिए। यथार्थतामा ती फूलहरूले सबैलाई गुड मर्निड विस गरिरहेका थिए।
मनमनै उसलाई धन्यवाद नदिइ बस्न सकिनँ। वास्तवमा फूलसँग प्रेम हुन फूलजस्तै कोमल मन हुनुपर्छ भन्ने छैन भन्ने पाठ सिक्ने मिठो अवसर उसले त्यो फूलको कथाले दिलाएको थियो।
आखिर अप्ठ्यारो मान्छे ऊ हैन म रहेछु। उसको मन कठोर होइन, म पो धेरै कोमल रहेछु। अनि उसले सबैप्रति देखाउने प्रेमिल व्यवहार मैले मेरो लागि मात्र हो भन्ने सोचले आफूलाई विशेष ठान्नु मेरो पो भ्रम रहेछ। ढिलै भए पनि सत्यलाई स्वीकार त गर्नैपर्यो।
आफूले सत्यता स्वीकार गरे पनि हिजोआज मलाई एउटा प्रश्नले बडो सताउन थालेको छ, एउटा फूलको कथा बुन्न जान्ने मान्छे, फूलको कथा सुन्न सक्ने र अरूलाई सुनाउन सक्ने मान्छेले आफूप्रति दर्साएको प्रेम र सम्मानलाई महसुस गर्न नसक्ने मन चाहिँ कस्तो है??
कहिलेकाहीँ त लाग्छ म धेरै सोच्छु, त्यसैले मलाई यस्ता प्रश्नहरूले सताएका हुन। तर फेरि आफ्नै मनले भन्छ, अहँ हैन, म सबैको बारेमा धारणा बनाउँदै बस्दिनँ, जो मान्छे मनसँग जोडिएका हुन्छन् उनीहरूको बारेमा बनेका केही धारणाहरूको बारेमा गरिएको मनको चिन्तन मात्र हो।
उसले फेरि पनि सबैको लागि अर्को फूलको कथा सार्वजनिक गर्यो।
त्यहाँ लेखिएको थियो,
‘एउटा फूलको कथा. ..............
यो पटकको उसले बुनेको फूलको कथाले मलाई पहिलोपटक महसुस गरायो, वास्तवमा ऊ त त्यही थियो, जहाँ मैले भेटेकी थिएँ एउटा फूलको कथा बुन्दै। अघि त म पो बढेको रहेछु, उसको लागि त्यो फूल एउटा कथा थियो, गल्ती मेरै पो रहेछ, उसले बनाएको त्यो फूलको कथामा मैले एउटा कथा मात्र नभएर जिन्दगी देखेँ। एउटा यस्तो जिन्दगी जसको नाम छैन, यस्तो जिन्दगी जसको परिभाषा छैन, यस्ता यावत कुराहरू नभए पनि त्यही जिन्दगीभित्र एउटा मिठो अनुभूति छ, ऊर्जा छ अनि उत्साह छ।
तर पनि यो पटक उसले कैद गरेको फूलको कथालाई आफ्नै कथा बनाएर मनमा लेखी अन्त्य गर्न मन लाग्यो, ‘आफ्नै नजरबाट चोरिएको फूलको कथा।’