'मेन्दो साइबर क्याफे विथ हट कफी’ कोटेश्वर चोक नपुग्दै आँखाहरूले एउटा अनौठो नामको साइबर क्याफे र कफी 'फ्री' वाला स्किममा नजर दौडाए।
मन भर्खर भर्खर खोलेको फेसबुकमा अल्झियो भने जिब्रो कालो कफीको स्वादमा अड्कियो। उक्त मेन्दो क्याफेमा मूल्य अन्यत्रभन्दा कम थियो भने साइबर क्याफेमा बस्न पाइने समय एक घण्टा नै बढी थियो। खल्तीमा बिस रुपैयाँ भएको 'कन्फर्म' भएपछि म लुसुक्क साइबर क्याफे छिरेँ।
फेसबुकको पासवर्ड बिर्सिसकेछु। पासवर्ड सोच्दै होइन, सम्झँदै थिएँ।
‘सर! हट कफी’ भन्दै एउटी राजकुमारीले पर्दा उघारेर बाफ उडिरहेको कालो कफी टेबुलमा राखिदिएर तुरुन्तै ओझेल परिहाली। उसको अति लामो कपाल देख्ने बित्तिकै मलाई रापुञ्जेलको याद आएको थियो। मेरो बदलामा कुनै सौन्दर्य शास्त्री त्यहाँ हुन्थ्यो भने रापुञ्जेलको खुट्टाको नङको पनि सौन्दर्य शास्त्रीय विचार व्यक्त गर्न सक्थ्यो। उसले नारी सौन्दर्यका अनेकौँ आयामहरू केवल रापुञ्जेललाई देखेपछि मात्रै 'तत्वज्ञान' झैँ फुरेको रहस्य आफैले आफैलाई बताउने थियो, सायद।
सिकरकटेरीको 'स्पेलिङ' होसियारीपूर्वक हानेपछि फेसबुक 'लगअन' भयो। फेसबुक चलाउन खसखस लाग्नुमा अरू केही नयाँ उत्साह थिएन। केही महिना अगाडि एउटी अपरिचित 'फिमेल' मित्रले मलाई 'फ्रेन्ड रिक्वेस्ट' पठाएकी थिइन्। म उनको फेसबुक भित्र छिरेँ। फेक आइडी नभएकोमा ढुक्क भएँ। झटपट माउसले 'कन्फर्म' क्लिक गरेँ। फेसबुकले नोटिफिकेसनमा लेखिदियो- 'यु एन्ड सासा आत्रेय नाउ फ्रेन्ड।’
'बैँसमा स्याल पनि त घोर्ले' भने झैँ फेसबुककी सासा 'डेस्कटप' को पर्दामा पूर्णिमाको जून जस्तै खुलेकी थिई। मैले एक घण्टा सासाकै फेसबुकमा भएका फोटाहरू हेरेर बिताएँ। म्यासेज पठाउन मन भएर पनि पठाइनँ। अंग्रेजीको 'फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन' सम्झिएँ।
पहिलो मेसेज 'हाई' लेखी पठाउनु चरम परम्परागत शैली पर्न जान्थ्यो। मैले फस्ट इम्प्रेसन वाला मेसेज के लेख्ने भनेर सोच्दासोच्दै क्याफेले समय सक्किएको जनाउ दियो।
त्यसको लगत्तै मलाई साइबर क्याफे छिर्ने फुर्सद नै मिलेन। घरीघरी त २० रुपैयाँले तातो एक प्लेट बफ मःम खाइदिन्थेँ।
तर फेरि कता-कता उहीँ सासा आत्रेयको याद आउँथ्यो।
‘म तपाईंलाई चिन्छु नि,’ सासाको यस पटक म्यासेज आएको थियो।
मैले खुसीको चरम सीमा नाघेँ। तर सासा आत्रेय म पहिलो पटक नाम सुन्दै थिएँ। मलाई लाग्यो सासा मसँग जिस्कने मुडमा थिई। मैले पनि लेखिदिएँ- 'म पनि सासालाई चिन्दछु।'
ऊ अफलाइन थिई। मैले 'तपाईं कति बेला अनलाइन आउनुहुन्छ?' भनेर पनि पठाएँ।
सासाले फेसबुकको 'बायो'मा लेखेकी थिई- 'घुमन्ते'। पछिल्लो फोटो भारतको 'मुगलसराय' रेल स्टेसनमा रेल कुर्दै भनेर 'क्याप्सन' लेखेकी थिई। फोटो झनै राम्रो थियो। एउटा लाइक बटम दबाएँ। कमेन्ट त गर्न हुन्थ्यो तर 'ब्युटिफुल' लेख्न मनले मानेन।
त्यसको लगत्तै सासाले मलाई प्रतिप्रश्न गरेकी थिई- 'तपाईं मलाई चिन्नु हुन्छ भने हाम्रो मुलाकात कहाँ भएको थियो?’
