‘ए नानी, उठ ४ बजिसक्यो पढ्न पर्छ। बिहानै पढ्यो भने धेरै आउँछ क्या।’
‘ह्या बाबा! जाडो छ के एक छिन सुत्छु नि।’
‘उठ नानी उठ, पढ्न उठ। तैँले नपढे कसले पढ्ने? छोरीले त झन् धेरै पढ्नु पर्छ। आत्मनिर्भर हुन पर्छ, आफ्नो खुट्टामा उभिनु पर्छ नि।’
मेरो बाबाको अमृत वाणी मेरो बिहान ४ बजेको अलार्म जस्तै भएको थियो, कुनै अलार्म सेट गर्नु पर्ने जरुरत मलाई थिएन। होम ट्युसन र स्कुलमा कोचिङका लागि एक बोरा जति नै पैसा खर्च गर्नु भएको थियो होला मेरा बा-आमाले। मलाई लाग्थ्यो मैले यो पैसा कहिले तिर्न सक्छु होला? मनमनै सोच्थेँ अनि सम्झिन्थेँ, हैन! मैले तिर्नै पर्छ र तिर्छु पनि।
विद्यालयमा नमुना विद्यार्थी नै थिएँ। मेहनती र लगनशील भएका कारण सबै जनाको आँखामा बस्न सफल थिएँ। पढ्ने बाध्यता र सिलसिलामा सहरका कालो गल्लीहरूमा जुनकिरी जस्तो उज्यालोमा पढेर लामा ती कठ्याङ्ग्रिँदो रातमा ननिदाई देखेका सपना पूरा गर्न घरबाट पठाइएका सामग्रीहरूको जोहो गरेर लोक सेवा पढ्न काठमाडौँ छिरेको थिएँ, जम्मा एकसरो लुगा र एउटा झोला बोकेर।
लामो संघर्ष र मेहनत त म गर्दै थिएँ तर सफलताले मलाई अन्याय गरिरहेको थियो। हरबखत मेरा सपनाहरूमा आएर जिस्क्याउने गर्थ्यो, सधैँ नियाल्ने र झकझक्याउने गरेको थियो। अनायासै मनमा कुण्ठाहरू भरिएर आउने गर्थ्यो।
घरमा बा-आमालाई इष्टमित्र तथा छरछिमेकले पनि सल्लाह सुझाव दिन थालिसकेका थिए- छोरी बुढी भइसकी, गतिलो कुल घरानको केटो आउँदा अब बिहे गरेर दिन पर्छ। मलाई र मेरा बा-आमालाई भन्दा बढी चिन्ता मेरा आफन्तलाई थियो किनकि म बुढी हुन्छु र कतै मेरो विवाह नै नहुने हो कि भन्ने पिर र चिन्ता उहाँहरूलाई थियो।
सबैको सल्लाहमा पछि पनि छोरीलाई पढाउने आसमा र छोरीले भविष्य सुखी हैन खुसी जीवन बिताउने आसैआसमा मेरा बाले सुकुमारी बनाएर राखेको छोरीलाई सामाजिक परम्पराअनुसार कुलघरानको आफ्नो खुट्टामा उभिएको केटासँग विवाह गरिदिनु भयो। मेरो लागि कुनै कसुर बाँकी नराखी सम्पूर्ण चिजहरूको रहर भरपुर पूर्ण गरेर मेरा बाले छोरीलाई बेचिदिनु भयो। हो बेचिदिनु भयो।
म यस कारण भन्दै छु उहाँले मलाई बेच्नु भयो भनेर।
त्यसपछि मेरा खुसीहरू किस्ता किस्ता गरेर सकिएर गए। मैले अनेकौँ प्रयास गरेर मेरा खुसीहरूलाई सम्हाल्न खोजेँ। तर मलाई मेरो खुसीको ऋण लाग्यो र म मेरो खुसीको ऋणी। त्यसपछि मलाई लाग्यो छोरीको भविष्य राम्रो हुने भ्रम थियो मेरो बालाई तर विचरा बालाई के थाहा छोरी बेचिएको कुरा!
