भयो
प्रलयको ज्वाला मुखी विस्फोटन
निरमाया जीवनको टाकुरोमा
बगे शोकाकुल लाभाको तातो लेदोहरू
सुन्दर जुनीको रूपरङ कुरूप बनाउँदै
थामेन झरी आँसुको
बगे छहरा छिचोलेर बगेको पहाडी हिमनदी जसरी
भत्काएर परेलाको पर्खाल
सारा जगतले देख्ने देखावटी बाहिरी आवरण
हेरे सङ्लो पानीको अनुहारमा
देखियो प्रतिबिम्ब आफ्नै
कहिल्यै निको हुन नसक्ने कुरूप घाउ
आफू देखेर आफै तर्से
आवरण जलेर भयो बीभत्स
र पनि-
देखाउँदै छ आशाको परछाया
मन भित्रको सम्भावनाको ऐनाले
मनको कुना-कन्दराबाट नरित्तिने
मानसपटलदेखि कहिल्यै नमेटिने
भयंकर
देउताले हो कि दानवले दिएको उपहार
अविस्मरणीय त्यो पल
नमिठो सम्झना हो कि जीवनको अपरिहार्य हिस्सा?
तितो भुल्न नसक्ने क्रूर
अमिल्दो विगतले पछ्याउँदै गरेको वर्तमान
किरिङ-मिरिङ मेटिन लागेको बग्रेल्ती
जिन्दगीको वक्र रेखामा
गुड्दै छ टुटेको पटरीमा जीवन
गुमाएर रित्तिएको तितो महसुस बोकी
सागरको गहिराइमा डुबिसकेको प्रेम अनुराग
भित्रभित्रै तड्पिएर भएको छ, तहसनहस
र पनि
मानव स्वार्थको पेरिफेरीमा
उम्रँदै गरेको आशाको ऐजेरुसँगै पलाउँदै छ
त्याग्न नसकेको जीवन उपहार
सम्भावनाको दर्पणसँगै
जलनले बिर्सनै नसक्ने गरी बनाई दिएको
अप्रिय,बेरङ्गी, क्रूर चिराचिरा परेको
सुन्दर छालालाई कुरूप बनाएको खत
बिस्तारै विस्मृत हुँदै गए पनि
प्रतिबिम्ब घात शक्तिहरूको
अस्वीकार गर्न नसक्ने रहेछ
जीवन अनन्त विप्लव जस्तो लागे पनि,
उज्यालो दिनको प्रतिज्ञासँगै
आत्मा उड्दो रहेछ कल्पना साथमा लिएर
मनको आकाशदेखि मनका अतलसम्म पुग्ने गरी
कनीकुथी कठिन मोल्दै, झेल्दै
तिम्रो मार्गदर्शकमा आश्रित अविश्वसनीय अभिक्षण
गोरेटोमा कुरूप गोडा लतारे यात्रा गर्दै छु
सम्भावना निहित सम्झनामा
सम्भावनाको ऐनाको अगाडि ठिङ्ग उभिएर।