मसँग त्यसको जवाफ थिएन। मैले जिस्किएर भनेको भने पनि उसले फेरि भनी, 'म तपाईंलाई चिन्दछु।'
त्यसपछि हाम्रो बातचित हुन छोड्यो। साँच्चै भन्नुपर्दा म साइबर क्याफे धाउन छोडेँ। सासाले म्यासेजमा भनेकी थिई- 'तपाईंसँग हेलम्बु ट्रेकिङ रुटमा मुलाकात मात्रै भएन, तपाईंको रुममा मलाई ज्वरो आएर एक हप्ता बसेको बिर्सनु भयो?’
कौशलटारमा बिहान छ नबज्दै ब्युँझिएको थिएँ। तर पुसको जाडोमा पनि गगनबाट झमझम पानी बर्सिरहेको थियो। कोठाको मालिक अर्थात् गाउँले भाइले पनि यस्तो पानीमा हेलम्बु नजान 'सजेस्ट' गर्यो र क्याम्पस हिँड्यो। फेरि एक निद्रा सुतेछु। पानी थामिएन। जेनतेन उठेर कौशलटार चोक पुगेँ। ‘हेलम्बु एक्सप्रेस' गाडी समातेँ।
हेलम्बुको तिम्बु बजारमा पुगेर बस्न पाएँ, बिहानै उठेर हिँड्दा नाकुतेको पेमा स्कुल पढाउन पुग्थेँ। जिरो किलो कटेपछि पानी रोकियो। ग्याल्थुममा पुग्दा दिउँसो तीन बज्यो। चौकेटेको होटेलको खानामा विशेष स्वाद पाइन्थ्यो। भोक राम्रैसँग लागेको थियो। गाडी तिम्बु पुगिसकेछ। म भुसुक्कै निदाएछु।
तिम्बु बजारमा नबसी 'दोरिङ' पुग्न हिँडेँ। दोरिङ पुग्न पाए बिहानको बाटो छोटिन्थ्यो। तिम्बु बजारमा धेरै रात कटाए पनि दोरिङमा रातको पहिलो बास बस्न जाँदै थिएँ। पेमा दाइ चिनेकै 'आदमी' थिए। निकै परबाट विदेशी पर्यटकहरू ग्रुपमा आगो बालेर तापिरहेका थिए। मनमा भय उत्पन्न भयो। दोरिङमा सुत्न नपाए न नाकोते पुगिन्थ्यो न तिम्बु झर्न। दोरिङ लगत्तै आउने जंगलमा राति होइन बिहान/दिउँसो हिँड्न पनि डरमर्दो नै थियो। भालुले मान्छे खाएको किस्सा काल्पनिक होइन, वास्तविक थियो।
पेमा दाइले हार्न सकेनन्। होटेलका सहयोगीको अति सानो रुममा सुत्ने व्यवस्था मिलाइदिए। तिम्बु बजारमा नबसेकोमा थकथकी लाग्यो। हेलम्बुको पुसको जाडोलाई उपमा दिने शब्दहरू थिएनन्। युरोपका पर्यटकहरू पनि जाडोले आक्रान्त थिए। मनमा अनेकन् तर्कना चल्दै थिए।
ढोकामा ढक्-ढक् आवाज आएपछि मेरो निद्रा भंग भयो। ढोकामा पेमा दाइ र ट्रेकिङको लुगा र जुत्तामा सजिएकी 'मासुम लडकी' थिई। उसको अनुहारमा भय लतपतिएको थियो। पेमा दाइले तपाईं 'रोङ्बा'हरू जसरी पनि मिलेर सुत्नुस् भन्ने आदेश दिए। शेर्पाहरूले गैर शेर्पालाई रोङ्बा भन्छन्। पेमा दाइले म र ट्रेकिङवालीलाई फेरि पनि सँगै मिलेर सुत्नुस् भन्दै तुरुन्तै अलप भए।