नयाँ घरमा पढ्ने कुरा के निकालेको थिएँ, आफ्ना आफ्ना ‘अब्जेक्सन’हरू बताउन सुरु भयो। अनजान म निःशब्द हुन्थेँ। ती अब्जेक्सनहरू म सुनी नै रहेको थिएँ। कोही त्यस्ता भगवान् पनि थिए जसले मलिन अनुहार पढेर हौसलाका साथ पढाउने आश्वासन दिए।
उहाँको त्यो भनाइ सम्झिँदा मलाई अझै पनि गौरव लागेर आउँछ। उहाँको एक शब्दले म हजार गुणा खुसी भएको थिएँ। हुन न पढाउने नपढाउने छलफलमा सहभागी भएका सबै थिएनन्। त्यहाँ कर्तव्य लिएर हिँडेको व्यक्ति स्वयमले दुःखसुख गर्दै मेरा सम्पूर्ण जिम्मेवारी बहन गरेर मेरा संघर्षहरूमा साथ दिँदै मलाई अगाडि बढाई पुनः पढ्न पठाए।
मैले मेरा आमा-बाको सपना पूरा गर्न धेरै वर्षको संघर्षपछि सरकारी सेवामा प्रवेश गरेँ। मेरो सफलतामा प्रत्यक्ष रूपमा सहयोग गर्ने र मेरा पछाडि जादुका छडी घुमाउने आफन्तहरूको पनि ठुलो हात रहेको छ।
मेरो सफलतामा मसँगै खुसी हुने मेरा बा-आमा मात्र थिए। मेरो पढाइ, हजारौँ त्याग र संर्घषले मात्र खुसीको चरमविन्दुमा पुगेन, सार्थकता ल्याएन। किनकि मैले मेरो सपना त पूरा गरेँ तर पहाडका कुना कन्दरामा भएका पोस्टिङले मेरो घर-गृहस्थीमा सार्थकता ल्याएन। किनकि मैले त कहिले नबिग्रिने चट्टानको मेसिन बन्नु पर्थ्यो। त्यो बन्न सकिनँ र हजारौँ संघर्ष तथा मेहनतले पाएको जागिरलाई मैले पूर्णविराम लगाउनेसम्म निर्णयमा म पुगेँ।
मेरो जीवनको ठुलो निर्णय थियो भयो, वैवाहिक सम्बन्धलाई टुङ्गो लगाउने। सर्वसम्मतले पारित गरेर म आफ्नो खुसी किन्न फेरि हिँडेँ। जीवनभरि दुख गरेर बुढेसकालमा आशा राखेको छोरीको खुसी छिन्दा मभन्दा नगण्य पीडामा मेरा बा-आमा छटपटिएका थिए।
नदेखिएका र नदेखाइएका त्यस्ता तिता स्मरणहरू पक्कै पनि प्रत्येक घरमा हुने गर्दछ। कोही ज्वालाका चट्टान बनेर आफ्ना खुसीलाई आहुति दिन्छन्। म मेरा खुसीलाई जीवन्त बनाउन सल्केको आगोमा पानी राखेर हिँडेँ। पक्कै पनि मेरा खुसीले सार्थकता पायो भन्ने मलाई लाग्दछ।
जबसम्म जीवनमा खुसी मिल्दैन त्यो सुखले आनन्द कहिले प्रदान गर्दैन। हामीले अरूलाई खुसी बनाउने आसैआसमा आफ्ना खुसी बेचिएको पत्तै पाउँदैनौँ र त्यही खुसीको प्रतीक्षामा जीवन सकिएर मृत्युले नियाल्दा नियाल्दै जिन्दगीलाई यमराजको हातमा सुम्पिदिन्छौँ।
जिन्दगीको अन्तिम घडीमा आएर तपस्याको अनुसरण गर्दै पुनः मेरो आधा बाटोमा पूर्णविराम लागेको सम्बन्धलाई सुधारेर पुनः सुरु गर्ने निर्णय गर्यौँ।
जो कोही जीवनमा नराम्रो गर्दछु र नराम्रो होस् भनेर लागेको हुँदैन। कुनै बेला समयको चक्रले घुमाउने क्रममा भाइरस लागेको हुन सक्दछ र तिता मिठा यथार्थहरू हुने गर्दछन्। जिन्दगीले पनि मिठो पाठ सिकाएर गयो। नसहने र स्वीकार गर्ने प्रवृत्ति भएको खण्डमा पक्कै पनि राम्रो हुने गर्दछ।
मैले त मेरा आहुति दिएका खुसीहरूलाई रिस्टोर गरेँ। कहिलेकाहीँ रिस्टोर भएका डकुमेन्टहरू बेला बेला ह्याङ हुने गर्दछन् र रिफ्रेश गरेर सुरक्षित साथ आर्काइभ गरेर राखेको छु।