तिमी सडक पारि छौ
र म वारि
यति बेला हात हल्लाउन भ्याइन्छ
म उता जाँदै छु
र तिमी यता
यति बेला एकअर्कालाई हेराहेर गर्न भ्याइन्छ
तिमी झ्यालमा छ्यौ
र म सडकमा
यति बेला मुस्कुराउन भ्याइन्छ
तिमी सुहाउँदो ड्रेसमा छौ
र म यस्तै उस्तै
यति बेला औँलाको सङ्केतले लाइक गर्न भ्याइन्छ।
कृपया यो हालखबर सोध्ने समय होइन
यो भरियाले भारी घचेटी दिई माग्ने समय होइन
चुम्बन हुन सक्दैन— समयको यो चापाचापमा
म छोरीको पेन्सिल तिखार्दातिखार्दै निस्केको हुँ घरबाट
यो मोबाइलमा भलाकुसारी गर्न सकिने समय होइन।
अहिले साढे नौ बजेको छ
र म अफिस जाँदै छु
यतिखेर म ठेस लाग्न भ्याउँछु
तर ठोसिएको औँला सुमसुम्याउन भ्याउँदिनँ।