मैले ट्रेकिङवालीलाई बस्न खाटमा अलिकति ठाउँ बनाइदिएँ। उसले बसेर ज्याकेट र 'ट्रेकिङ सुज' फुकाली। मोजाको गन्ध मेट्न तुरुन्तै कुनै बास्ना आउने चिज हाली। कोठा मगमग बास्नाले भरियो। हामीले परिचय पनि साटासाट गरेनौँ। अति संकुचित ओछ्यानमा हामी मिलेर सुत्यौँ।
बिहान छ बजे मोबाइलमा 'अलार्म' बज्यो।
पेमा दाइ उठिसकेका थिए। हिसाबमा राति खाना खाएको मात्रै पैसा लिए। ट्रेकिङवालीलाई 'लौ म लागेँ, रातिको निद्रा पुगेन पक्कै। अनजानमा गल्ती भएको भए माफ पाऊँ।'
तर ट्रेकिङवालीको गहभरि आँसु थिए। उसले पिन्चे स्वरमा भनी, 'मलाई हनहनती ज्वरो आएको छ, मलाई सँगै लैजानुस् न प्लिज।'
उसलाई तिम्बु बजारमा पुगेर काठमाडौँ जाने गाडी चढ्न दिएको सुझाव मानिन र भनी, 'मलाई यस पटक गोसाईंकुण्ड पुग्नु छ।'
ट्रेकिङवाली जब्बर थिई।
हामीले दोरिङ छोड्यौँ। पेमा दाइले शेर्पा भाषामा आफ्नी जहानलाई हाम्रो बारे केही भन्दै थिए। काठमाडौँ घर भएकी मान्छे कसरी छिटो हिँड्न सक्थी, फेरि ज्वरो साथमा छँदै थियो। सर्कथली पुग्नै दुई घण्टा लाग्यो। बाटोमा चिया पियौँ। ट्रेकिङवाली हात समातेर मात्रै हिँड्न थाली। सर्कथलीबाट ठाडो उकालोमा बोकेँ पनि। मलाई ट्रेकिङवाली टोक्नु न बोक्नु भयो। बाटोमा मेरा विद्यार्थीहरू कर्मा, मिङ्मार र ग्याल्जेन भेटिए।
‘राम सरले बिहे गरेछ,’ सबैले आफ्नो भाषामा भने।
नाकुते पुग्दा हामीलाई बधाई दिनेको ओइरो लाग्यो।
ट्रेकिङवाली वाल्ल परी। हामीलाई नाकुतेबासीले नवदम्पती नै माने। ट्रेकिङवाली तङ्ग्रिँदै गई। म निरन्तर स्कुल जाने आउने पुरानै कर्ममा रमाउन थालेँ।
शनिवार बिहान म सधैँको जस्तै अबेला उठेँ। बिदाको दिन आफ्नै मनमौजमा बिताउँथेँ। तर ट्रेकिङवालीले आफ्नो बाटो तताइछ। नाकुतेमा फेरि 'राम सरकी जहान पोइल हिँडी' भनेर व्यापक होहल्ला भयो। म मनमनै हाँसिरहेँ।
ट्रेकिङवालीले किन केही नभनी हिँडी? मानसपटलमा यहीँ प्रश्न घुमिरह्यो।
नौ वर्ष बितेछ।
ट्रेकिङवाली 'सासा' नै पो रहिछे। मेन्दो क्याफेबाट निस्कँदै गर्दा सासासँग दोस्रो मुलाकात तय भइसकेको थियो। म फुरुक्कै फुर्किएँ। मनमनै लाग्यो, अबको मुलाकात 'स्पेसल' बनाउनु छ।