कोही कसैलाई बिझाउनलाई
काँडा
स्वयम् टुक्रिएर आउँदैन
आफ्नो अस्तित्व गाँसिएको बोटबाट
सुन्दर फूलहरूबाट घेरिएको
काँडा आफ्नै अघिल्तिर
एउटै बोटमा फुलिरहेको
रक्षाका लागि पनि
खडा भएको हुनसक्छ
न कि फूलको कलिलो
कोपिला र सुन्दर आवरणमा
घाइते बनाउन।
तर
जब एक अलौकिक मस्तिष्कधारी
प्राणीको मनमा उम्रिन्छ
अचेतन र अमानवीय काँडा
ऊ त्यो सुन्दर फूलको हाँगामा
उभिएको तीखो वाणभन्दा पनि
भयावह हुने रहेछ
स्वयं फूलकै बोटमा उभिएको काँडाले
आफ्नो छेउको फूललाई
टुक्राउन सक्ने पनि होइन रहेछ
जब यसलाई अन्यत्रबाट प्रयोग गरिन्न।
भगवान्ले पनि भन्न खोजेका छन् कि
एउटै हाँगाभित्र सुन्दर फूल
अनि धारिलो काँडाको शक्तिलाई
सँगै बसाएर सबै शक्तिशालीलाई
आफ्नैको रक्षार्थ आफ्नो शक्तिको
प्रयोग र एकीकृतको उपमा दिएका रहेछन्।
यहाँ त एक हुल मस्तिष्कका
काँडाहरू आफ्नो विषालु स्वरूपलाई
हर हालमा अन्यत्र प्रयोग गर्न कुदेको
पाइन्छ
अर्को फूलको सुगन्धको ईर्ष्या
अर्को फुलको सुन्दरताको जलन
अर्को बगैँचाको अलौकिक परिवेश
अर्को फुलको शालीन
अस्तित्वको शक्तिलाई
हर हालमा दबाउन
संस्कार, नाता, रक्त सम्बन्धका
नाम दिँदै
जातिगत, धार्मिक अनि सामाजिक
प्रचलनको नामले
काँडाहरू बिना अर्थ कुरूप हृदयको
आकाशमा जन्म भई
लैङ्गिकताको विभेदमा समेत
हतियार बनी प्रकट भइरहेछन्
न कि त्यो शक्ति आफ्नै र आफ्नाको
रक्षार्थ प्रयोग गरिनु पर्दथ्यो
त्यसैले साँच्चैका काँडाहरू
आजकल त्यति तिखा, विषालु अनि
भयावह लाग्दैन।
जति मनबाट उम्रेका विभेदरूपी
रुखा अनि देह छेड्न सक्ने
अर्काको मनमा बिना कारण
पसेर विषको ज्वाला दन्काउन सक्ने
कुनै अर्को प्राणीलाई दिन लागि परेका
हुन्छन्
स्वरूप एउटै भएर पनि रात दिन सुकोमल
र सरल एउटै आकृतिका कतिपय
स्त्री चेतबाट नै पैदा भएका आकृति
काँडा बनेर मुखसम्मका तिता वाणीबाट
सलबलाउँछन्।
प्रकृतिले रुष्ट वाणीबाट अरूको
जीवन खलबल्याउन सक्ने शक्ति
दिएका समग्र अचेतन मानव हृदयलाई
त्यही बगैँचाको सुन्दर फूलको आकृति
मुनिको पवित्र काँडामै लगेर रूपान्तरण
गर्न सकोस्
जुन आफैँ आएर कसैको पैतालाको
खिल बन्न सक्दैन
केबल सुकोमल फूलको रक्षार्थ
मात्र खडा हुन्छन्
जीवन कालभरि नै।